वीरगंज/सशस्त्र प्रहरी बल नेपालले हुण्डीको रकमसहित एकजनालाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म वीरगंज भंसारका सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालको नेतृत्वमा खटिएको टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ जाँदै गरेको बीआर ०५ एएम २६६४ नम्बरको स्कुटरलाई शंका लागी चेकजाँच गर्दा ठूलो मात्रामा अवैध रकम फेला परेको हो ।
प्रहरीले स्कुटरमा सवार भारतको पूर्वी चम्पारण, रक्सौल नगर पन्चायत नागा रोडका ५८ वर्षीय अनिल कुमार रुङ्गटालाई नियन्त्रणमा लिएको छ । रुङ्गटाको झोलाबाट स्रोत नखुलेको नेपाली रूपैयाँ ३ लाख ५३ हजार र प्रतिबन्धित भारतीय रुपैयाँ ५०० दरका १७ हजार ५ सय फेला परेको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, हेक्वा पर्साका सूचना अधिकारी डिएसपी नरेन्द्र सिंह धामीले जानकारी दिएका छन् ।
प्रहरीका अनुसार, रूंगटा ले स्कुटरमा लुकाएर उक्त रकम ल्याउँदै गरेका थिए । नियन्त्रणमा लिइएका उनीसहित १ लाख ५० हजार मूल्यको स्कुटर र बरामद गरिएको रकम वीरगंज भन्सार कार्यालयमा बुझाइएको छ ।