जनकपुरधाम । भारत सरकारको आर्थिक सहयोगमा निर्माण भएको जनकपुर–जयनगर–भङ्गहा रेल सेवालाई महोत्तरीको बर्दिबाससम्म विस्तारका लागि जग्गाको मुआब्जा दिने काम अन्तिम चरणमा पुगेको छ ।
भारतको जयनगरबाट जनकपुरधाम हुँदै महोत्तरीका भङ्गहासम्म ५२ किलोमिटरमा ब्रोडगेज रेल सेवा सञ्चालनमा रहेको छ भने महोत्तरीको बर्दिबाससम्म विस्तारका लागि मुआब्जा वितरणको काम अन्तिम चरणमा पुगेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिनुभयो ।
मुआब्जा वितरणको सम्पूर्ण प्रक्रिया पुरा भएर जग्गा अधिग्रहण भएपछि बाँकी रहेको महोत्तरीको भङ्गहादेखि बर्दिबाससम्म ट्रयाक खोल्ने, लिक विस्तारको काम हुनेछ ।
भारत सरकारले हालसम्म जनकपुर–जयनगर ब्रोडगेज रेल सेवाको विस्तारमा ९ अर्ब भारतीय रकम खर्च गरिसकेको रेल्वे कम्पनीले जनाएको छ ।
सन् २०१० मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पालामा रेल सेवा विस्तार सम्बन्धि सम्झौता भएको थियो । पहिलो चरणको निर्माणपछि वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री हुनुभएको बेलामा दुई सेट रेल खरिद गरेर सेवाको शुरुवात भएको थियो ।
महोत्तरीको भङ्गहादेखि बर्दिबाससम्म सेवा विस्तार भएपछि रेल्वेको कूल लम्बाई ७० किलोमिटर हुनेछ ।
महोत्तरीको बर्दिबासमा ९३ प्रतिशत जनताले मुआब्जाको रकम बुझेका छन् । त्यस्तै लालगढमा पनि ८५ प्रतिशतले बुझेको नेपाल रेल्वे कम्पनीले जनाएको छ ।
यसैगरी किसानपुरमा ९० प्रतिशत तथा भङ्गहामा पनि ९० प्रतिशत जनताले मुआब्जाको रकम बुझेका छन् । मुआब्जा वितरण सकेपछि भारत सरकारले बाँकी खण्डको रेल्वे ट्रयाकको विस्तारका लागि पुल निर्माण तथा स्टेशनको निर्माण शुरु गर्नेछ ।
जनकपुर–जयनगर–बर्दिबास रेल सेवाको विस्तारले यस क्षेत्रको जनताको आर्थिक तथा सामाजिक विकासमा थप टेवा पुग्ने विश्वास गरिएको छ । अहिले सेवा विस्तार भएर सञ्चालनमा आएपछि यस क्षेत्रका जनताको आवतजावतको भरपर्दो यातायातको रुपमा रेल सेवा भएको छ ।
भारत सरकारले आर्थिक, प्राविधिक लगानी गरेर निर्माण भएको जनकपुर–जयनगर–भङ्गहा रेल सेवाको विस्तारले दुवै देशका जनतालाई लाभ पुग्नुका साथै भारतीय रेल सञ्जालसँग जनकपुर रेल्वे जुटेपछि तीर्थयात्रीहरूलाई ठूलो राहत मिल्नुका साथै यसमा मालवाहक रेल सञ्चालन गरेको खण्डमा व्यापार आदान प्रदानमा मद्दत पुग्नेछ ।
जनकपुरधामबाट महोत्तरीको बर्दिबाससम्म विस्तार हुन बाँकी रहेको खण्डमा रेल सेवा विस्तार भएपछि पूर्व–पश्चिम विद्युतीय रेल मार्गसँग जोडिने भएको छ ।