एक महिना माछामासु छोडेर पनि धर्म हुन्छ र ? भनेर खिसि गर्नुहुने सबै महानुभावहरुमा समर्पित हाम्रो सनातन धर्ममा श्रावण महिनाको ब्रत , खानपिन, पूजाआजा, रङ्हरुको प्रयोग लगायत धार्मिक अनि बैज्ञानिक महत्व सहितको यो लेख :
ॐ नम: शिवाय 🙏
श्रावण महिना एक शुभ महिना हो । धार्मिक शास्त्र अनुसार यो महिनाको विशेष महत्व छ । शिव पुराणमा भगवान शिवले सनत कुमारलाई ,चन्द्रमा सूर्य अनि आगो यी तिन मेरा आँखा हुन् भनेका छन् । ज्योतिषशास्त्रअनुसार चन्द्रमा कर्कट राशीको स्वामी हो, सूर्य सिंह राशीको स्वामी अनि कर्कट राशीबाट सिंह राशीमा सूर्यको संक्रान्ति यहि श्रावण महिनामा हुन्छ, त्यसैले श्रावण महिना भगवान शिवको प्रिय महिना भनि चिनिन्छ । यस महिना भगवान शिवको पूजा आराधाना गरि साउने सोमबार ब्रत बस्ने गरिन्छ ।
मान्यता अनुसार, साउने सोमबार ब्रत बसे आइ परेका कठिन समस्याहरुबाट मुक्ति पाइन्छ । श्रावण महिनामा भगवान शिव पृथ्वी भ्रमण गर्ने भएकाले यो महिना शुभ मानिन्छ। यस महिनामा ब्रत बस्नु, दान गर्नुलाई पूण्य मानिन्छ । हिन्दु धर्ममा मात्र हैन सबै धर्ममा दानको विशेष महत्त्व छ । दानमा दा को अर्थ संस्कृतमा धातु भन्ने हुन्छ भने न को अर्थ न नकार्ने भावना जस्तै दान दिन हामीले ’मैले दिए’ म भन्ने भावलाई त्याग्नुपर्ने बताइन्छ अर्थात् जब हामी दान दिन्छौँ त्यसबेला दान दिए भन्ने भावना नराख्न शास्त्रको मान्यता छ ।
साउने सोमबार भगवान शिवलाई समर्पित गरेर बसिने ब्रत सूर्योदयदेखि सुर्यास्त सम्म राखिन्छ, मान्यताअनुसार ब्रम्हाण्डका शिवको ब्रत बसे सोचेको वरदान प्राप्त हुनुका साथै सदबुद्धि प्राप्त हुन्छ ।
साउने संक्रान्तिलाई तराई क्षेत्रका नेपालीहरु तथा भारतीयहरु “बोलबम” को रुपमा अत्यन्तै हर्षाेल्लासका साथ, मनाउने गर्दछन् र तराई तथा भारतबाट ठूलो संख्यामा भक्तजनहरु पशुपतिनाथ दर्शन गर्न आउने गरेका छन् । साथै तराईवासी नेपालीहरू भारतको झारखण्ड राज्यमा पर्ने बाबाधाम भनेर चिनिने देवघर पनि जाने गरेका छन्।
हरियो वस्त्र र हरियो चुरा : हरियो रङलाई सकारात्मक साेंचको प्रतीक मानिन्छ । हरियो प्राकृतिक जंगल होस वा अन्य हरियो दुबो सबैले उर्जा, शितलता तथा शान्ति प्रदान गरेको महसुस हुन्छ । विवाहित महिलाका लागि रातो रङ खुशी र सौभाग्यको प्रतीक हो भने हरियो रङ चाहिँ परिवार र जीवनमा खुशी ल्याउनका लागि लगाइन्छ ।
साउन महिनामा बिबाहित वा अबिबाहित महिलाहरुले हातमा हरियो चुरा लगाउने साथै हरियो रङको कपडा लगाउने र हातमा मेहन्दीको मनमोहक श्रृंगार गर्ने गर्दछन् ।
हिन्दु धर्ममा महिलाले हरियो चुरा-पोते, हरियो कपडा र मेहन्दी लगाएमा बुध ग्रह प्रसन्न भई घरमा समृद्धि र शुभ हुन्छ भन्ने मान्यता रहेको पाइन्छ । त्यसैले श्रावण शुक्ल पक्षको तृतीया तिथिको दिन हरितालिका तीज पनि मनाइन्छ । हरियो रङलाई श्रावण महिनामा प्राथमिकता दिन्छन् । बुध ग्रह हरियो रङले खुशी हुने भएकाले महिलाहरुले हरियो चुरा र कपडा धारण गर्दछन् । जसले गर्दा अध्ययन र व्यापारिक कामको सफलता प्राप्त हुने पनि मान्यता रहेको छ। हरियो रङ बुध ग्रहको प्रतीकको रुपमा लिइन्छ। हरियो रङ लगाउँदा बुध बलियो भएर सन्तान सुख प्राप्ति हुन्छ । अनि यस रङले बुद्धि र समृद्धि प्राप्ति हुन्छ ।
साउन महिनामा अधिकांश महिलाहरु व्रत बस्ने, महिना भरी माछामासु, लसुन प्याज नखाने, नङ, कपाल नकाट्ने र हरियो चुरा, हरियो पोते, मेहंदी लगाउँछन् । पछिल्लो समय पुरुषहरू पनि व्रत बस्ने गरेका छन् । अरु समयमा हरियो चुरा र कपडाको महत्व नभए पनि साउन महिनामा भने महिलाहरु हरियो वस्त्र नै प्रयोग गर्ने गरेका छन् ।
साउने सोमबारको ब्रतलाई विभिन्न धर्म शास्त्रमा विभिन्न कथाका माध्यामबाट थप प्रस्टाइएको पाइन्छ । एक गरिब ब्राम्हणले साउने सोमबारको ब्रत बसेकाले उनलाई धनलाभ भएको कथा, त्यस्तै साउनको ब्रतकै प्रभावका कारण एक व्यवसायीलाई पुत्रलाभ भएको कथा पनि सुन्न पाइन्छ । जसमाथि जनविश्वास बढ्दै गएको छ ।
यी त भए धार्मिक पक्ष । अहिलेको समयमा हामी सुन्ने गर्छौ प्राय: नयाँ पीढ़ीले धार्मिक कुराहरु केहि हुँदा त्यसमाथिको सत्यता छैन भन्ने गर्छन् तर हरेक धर्ममा विज्ञानका आधार भने पक्कै हुन्छन, आखिर किन ब्रत बसिन्छ त ? किन माछा मासुको सेवन यस महिनामा वर्जित गरिएको छ त ?
यसका पछाडि पनि वैज्ञानिक कारणहरु रहेका छन् । श्रावण महिना मनसुन अर्थात वार्खा यामको मुख्य महिना, यो महिना ओसिलो हुन्छ जहा सुर्यको प्रकाश कम पाइन्छ । जसका कारणले हाम्रो पाचन प्रणाली कमजोर हुन जान्छ । त्यसैले कोहि यो मनसुनको पुरै ४ महिना ब्रत्त बस्ने गर्छन् भने कोहि श्रावणभरि एक छाक खाना खाने गर्छन्।
यो वर्खा मासको समय भएकाले पानीबाट सर्ने रोग छिट्टै फैलिने कारणले पनि कयौँ खाने कुराहरु वर्जित गरिएको वैज्ञानिक मान्यता छ । मनसुन महिना, अकस्मात मौसमको बदलाबले हाम्रो पाचन प्रणाली कमजोर हुनुका साथै रोग प्रतिरोधात्मक क्षमतापनि कमजोर हुन्छ, त्यसकारण यस महिनामा हलुका भोजन गर्नुले शरीरलाई शुद्धिकरण गर्दछ । ब्रत बस्नु सबैका लागि सहज न हुन सक्छ, केही कारणले ब्रत बस्न नसके सिधे नुन अनि हलुका भोजन गर्दा पनि शरीरलाई फाइदा पुग्दछ भन्ने राय वैज्ञानिकहरुले दिएका छन् । केहि खानेकुरा जस्तै दुध, माछा मासु, मसलायुक्त खाना, किन वर्जित छ त यस महिनामा यसको पनि विज्ञानले वैज्ञानिक कारण दिएको छ ।
आयुर्वेदको मान्यता अनुसार यो समयलाई ’वाथ दोस’ मानिन्छ जसका कारण शरीरका जोर्नीहरु , घुडा दुख्ने, गठिया जस्ता समस्या हुन्छन् । गाईले घास खाँदा उनीहरुको शरीरमा आएका यस्ता समस्याका कारण यो महिना दूधको सेवनलाई वर्जित मानिन्छ । यसैगरी मसलायुक्त खाना । आयुर्वेदका अनुसार यो समय हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ, जसका कारणले मसलायुक्त खानेकुरालाई शरीरले पचाउन सक्दैन।
श्रावण महिना पानीको महिना:
यो महिना विभिन्न कीरा फट्याङग्राहरुको प्रजनन हुने समय हो । यो बेला पालिएका जनावारहरुलाई खुवाइने दानापानी घासमा यस्ता खतरानक किटाणुको सम्पर्क हुने भएकाले यो समयमा मांसाहारी भोजन गर्नाले हैजा, झाडापखाला जस्ता रोग लाग्न सक्छन् । यसैले यो बेला शाकाहारी भोजन उत्तम हुन जान्छ । समय अनि परिस्थितिअनुसार खानपिनको बिचार गरे मात्र हामी स्वस्थ्य रहन सक्छौँ । यसै बैज्ञानिक कारणल सिद्ध गरेको साउनको ब्रत हरेक दृष्टिबाट मानवीय स्वस्थताका लागि उत्तम रही आएको देखिन्छ।
श्रावण संक्रान्तिको शुभकामना 🙏
सचेतनाको लागि यो आलेख सबैमाझ शेयर गरौँ।
* श्रोत: विभिन्न सामाजिक संजाल