वीरगंज/ हनुमान जयन्तीको अवसर पारेर मंगलबार वीरगंजमा भव्य संध्या आरतीको आयोजना गरिने भएको छ।
वैशाख ११ गते मंगलबार परेको हनुमान जयन्तीको अवसरमा वीरगंज-६ स्थित ऐतिहासिक महावीरस्थान मन्दिरमा विशेष पूजासहितको महाआरती आयोजना गर्न लागिएको वडाअध्यक्ष जय प्रकाश शाहले बताउनु भयो ।
वडाध्यक्ष शाहले दिनु भएको जानकारी अनुसार श्री महावीर मन्दिर समिति, श्री साप्ताहिक सुन्दर काण्ड प्रचार समिति, श्री साप्ताहिक हनुमान चालिसा पाठ समिति, श्री श्याम नवयुवक मण्डल, श्री मारवाडी महिला मञ्च र श्री राणीसति ज्योति मण्डलको संयुक्त आयोजनामा मंगलवार साँझ ६ बजेदेखि महाआरतीको आयोजना गरिने तयारी तीव्र रूपमा चलिरहेको छ।
महाआरती पश्चात् साँझ साढे ७ बजेदेखि प्रसाद वितरण कार्यक्रम समेत राखिएको वडाध्यक्ष शाहले बताउनु भयो । मारवाडी महिला मञ्चले समेत प्रसाद वितरणको तयारी गरिरहेको उनले बताए ।
गत वर्ष पनि हनुमान जयन्तीको अवसरमा महावीरस्थान मन्दिर अगाडि महाआरतीको आयोजना गरिएको थियो ।
महाआरतीमा बढीभन्दा बढीको सङ्ख्यामा सहभागिता जनाउन वडाध्यक्ष शाहले सबैमा आग्रह गर्नु भएको छ।
महाआरतीमा जनसभागितालाई व्यवस्थित गर्न, सभ्य र भव्य ढंगले महाआरती सम्पन्न गराउन स्थानीय प्रशासनको सक्रिय सहभागिता रहने विश्वास महाआरती समितिले लिएको वडाध्यक्ष शाहले बताए।