वीरगंज/हामी आज ज्योतिष विषय भन्दा भिन्न रामनवमी पर्वको बारेमा चर्चा गर्छौँ । हिन्दु धर्म संस्कृतिमा ४ वटा नवरात्र मानिएको छ । पहिलो नवरात्री चैत्र महिनाको शुक्ल पक्षमा पर्दछ । दोश्रो नवरात्री आषाढ महिनाको शुक्ल पक्षमा पर्दछ । त्यसैगरी तेश्रो नवरात्री असोज शुक्ल पक्षमा पर्दछ । सोही नवरात्रीको अन्तिम दिनलाई हामी बडा दशैँको रुपमा मान्दछौँ र चौँथो नवरात्री माघ शुक्ल पक्षमा पर्दछ ।
यी चार वटा नवरात्रीलाई शक्तिको उपासना गर्ने राम्रो समय मानिन्छ । यसरी चार नवरात्री हुँदाहँदै पनि प्रायः असोज र चैतको नवरात्रीलाई मात्र ठूलो दशैँ र सानो दशैँ भनेर मान्ने चलन छ । त्यसमा पनि असोजको नवरात्रलाई धूमधामसँग मनाउने चलन छ । बाँकी दुई नवरात्रीलाई गुप्त नवरात्री मानिन्छ । नवरात्रको बारेमा देवी भागवत लगायतका ग्रन्थहरुमा निकै वर्णन गरिएको छ ।
चैत महिनाको शुक्ल पक्षको प्रतिपदा तिथि देखि नवमी सम्मको तिथिलाई चैत्र नवरात्री भनिन्छ । यस नवरात्रीलाई पहिलो नवरात्री मानिन्छ । वसन्त ऋतुको प्रारम्भ र यस नवरात्रीको प्रारम्भ लगभग एकै समय बाट हुन्छ । आज पहिलो नवरात्रीको अन्तिम दिन हो । त्रेता युगमा भगवान विष्णुको सातौँ अवतार भएको थियो । भगवान् रामचन्द्रको अवतार विष्णुको सातौँ अवतार हो । यस पर्वलाई धेरै पहिलेदेखि नै मनाइँदै आइएको देखिन्छ । रामायण ग्रन्थका अनुसार अयोध्याका राजा दशरथका तीन वटा श्रीमतीहरु थिए तर राजाका सन्तान थिएनन् । सन्तान प्राप्त गर्नको लागि दशरथजीले पुत्रेष्टि यज्ञ गर्नुभयो । यज्ञ समाप्त भएपछि दशरथजीले यज्ञको प्रसाद खीर आफ्ना तीनै वटा श्रीमतीलाई खान लगाउनुभयो । केही समयपछि तीन वटी रानी नै गर्भवती भए । ९ महिना पछि कौशल्याले श्रीरामको जन्म दिइन् । कैकेयीले भरत र सुमित्राले लक्ष्मण र शत्रुघ्न जुम्ल्या सन्तानको जन्म दिइन् । त्यसकारण राम नवमी रामजीको मात्र जन्म दिन नभई दशरथजीका ४ वटै सन्तानको जन्म दिन पनि हो ।
चैत्र नवरात्रीको अन्तिम दिन मनाइने यस उत्सवमा भगवान् रामचन्द्रको अवतार भएको खुशीयालीमा व्रत, पूजा, उपवास, कथा, हवन तथा दान लगायतका कार्यहरु गरिन्छन् । आजकै दिन प्रकट हुनुभएको भगवान रामचन्द्रले रावण, कुम्भकर्ण लगायतका दुष्ट राक्षसहरुको वध गरि सज्जनहरुको रक्षा र पालन गर्नुभएको थियो । भगवान् रामचन्द्रले गर्नुभएको यस परोपकारको संझना र कृतज्ञताको लागि पनि यस दिन विशेष उत्सव गरिन्छ । आजको दिन पुण्य कार्य गरेमा यो लोकमा सुख शान्ति पाइने र परलोकमा पनि सद्गति हुने मान्यता छ ।
ज्योतिष शास्त्र अनुसार भगवान रामचन्द्रको जन्म चैत्र शुक्ल पक्षको नवमी तिथी, पुनर्वसु नक्षत्र मा भएको थियो । कर्कट लग्नको समयमा उहाँको जन्म भएको मानिन्छ । लग्नमा बृहस्पति उच्चको र चन्द्रमा स्वगृही भएर बसेका थिए । ज्योतिष शास्त्र भन्दछ
किं कुर्वन्ति ग्रहाः सर्वे यस्य केन्द्रे बृहस्पति
अर्थात् जसको जन्मकुण्डलीमा केन्द्र स्थानमा बृहस्पति छ , त्यसलाई अरु नराम्रो योगको प्रभव रहँदैन । तर भगवान रामचन्द्रको जीवन व्यावहारिक रुपमा हेर्ने हो भने निकै कष्टमय भएको देखिन्छ । जीवनका हरेक पाटोमा ठूला संघर्ष भए । तर यसले उहाँको कीर्तीलाई अमर राख्ने काम गर्यो । त्यसकारण कुण्डलीमा बृहस्पति केन्द्रमा हुँदैमा जीवनमा दुःख नआउने होइन । यसले त जीवनमा दुःख नै दिन्छ । तर यो दुःखले मानिसलाई निकै उचाइमा पुर्याउँछ र जीवन्त बनाउँछ । उहाँको कुण्डलीमा ग्रहहरुको धेरै राम्रो योगहरु बनेका छन् । ४ वटा ग्रह बृहस्पति, शनि, मंगल र शुक्र उच्चको अवस्थामा थिए भने २ वटा ग्रह चन्द्र र सूर्य स्वगृही थिए । भगवानले अवतार लिँदा पनि यस्तो राम्रो ग्रहगोचर भएको योग पारेर अवतार लिएको हुनाले के बुझिन्छ भने सँसारमा जन्मिएका हरेक प्राणिमा ग्रहहरुको प्रभाव परेको नै हुन्छ ।
आजको पर्वको विशेषता भनेको शक्तिको उपासना गर्ने पहिलो नवरात्रको अन्तिम दिन र भगवान रामचन्द्रको जन्म दिन नै हो ।

















