काठमाडौं । गृहमन्त्री रवि लामिछानेको निर्देशनमा प्रहरी प्रधान कार्यालयले सादा पोसाकका प्रहरी परिचालन नगर्न १३ दिनअघि चैत १५मा परिपत्र गर्यो ।तर प्रहरी प्रधान कार्यालयको परिपत्रलाई अवज्ञा गर्दै बागमती प्रदेशका डीआईजी विष्णुकुमार केसीले प्रहरी सहायक निरीक्षक (असई) नवीन थापालाई प्रदेशकै घुमुवाको रूपमा खटाएका छन् ।
सूचना संकलनका लागि सादा पोसाकका घुमुवा खटाउनुपर्छ । तर नवीन थापा सूचना संकलनमा भन्दा पनि असुलीमा विवादित असई हुन् । विगत १२ वर्षदेखि मकवानपुरमा घुमुवा बसी बदनाम भएका उनलाई डीआईजी केसीले घुमुवा राखेका हुन् ।
असई थापाको दरबन्दी नुवाकोट हो । तर उनी प्रदेशमा डीआईजी केसीका घुमुवाका रूपमा कार्यरत छन् । यसअघि मकवानपुरको घुमुवामा कार्यरत हुँदा असुलीमा विवादमा आएपछि डीआईजी किरण राणाको कार्यकालमा उनलाई आईजीपी वसन्त कुँवरको ठाडो आदेशमा हुँदा प्रदेशमा तानियो ।
प्रदेशसँगैको गणमा थन्क्याइएका उनी असईको बेसिक तालिममा सिन्धुलीको दुधौली तालिम केन्द्रमा गए । असईको बेसिक तालिम समेत नगरी उनी मकवानपुरको घुमुवा बसेका थिए ।
त्यसै गरी, मकवानपुरका एसपी सीताराम रिजालले असई राजेश साहलाई देखावटीरुपमा प्रहरी चौकी सुनाचरीमा राखी काम भने घुमुवाको लगाउँदै आएको समाचार छ । सुनाचरी एरिया गाँजा खेतीको हब मानिन्छ ।
त्यो गाँजाको तस्करी हुने मुख्य रुटका रूपमा चिनिन्छ । सुनाचरीमा दरबन्दी भएका उनले गाँजादेखि गिटीबालुवा र ढुंगाका ठुला क्रसरबाट एसपीका लागि उठाउने गरेको स्रोतले बतायो ।प्रहरी प्रधान कार्यालयले घुमुवा नराख्ने परिपत्र गरेपछि एसपी रिजालले सुनाचरीमा दरबन्दी राखेर साहलाई असुलीमा लगाएको आरोप छ ।स्मरण रहोस्, ६० किलो सुन तस्करीमा जोडिएका जीवन चलाउनेसँग पनि एसपी रिजालको पटक पटक सम्पर्क भएको खुलेको छ ।