रौतहट । भारतीय सिमानासँग जोडिएको रौतहटको दक्षिणी भेग ईशनाथ नगरपालिकास्थित गएराति भएको आगलागी बाट तीन घर गोठ जलेर नष्ट भएका छन् ।
आगलागीमा परेर घर गोठभित्र रहेका ७ वटा चौपायाको मृत्यु भएको छ। आगलागीबाट १० लाख रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ।
गएराति ११ बजेर ४५ मिनेटको समय ईशनाथ ८ मंसरी टोलका बलिराम मिश्राको फुसको गोठ घरमा बालेको घुरबाट आगो सल्किन गई गोठ घरमा आगलागी भएको थियो। आगलागीको खबर प्राप्त हुनासाथ प्रहरी चौकी रामपुर खापका प्रमुख असई सुरेशमान श्रेष्ठको कमाण्डमा खटिगएको टोली, गाउँले र बोर्डर आउटपोस्ट खापबाट गएको सशस्त्र प्रहरीको सहयोगमा १२ बजेर ५० मिनेटमा आगलागी नियन्त्रण आएको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीले बताएकी छिन्। आगलागीबाट तीनजनाको घर गोठ र घरभित्र रहेको सम्पूर्ण सामान जलेर नष्ट भएको थियो ।
आगलागीमा परेर स्थानीय बलिराम मिश्राको भौंसी १, पाडा १ र बाख्रा १ जलेर मरेका छन् ।
त्यस्तै साईकल थान ३, मोबाईल २, पंखा १ र गोठ घर पूर्णरुपमा जली नष्ट भएको प्रहरीले जनाएको छ ।
त्यस्तै आगलागीबाट कृष्ण मिश्राको भौंसीको पाडी १, बाख्रा १ र माउ २ जली मरेका छन् । अन्नपात, ल्यापटप १, पंखा १, ग्यास चुलो १, नगद रु. ६० हजार ,गोठ घर पूर्णरुपमा जली नष्ट भएको छ।
त्यसैगरी उदय मिश्राको साईकल १, दाउरा र गोठ घर पूर्णरुपमा जली आगलागीमा मानवीय क्षति नभए पनि तीनैजनाको गरेर १० लाख भन्दा बढीको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले जानकारी दिएकी छिन् ।
आगलागीलगतै घटनास्थल पुगेका ईशनाथ नगरपालिकाका पूर्वमेयर सन्तोषकुमार मेहताले गाउँले र प्रहरीको प्रयासले ठूलो क्षति हुनबाट जोगिएको बताएका छन् । उनले पीडित परिवारको सहयोगको लागि स्थानीय निकाय र जिल्ला प्रशासन कार्यालय रौतहटको ध्यानाकर्षण गराएका छन् ।
















