वीरगंज/ नेपाल स्वास्थ्य सेवा समूहमा नियुक्त भई कार्यरत उमेश प्रसाद साह काज दरबन्दी दोस्रो पटक पनि थप गर्न नेताहरूमार्फत संघीय मामिला मन्त्रालयमा दबाव दिन थालेका छन्।
पर्सा जिल्लाको पर्सागढ़ी नगरपालिका स्वास्थ्य शाखामा दरबन्दी रहेपनि सिअहेव अधिकृत साहले यस अघिको गठबन्धन अन्तर्गतको जनमत पार्टीका नेतामार्फत संघीय मामिला मन्त्रालयलाई प्रभावमा पारेर जिरा भवानी गाउँपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत बन्न सफल भएका थिए।
जिरा भवानी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा २०८०/०६/०१ देखि कार्यरत रहँदाको अवधिमा अधिकृत साहले स्थानीय सरकारको प्राथमिकतामा रहेका काममा केन्द्रित हुनुको सट्टा कमिशन बढ़ी आउनेकाम मात्र गरेको स्थानीयहरूको आरोप छ।
संघीय मामिला मन्त्रालयले अति आवश्यक परिस्थितिमा केहि समयको लागि मात्र काज वा निमित्त प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर पठाउने अभ्यास विपरीत स्वास्थ्य सेवाका कर्मचारी साह काजको म्याद थप गर्न यतिबेला एकीकृत समाजवादी पार्टीका केहि नेताहरूलाई मोटो रकम दिएर मन्त्रालयमा दबाव दिन लगाईरहेको स्रोतले जनाएको छ।
पर्सागढ़ी नपामा कार्यरत रहँदा २०८० असोज ०१ गते सम्म सिअहेव साहको नाममा ३८ लाख ७० हजारभन्दा बढ़ी पेश्की बेरुजु फर्छौट हुन बाँकि नै छ।
बेरुजु फर्छ्यौटमा तदारूकता देखाउन गंभीर नहुने तथा प्रशासन समूहको जिम्मेवारी हुने पालिकामा प्रमुख बस्न नेताको दैलो चहार्ने साह जस्ता स्वास्थ्य अधिकृतका कारण स्थानीय तहले लिएको लक्ष्य हासिल गर्न नसक्दा वर्तमान व्यवस्थामाथि नै प्रश्नचिन्ह खडा हुने चासो र चिन्ता बढेको छ।