बारा/बाराको कोल्हबी नगरपालिका वडा नम्बर २ स्थित अमवा महादेव मन्दिर नजिकको जङ्गलमा मंगलबार दिउँसो एउटा पाटे बाघ मृत अवस्थामा फेला परेको छ ।
कोल्हबी वन डिभिजन कार्यालयको वन गस्ती टोलीले उक्त पाटे बाघ मृत अवस्थामा फेला परेको हो । सो बाघको ४८ इन्च लम्बाइ, घाटीको मोटाइ १८ इन्च, पेटको मोटाइ ३२ इन्च, टाउकोदेखि पुच्छरसम्मको लम्बाइ ५८ इन्च, पन्जाको लम्बाइ ४ इन्च, उचाइ ३० इन्च र उमेर अन्दाजी ३ वर्ष रहेको इलाका प्रहरी कार्यालय कोल्हबीका निरीक्षक भोलामान सिंह अधिकारीले जानकारी दिए ।
उनका अनुसार पुच्छरको लम्बाइ १७ इन्च भएपनि काटिएको अवस्थामा ७ इन्च मात्रै बाँकी रहेको छ ।
त्यसैगरी माथिल्लो भागको बाङ्ग्ररा, ठूलो दाँत एउटा र सानो दाँत ४ वटा र एउटा ठूलो दाँत पनि भाँचिएको छ । बाघको पछाडिको खुट्टाबाट एउटा नङ काटेर लगिएको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए । निरीक्षक अधिकारीले सो घटना बारे थप अनुसन्धान भइरहेको बताए ।पछिल्लो समय बारामा मृत अवस्थामा बाघ फेला पर्ने क्रम बढेको छ ।
यसअघि निजगढ नगरपालिका वडा नम्बर ४ स्थित कछडिया सामुदायिक वन समूहको जंगलमा गत महिना एउटा पाटे बाघ मृत अवस्थामा फेला परको थियो । त्यसैगरी २ महिनाअघि निजगढ ४ कै बाघ भैरव सामुदायिक वन क्षेत्रभित्र पनि एउटा चितुवा मृत अवस्थामा फेला पारिएको थियो ।