Sunday, April 21, 2024
घरविचारसार्वजनिक चासोहेपिएका पौष्टिक पदार्थ र उखान

हेपिएका पौष्टिक पदार्थ र उखान

  • – डा. अरुणा उप्रेती
  • ‘हरे राम, कस्तो फर्सी जस्तो भ्यात्त परेको नमीठो तरकारी’ भन्छौँ हामी प्याच्च । कतिजनाले त फर्सीसँग पनि कसरी भात खाने, केही मोठो नै हुँदैन भनेका पनि सुनेकी छु । तर यदि फर्सीको पौष्टिकताबारे थाहा पाउने हो भने यस्तो विचार बदलेर हामीले ‘वाह कस्तो फर्सी जस्तो पौष्टिक !’ भन्थ्यौं होला ।फर्सीको प्रयोगले आँखा बलियो बनाउँछ भन्ने कुरा सबैलाई थाहा भए पनि तराईतिर धेरै बालबालिकालाई फर्सीको परिकार धेरै ख्वाइँदैन तर आँखाको समस्याबाट बच्न भिटामिन ‘ए’ चाहिँ दिइन्छ ५ वर्ष मुनिका बालबालिकालाई । तर यसरी औषधि दिँदा घरका छानामा राखेका फर्सी बालबालिकालाई खान देऊ, यसले उनीहरूलाई स्वस्थ र सबल बनाउँछ भनेर न कसैले भन्छ । न त त्यसबारे छलफल नै हुन्छ । फर्सी वास्तवमा पौष्टिकताले भरिपूर्ण हुन्छ । यसमा भएको सूक्ष्म पोषक तत्वबारे धेरै अध्ययन÷अनुसन्धान भएका छन् । फर्सीको सुप धेरै प्रयोग गरिन्छ । नेपालमा चाहिँ फर्सीको पनि सुप हुन्छ र भनेर नाक खुम्चाउने चलन छ । तर अब फर्सीलाई हेर्ने दृष्टिकोण बदलेर भिटामिनका चक्की, भिटामिन ए क्याप्सुल होइन कि फर्सीको सुप, फर्सीको तरकारी खाने गरे फाइदा हुन्छ भनेर विचार गर्ने बेला भएन र ?‘आलु खाएर पेडाको धाक’ उखान नेपाली जनजिब्रोमा धेरै पहिलेदेखि नै जरा गाडेर बसेको छ । यो उखानले आलुभन्दा पेडा खानु राम्रो भन्ने आशय जगाउँछ । तर वैज्ञानिक दृष्टिकोणले हेर्ने हो भने वास्तविकताचाहिँ योभन्दा ठीक उल्टो छ । आलु निकै पौष्टिक पदार्थ हो जबकि पेडा चिनीले बनाएको एकछिन खाँदा स्वाद लाग्ने तर दाँत र पेट बिगार्ने वस्तु हो । हामीकहाँ बिहान बेलुका भात खाएझैँ कति युरोपली मुलुकमा आलु प्रयोग गरिन्छ । बच्चालाई उसिनेर, भुटेर, आलुलाई पिसेर हाम्रो भाषामा हलुवा बनाएर दिइन्छ । आलुमा शक्ति दिने तत्वका साथै केहीमात्रामा म्याग्नेसियम लौह तत्व, रेशादार पदार्थ पनि हुन्छ । नेपालका केही भागमा काँचो आलु कोतरेर अचार बनाएर खाने चलन पनि छ । जाँचमा आलु खायौ भनेर असफलता दर्शाउन प्रयोग गरिने कारण पनि आलुको महत्व नबुझेरै हो । त्यसैले आलुको विषयमा अब घोत्लिएर सोच्ने बेला आएको छ । योचाहिँ राम्रो भोजन हो भन्ने विचारले आलुलाई प्रयोग गर्ने कि ? अब त पेडा खाएर आलुको धाक भन्ने भनाइ अधि बढाउने हो भने आलुको महत्व जनमानसमा अझ घुस्थ्यो कि ?त्यसैगरी ‘भटमास वा कोदो खाने बुद्धि’ भनेको पनि सुनिन्छ कहीँ कहीँ त । कुनै मानिसले मूर्खतापूर्ण कुरा ग¥यो भने यस्ता शब्द प्रयोग गरिन्छ । वास्तवमा भट्ट अर्थात भटमास र कोदो दुवैले मानसिक र शरीरिक स्वास्थ्य राम्रो पार्छ । भट्टमा त धेरै प्रोटिन, क्याल्सियम र र कोदोमा पनि शरीरलाई ऊर्जा दिने वस्तुका साथै लौह तत्व रेशादार पदार्थ वस्तु पाइन्छ । यी वस्तुको प्रयोग गरियो भने बालबालिकालाई कुपोषण हुन पाउँदैन । त्यसैले अब ‘भट्ट वा कोदो खाएर तेजिलो भएछ’ भन्नेतर्फ पोमोड्नुपर्छ कि यो भनाइलाई !‘जात फाल्नु गगतको झोलमा’– हाम्रो समाजमा प्रचलित उखान हो । योे उखानले पनि गहतचाहिँ केही काम नलाग्ने खानेकुरा रहेछ भन्ने ज्ञान दिएजस्तै लाग्छ । तर गहत प्रोटिन र सूक्ष्म पोषक तत्वले भरिपूर्ण हुन्छ भन्ने कुरा हामीलाई विज्ञानले बताएको छ । यद्यपि सुदूरपश्चिममा चाहिँ गहत धेरै प्रयोग हुन्छ । गहतानी भने स्वादिष्ट भोजन गहत र मासबाट बन्छ र भातसँग खाँदा बडो मीठो हन्छ । यो पौष्टिकताले पनि भरिपूर्ण हुन्छ ।
अर्को के पढ्ने...

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -