२०८३ बैशाख २४ गते, बिहीबार ०९:५५

नेकपा एसको राष्ट्रिय परिषद् बैठक आजदेखि, उमेरको हदबन्दी हटाइने

काठमाण्डौ/

नेकपा एकीकृत समाजवादीको दोस्रो राष्ट्रिय परिषद् बैठक बस्दैछ ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आजदेखि सुरु हुन लागेको परिषद् बैठकले पार्टीको नेतृत्वमा ७० वर्ष उमेरको हदबन्दी हटाउन, युवा सहभागिता वृद्धि गर्न, केन्द्रीय कमिटीको आकार सानो बनाउने विषयलाई प्राथमिकता दिने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

पार्टी मातहतका कमिटी तथा जिल्ला तहका कार्यकर्ताबाट विधान संशोधन मस्यौदामा ती विषयलाई परिमार्जन गर्न माग गरिएकाले प्राथमिकता राखिएको उनले बताए । यसअघि नेकपा एसले विधान हेरफेर गर्ने विषयमा पार्टीनिकट सबै कमिटीबाट सुझाव संकलन गरेको थियो ।

विभिन्न कमिटीबाट पार्टीको आदर्श, वैचारिक दृष्टिकोण, कार्यदिशा, कार्ययोजना, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिलाई दृष्टिगत गरी विधान संशोधन गर्न आग्रह गरिएको छ । सोमबारसम्म चल्ने परिषद् बैठकमा देशभरबाट करिब एक हजार प्रतिनिधि सहभागी हुने खतिवडाले जानकारी दिए । उनका अनुसार प्रतिनिधिको खाने, बस्नेलगायत आवश्यक व्यवस्थापन पार्टीले नै गरेको छ ।

अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गर्ने बैठकले विधान संशोधन गरेपछि त्यसलाई अनुमोदन गरिने छ । नयाँ विधानका आधारमा आगामी जेठमा पार्टीले काठमाडौंमा राष्ट्रिय महाधिवेशन गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM