– सन्तोष मिश्र
वीरगंज/राजा ज्ञानेन्द्र वीर विक्रम शाहदेव सरकारले २०५८ मा राजदरबारमा घटेको घटनामा राजनीतिक जालझेल गरी धेरै नेपालीको मनमा भ्रमको बादल छरिएको बताउनु भएको छ।
शनिवार वीरगंजमा श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव सरकारको स्वागत तथा नागरिक अभिनन्दन मूल समारोह समितिबाट आयोजित नागरिक अभिनन्दन समारोहमा राजा शाहले सम्बोधनको क्रममा सो कुरा बताउनु भएको हो।
पूर्व राजा शाहले भने, “हामी र हाम्रो परिवारमाथि घातक प्रहारहरु पनि गरिए । आखिर सत्य सधैं सत्य नै हुन्छ । असत्यको विजय कहिले हुँदैन । हाम्रो माझ प्रत्यक्षदर्शीहरु हुँदा हुँदै अज्ञानता र छलले अझ पनि हामी बहकिरहेका छौं । यो अन्यायपूर्ण मात्र होइन, दूर्भाग्य पनि हो ।
राजा शाहले मुलुकको भूगोल र भू–बनौटमा बाँडिने र आपसमा जात, जाती, धर्म, संस्कृतिमा खण्डित हुने समय अब नरहेको समेत बताएका छन् ।
नेपालका राजनीतिक दलहरुले सत्ताकब्जा गरेपछि १५ वर्षदेखिको राजनीतिक गतिविधि र व्यवहार नियालिरहेका उनले मुलुकभित्र बस्ने हरकोही नेपाली भएकाले कसैले कसैप्रति विभेद, विखण्डन, विग्रह र निषेधको राजनीति गर्न नहुने बताए । यसैमा हामी सबैको भलाही छ उनले भने ।
‘देशको अवस्था सुध्रियोस्, सबै नेपालीको हित र उन्नति होस् भन्ने हाम्रो चाहना हो’ । प्रजातान्त्रिक व्यवस्था अनुसार २०६५ जेठ १९ मा पुर्ख्यौली राजदरबारबाट बाहिरिंदा पनि मैले संचार माध्यममा सो कुरा भनेको थिए । तर आज सो नभई हिमाल, पहाड र तराई झन खोक्रो बन्दै गएको छ । ‘अब यो अरुले बनाई दिने होइन । हामी सबैले आफैले बनाउनु पर्छ’ उनले भने । ‘देश बनाउन अब सोच्नै पर्ने बेला आएको छ’ उनले थपे । स्वाभिमानी आम नेपालीको समग्र हित होस् भन्ने हाम्रो कामना हो उनले बताए ।
‘आपसी राष्ट्र प्रेम र राष्ट्र हितको सदासहायता कायम नरहँदा देशमा विषम परिस्थिति सृजना हुनु दूर्भाग्यपूर्ण हो । मैलै त्यतिखेरै आँकलन गरेको हो । अहिले त्यस्तै भइरहेको छ । यसो हुनु हुन्न’ पूर्वराजा ज्ञानेन्द्रले भने ।
‘आफ्नो गरिमापूर्ण राजपाटबाट वियुक्त हुनु पर्दा मैले व्यक्त गरेको राष्ट्र प्रेम राष्ट्रियता, प्रजातान्त्रिक प्रतिवद्धता तथा देश र जनताको उत्थानमा क्रियाशिल हुने भावनालाई मैले आज पनि सान्दर्भिक रुपमा सम्झिरहेको छु’ । त्यसै आशय अनूरुप मैले चीरकाल पर्यन्त सुरक्षित रहोस् भनी मेरो श्रीपेच राष्ट्रलाई सुम्पिएको थिए । हामी राष्ट्रमा नै छौं । यही रहेर देशको गौरवगाथा गाइरहेका छौं । अहिले पनि देशको सर्वाङ्गिण उन्नति होस् भन्ने चाहना हाम्रो हो उनले बताए ।
‘आफ्नो मौलिकता, अस्तित्व आफ्नो पहिचान गुमाएर देशलाई विभाजनको खाडलतिर लगेर अनि देशमा सनातनदेखि रहि आइरहेको सुमधुर सामाजिक सम्बन्धलाई विथोलेर देशको भलो हुँदैन’ पछिल्लो देशको अवस्था तर्फ संकेत गर्दै उनले बताए । हाम्रो राज्यव्यवस्था, हाम्रो राजनीति, हाम्रो अर्थ व्यवस्था र हाम्रो सामाजिक दूरावस्था सबैले राम्रो मूल्याँकन गरेर सबैको सुधार, सबैको उपकार, सबैको विकास र सबैतिरको निकासको बाटोमा अब हामी सबैले मिलेर लाग्नु पर्दछ पूर्व राजा ज्ञानेन्द्र शाहले बताए । यसैमा हाम्रो कल्याण छ उनले थपे ।
अर्को प्रसंगमा उनले अन्न भण्डार भनिने तराई मधेशको ठूलो मूल्य महत्व भए पनि गौरवशाली इतिहास बोकेको उत्तम इलम, उत्पादन व्यवस्था बजार र आर्थिक उत्थानको आधार रहेका तराई मधेशको पछिल्लो अवस्था पनि ठिक नभएको उनको दावी छ । यहाँको पोखरी पानीको श्रोत ट्युववेल, कुवा, धारा पानीको जल सतह सुख्खा, खडेरी र मरुभूमिकरण तर्फ जानु गम्भिर चिन्ताको बिषय हो । मधेशका होनाहार उद्धमी युवा जनशक्ति दैनिक विदेशतर्फ दगुरिरहेका छन् । उचित रोजगारी, सीप इलम र अवसर दिन नसक्दा गरिबीको बाध्यताको कारण हाम्रो जमिन, हाम्रो श्रोत साधन सबै सुक्दै हाम्रो जनशक्ति पातलिदै गएको छ । यो दुःखको कुरा हो । यसलाई रोक्न पर्छ सुधार गर्न पर्छ उनले सुझाव दिए ।
देश बनाउन, देश बचाउन निरन्तर आवाज छ । हामी माथि आह्वान पनि छ । म भन्छु ‘हामी हाम्रो पूर्वाको पौरख नभूलौं, हामी यहि बसौं, हाम्रो यहि आफ्नो जन्मभूमिका लागि मरिमेटौं’ । ‘हाम्रो विकास हाम्रो उत्थान, समस्याको निवारण हामी आफैबाट हुने हो । अरुले आएर गरिदिने होइन’ उनले जोड दिए ।
समग्र देशको हितका लागि अब सोच्ने बेला आयो । देशलाई झनझन बर्बादी तिर नलैजाउँ । त्यसका लागि अब सबैले सोचौँ, समीक्षा गरौं, नेपालको यस्तो राम्रो प्रकृति, प्राकृतिक श्रोत, साधन, हाम्रो आफ्नो क्षमता, आफ्नो उन्नतिमा लगाऔं । आफ्नो घर उजाड पारेर अरुको उन्नतिमा आफ्नो श्रम पसिना लगाउने बेला अब गयो उनले दावी गरे ।
आफ्नो क्षमताले, आफ्नै घर वा आफ्नै गाउँबस्ती आफै बनाउने तिर लाग्नुको अब विकल्प छैन उनले बताए । ‘यसैमा हाम्रो देशको उन्नति, प्रगति, इज्जत र प्रतिष्ठा निर्भर हुन्छ’राजा शाहले भने ।
नागरिक अभिनन्दन नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका संस्थापक अध्यक्ष, वरिष्ठ राजनीतिज्ञ, वरिष्ठ अधिवक्ता देन्द्रलाल नेपालीको अध्यक्षतामा भएको हो । कार्यक्रममा धन्यवाद ज्ञापन नागरिक अभिनन्दन मूल समारोह समितिका उपाध्यक्ष पशुपतिविक्रम शाह र सहजीकरण आयोजक समितिका महासचिव हिराबहादुर चन्दले गर्नु भएको थियो।
कार्यक्रममा सिंधी समाजका तर्फबाट राजकुमार सिंधीलगायत विभिन्न राजनीतिक, धार्मिक, वर्गीय एवं जातीय संघ संगठनका तर्फबाट समेत राजा ज्ञानेन्द्रलाई अभिनन्दन गरिएको थियो।
राजा ज्ञानेन्द्रद्वारा भएको सम्बोधनको पूर्ण पाठ
श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट वीरगंजमा बक्सेको सम्बोधन
उपस्थित महिला तथा सज्जनवृन्द,
तपाईहरूका बीच आफ्ना मनका कुरा भन्न पाउँदा मलाई आज खुशी लागेको छ । हाम्रा तराई फाँटका जनभावना बुझने र यहाँहरूसंग साक्षात्कार हुने यस्तो मौका मिलेकोमा म आयोजक, प्रबन्धक तथा संलग्न सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।
हाम्रो अन्नको भण्डार भनिने तराई मधेशको यो समथर उब्जाउ फाँट हामी नेपालीका लागि यो भूमिको अर्कै ठूलो मूल्य र महत्व छ । गौरबशाली इतिहास बोकेको, उद्यम इलम उत्पादन व्यवसाय, बजार र आर्थिक उत्थानको आधार हाम्रो तराई मधेशको छुट्टै पहिचान पौरख र प्रतिष्ठा छ ।
हामी देखिरहेका छौ, भोगिरहेछौ दुई तीन दशक यता आएर हाम्रो तराई क्षेत्र, हाम्रो यो
उर्वर मधेश भूभाग आज उजाड बन्दै गइरहेको छ- यहाँको पोखरी, पानीको श्रोत ट्यूबेल कुवा धारा तथा जल सतह कमजोर बन्दै सुक्खा खडेरी र मरूभूमीकरण तिर गइरहेको छ । यो गम्भिर चिन्ताको कुरा हो । मधेशका होनहार उद्यमी युवा जनशक्ति दिनौ विदेश तिर दगुरिरहेका छन । उचित रोजगारी, सीप इलम र अवसर दिन नसक्दा गरीवी बाध्यताका कारण हाम्रो जमीन, हाम्रो ओत, साधन सबै- सुक्दै हाम्रो जनशक्ति पातलिदै गएको छ । यो दुःखको कुरा हो ।
देश बनाउनु देश बचाउनु निरन्तर आवाज छ- हामी माथि आह्वान पनि छ । म भन्छु हामी हाम्रा पुर्खाको पौरख नभुलौ, हामी, यही बसौं, यही आफ्नो जन्मभूमीका लागि मरिमेटौ । हाम्रो विकास हाम्रो उत्थान र हाम्रो समस्याको निवारण हामी आफैबाट हुने हो । अरूले आएर गरिदिने हैन ।
तर दुःखका साथ भन्नुपर्छ, आज हाम्रो देश हिमाल पहाड तराई सबै उजाड बन्दै – खोक्रो भएर चरम दुर्भाग्यको अवस्था तिर खस्केको छ । यो अवस्थाको अन्त गर्ने परेको छ । यसका निम्ति अब सोच्ने बेला आयो । देशलाई झन झन बरबादी तिर नलैजाउँ । त्यसका लागि अब सबैले सोचौ-समिक्षा गरौं । नेपालको यस्तो राम्रो प्रकृति, हाम्रा यतिका प्राकृतिक श्रोत साधन हाम्रो आफ्नो क्षमता यी सबै कुरा- हाम्रो आफ्नो आर्थिक उन्नतिमा लगाउँ आफ्नो घर उजाड पारेर अरूको उन्नतिमा आफ्नो श्रम पसिना लगाउने अब बेला गयो । आफ्नो क्षमता, आफ्नै घरद्वार, आफ्नै गाउँबस्ती र आफ्नै बनाउने तिर अब हामी लाग्नै पर्छ । यसैमा हाम्रो देशको उन्नति प्रगति इज्जत प्रतिष्ठा निर्भर हुन्छ । हामी भूगोल र भू बनोटमा बाँडिने हैन, हामी जातजाति धर्म संस्कृतिमा खण्डित हुने हैन, हामी सबैको देश नेपाल, नेपालमा बस्ने हामी सबै नेपाली । त्यसैले विभेदको, विखण्डनको, बिग्रहको र निषेधको राजनीति हामी नगरौं । हामी सबैको भलाई यसैमा छ ।
आफ्ना आत्मीय अग्रजहरूलाई गुमाएको पिडादायक अवस्थामा नेपालको राज्यभार ग्रहण गरेर पुग नपुग सात बर्ष राष्ट्रप्रमुखको हैसियतमा मैले आफ्नो दायित्व निर्वाह गरे । तत्कालीन अप्ठेरो परिस्थितिमा पनि देशको थप वर्वादी नहोस् र हाम्रा प्रजातन्त्रका मान्यता राखेर नै मैले काम गरेको हुँ । जेठ,१८,२०५८ मा घटेको विनासकारी घटना जुन हामी र हाम्रो परिवारलाई कहाली लाग्दो र सम्झन मन नपराउने अवस्थालाई राजनीतिक जालझेल गरी धेरै नेपालीको मनमा भ्रमको बादल बनाइ नकारात्मक भावना फैलाएका थियो । हामी र हाम्रो परिवारलाई घातक प्रहारहरू पनि गरेका थिए । सत्य सधै सत्य हुन्छ । असत्यको विजयी कहिले हुँदैन । हाम्रो माझ प्रत्यक्षदर्शीहरू हुँदा हुँदै अज्ञान्ता र छलले अझ पनि हामी बहकीरहेका छौ । यो अन्यायपूर्ण मात्र होइन दुर्भाग्यपूर्ण पनि हो ।
आफ्नो पुख्यौली राजदरवारबाट परित्याग गर्दा २०६५ जेष्ठ २८ गते आमसञ्चार माध्यम मार्फत मैले भनेको थिएँ, म नेपाल मै बसि मुलुकको बृहत्तर हित र शान्तिका लागि योगदान पुर्याउन चाहन्छु अनि त्यत्तिबेलै मैले भनेको थिएँ ” स्वाभिमानी आम नेपालीको समग्र हित होस् भन्ने मेरो हार्दिक कामना छ ” ।
हाम्रो राष्ट्रप्रेम र राष्ट्रहितको सदासयता कायम नरहँदा देशमा विषम परिस्थिति बढ्दै जान्छ र त्यस्तो बेथितिबाट आम जनतामा आक्रोस उत्पन्न हुन्छ भन्ने त्यत्तिखेरको आँकलन हो । बितेका १५ बर्ष पछि आज त्यो असन्तोष, चासो, चिन्ता, आक्रोस सर्वत्र छताछुल्ल छ । आफ्नो गरिमापूर्ण राजपाटबाट वियुक्त हुनुपर्दा मैले ब्यक्त गरेका राष्ट्रियता, प्रजातान्त्रिक प्रतिबद्धता तथा देश र जनताको उत्थानमा कृयाशील हुने भावनालाई मैले आज पनि सान्दर्भिक रूपमा सम्झिरहेको छु । त्यसै आसय अनुरूप मैले ” चिरकाल प्रर्यन्त्र सुरक्षित रहोस् भनेर आफ्नो श्री पेच राष्ट्रलाई सुम्पिएको थिए ” ।
हामी देश मै छौ, आज पनि देश मै रहेर हामीले देशको गौरबगाथा गाइरहेका छौ । अहिले पनि देशको सर्वागिण उन्नति होस्, भेदभाव रहित ढंगले सबै देशवासीको विकास हुँदै जावोस् भन्ने नै हाम्रो भावना छ । आफ्नो मौलिकता, आफ्नो अस्तित्व, आफ्नो पहिचान गुमाएर देशलाई विभाजनको खाडलतिर लगेर अनि देशमा सनातन देखि रहि आएको सुमधुर सामाजिक सम्बन्धलाई बिथोलेर देशको भलो हुँदैन, यो कुरामा अहिले पनि हाम्रो अडान कायम छ । त्यसैले हाम्रो राज्य व्यवस्था, हाम्रो राजनीति, हाम्रो अर्थ न्यवस्था र हाम्रो सामाजिक दुरावस्था सबैको राम्रो मूल्यांकन गरेर सबैको सुधार, सबैको उपकार, सबैको विकास र सबैतिरको निकासको बाटोमा हामी अब लाग्नुपर्छ । यसैमा हाम्रो कल्याण छ । सबैमा फेरि एकपटक हाम्रो धन्यवाद !
जय नेपाल
वीरगंज
२०८० माघ १३ गते