सिमकोट/एमाले अध्यक्ष केपी शर्मा ओलीले राजतन्त्र माग गर्नेहरूलाई देशद्रोहीको आरोप लगाएका छन्। एमालेले सञ्चालन गरेको ‘मेची–महाकाली यात्रा’ का क्रममा दैलेखकाे राकम कर्णालीमा आइतबार आयोजित सभालाई सम्बोधन गर्दै ओलीले लोकतान्त्रिक गणतन्त्रभन्दा राजतन्त्र उत्तम ठान्नेहरु देशद्रोही भएको बताएका हुन्।
पछिल्लो राजनीतिक परिवर्तनलाई उपलब्धी नठान्ने तत्वले जनताको हित नचाहेको उनको भनाइ थियो। उनले गठबन्धन सरकारका कारण देशमा निम्तिएको अस्थिरता र जनतामा देखिएको निराशापनलाई मौकाको रुपमा लिएर प्रतिगमनकारीले दिवास्वप्न देखेको बताए।
प्रतिगमनको कुरा गर्नु विकास, परिवर्तन बिरोधी नेपालको हितविपरीत रहेको उनको भनाइ छ। बैतडीको झुलाघाटबाट सुरु भएको अभियानको तीन दिनको सुदूरपश्चिमको भ्रमणका क्रममा बुझ्दा निराशा मात्रै छाएको उल्लेख गरेका अध्यक्ष ओलीले सत्ता टिकाउन भैरहेको अनियमितता, कमिशन र तस्करीका कारण जनतालाई संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्प खोज्ने हो कि भन्नेसम्मको अनुभूति गर्ने अवस्था आएको बताए। (राजन रावत, देश संचार)