काठमाडौं । बहूचर्चित गिरीबन्धु टी स्टेटका संचालक छत्र गिरीले करोडौं करोड करछली गरेकोबारेमा भने आन्तरिक राजस्व कार्यालयले कुनै ताकेतासमेत गरेको छैन । राज्यका शक्तिकेन्द्रहरु प्रधानमन्त्रीदेखि मुख्य सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, विपक्षी दलका नेता केपी शर्मा ओलीसँग पहुँच देखाएर उनीमाथि आन्तरिक राजस्व कार्यालयले एक्सन लिन नसेकेको स्रोत बताउँछ ।
गिरीबन्धु टी स्टेटको जग्गाको हदबन्दी फुकुवा गर्न सबै पार्टीका शीर्षनेतालाई प्रभावमा पारी भूमि ऐन नै संशोधन गरेका छत्र गिरीले चिया उद्योगबाट करोडौं करछली गरेको उनकै आफन्तहरुले खोल्न थालेका छन् । गिरीबन्धु टी स्टेटको जग्गा उनका अरु दाजुभाइ र भतिजाहरुको भए पनि उनीहरुको सहमति समेत नलिई एक्लौटी फुकुवा गरी अरबौं हेराफेरी गर्न खोजेपछि उनीबिरुद्ध परिवारभित्रैबाट बिरोधको आवाज निस्किएको छ । उनले गिरीबन्धुको जग्गा एक्लौटी खान खोजेपछि मुद्दा मामिला समेत परेका छन् । गिरीले आफन्तलाई समेत गिरीबन्धु टी स्टेटमा ठग्न खोजेपछि मुद्दा मामिला अदालत पुगेको छ ।
छत्र गिरी कम्पनीका एक शेयरधनी मात्र हुन् । तर उनले परिवारका अरु सेयरधनीको सहमति नलिई आफूखुशी जमिन बिक्री गर्न थालेपछि अन्य शेयरधनीले आफ्नो हिस्सा खोजेका छन् । छत्रबहादुरको मनपरीले सीमा नाघेको भन्दै अन्य शेयरधनी न्यायका माग गर्दै अदालत पुगेका छन् । २०२० सालमा स्थापना भएको गिरीबन्धु टी स्टेटमा छत्रबहादुर गिरीको २५ प्रतिशतमात्र सेयर छ । २५ प्रतिशत मात्र हिस्सा भएका छत्र गिरीले ७५ प्रतिशत हिस्सा सेयर भएका ब्यक्तिहरुको सहमतिबेगर एकलौटी रूपमा जमिन दिने भन्दै ब्यवसायीहरुसँग करोडौं रकम उठाएको आरोप छ ।
छत्र गिरीमाथि बिर्तामोडमा चियाबगान संचालन गर्दा घाटा देखाएर करोडौं करछली गरेको आरोपसमेत लागेको छ । गिरीबन्धु टी स्टेटको सुरुदेखिकै आयब्ययको (डीडीए) गर्ने हो भने पर्याप्त मुनाफामा देखिने भए पनि गिरीले घाटामा देखाएर सरकारलाई कर नतिर्ने गरेको खुलेको छ ।
छत्र गिरीले संचालन गरेको अरु चिया बगानसमेत उनले घाटामा देखाएर करछली गरेका छन् । नाफा भए पनि छत्र गिरीले कृृत्रिम घाटा देखाउने गरेको आरोप उनकै दाजुभाइले लगाउने गरेका छन् । एकाध लाख कर नतिर्ने सानातिना ब्यापारिक फर्मलाई सास्ती दिने राजस्व अनुसन्धान विभागले करोड, अरब करछली गर्ने छत्र गिरीहरुलाई भने शक्तिकेन्द्रको दबाबमा छुट दिएको आरोप छ ।
गिरीबन्धुकै हदबन्दी फुकुवामा समेत उनले एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस नेतृ डा.आरजु राणा, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नाम लिने गरेका छन् । प्रधानमन्त्री प्रचण्डकी स्वकीय सचिव समेत रहेकी छोरी गंगा दाहाल, डा. आरजु राणा र केपी ओलीको फोन आएको भन्दै उनले धेरैलाई भ्रमित पारी करछलीमा समेत बच्दै आएका छन् । शीर्षनेता र पावरफुल ब्यक्तिको नाम लिएर उनले थर्काउने गरेका छन् । तर, सबै नेताहरुलाई ढाँटेकाले छत्र गिरीसँग केपी ओली, आरजु राणादेखि कृष्ण सिटौलासम्मको सम्बन्ध पछिल्ला दिनमा राम्रो नरहेको स्रोत बताउँ छ । यद्यपि उनले अहिले पनि नेताको नाम लिएर कर नतिरी उन्मुक्ति पाउँदैआएका छन् ।
छत्रबहादुर गिरीहरुले २०२१ सालमा भूमिसुधार लागू हुँदा बिर्तामोडको हदबन्दी भन्दा बढी जग्गा चिया उद्योगको लागि भनेर राखेका थिए । उद्योग प्रयोजनका लागि हदबन्दीभन्दा बढी जग्गा राखेका छत्रबहादुर गिरीहरुले गिरीबन्धु टी स्टेटका नाममा चियाबगान संचालन गरेका थिए । पछिल्लो समय बिर्तामोडको जग्गा चिया उद्योगभन्दा घडेरी बनाएर बिक्री गर्दा अरबौं लाभ हुने देखेपछि उनीहरुले २०५८ देखि पटक पटक उक्त जग्गा फुकुवा गर्न खोजेका थिए ।
सरकार परिवर्तन हुनासाथ नियुक्त हुने भूमिसुधार मन्त्रीलाई करोडौंको अफर गरी हदबन्दी फुकुवा गर्न खोजे पनि कर्मचारीतन्त्रले अड्काएपछि २०७६ मा भूमि ऐनमै संशोधन गर्न सफल भए ।