स्याङ्जा । लागूऔषध ब्राउनसुगर मुद्दामा संलग्न रही ११ वर्षदेखि फरार रहेका प्रतिवादी फेदिखोला गाउँपालिका-२ बस्ने ३३ वर्षीय विशन गुरूङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
तत्कालिन पुनरावेदन अदालत पोखराको २०६९ असार १७ गतेको फैसलाले ५ वर्ष कैद र १० हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले लुकिछिपी बसेको अवस्थामा फेदिखोलाबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत स्याङ्जामा पेश गरीएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि जिल्ला कारागार स्याङजामा पठाएको छ ।
यसैगरी बझाङ जिल्ला दुर्गाथली गाउँपालिका-४ आमरुखबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ६ केजी ६० ग्रामसहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा केदारस्युँ गाउँपालिका-९ बस्ने २९ वर्षीय प्रेम बहादुर बोहरा र सोही गाउँपालिका-८ बस्ने २८ वर्षीय सुनिल बोहरा रहेका छन् ।
ईलाका प्रहरी कार्यालय दुर्घाथलीबाट खटिएको प्रहरीले सु.प.प्र.०१००९ प १४४० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उनीहरुलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।