२०८२ जेष्ठ ५ गते, सोमबार १७:३१

ललिता निवास जग्गा प्रकरण : पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईले बल्ल बुझे अदालतको पत्र

घनश्याम खड्का

काठमाडौँ — पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईले ललिता निवास जग्गा प्रकरणमा मुद्दा चलाउन पर्ने वा नपर्ने सम्बन्धमा सर्वोच्च अदालतले सोधेको पत्र झन्डै दुई महिनापछि बुझेका छन् । सरकारले यो प्रकरणमा मुछिएका नेपाल, भट्टराई र तत्कालीन मुख्यसचिव लीलामणि पौड्यालबाहेकलाई मुद्दा चलाउने निर्णय गरेपछि त्यसविरुद्ध वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने तथा अधिवक्ता रवीन शर्माले गत असोज १ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।न्यायाधीश विनोद शर्माको इजलासले असोज ७ गते ‘बाटाको म्यादबाहेक’ १५ दिनभित्र मुद्दा चलाउन नपर्ने कारण भए लिखित रूपमा पेस गर्नु भनी उनीहरूका नाममा आदेश गरेको थियो ।

 

म्याद तामेल हुन नसकेर मुद्दा नै अघि नबढेकोपत्तो पाएपछि उनीहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्छ भनेर रिट हाल्ने अधिवक्ताहरूले प्रहरीको सहायता लिएर तामेल गराइपाऊँ भनी अर्को निवेदन हाल्ने तयारी गरेका थिए । यसको सुइँको पाएपछि नेपाल र भट्टराई दुवैले तत्काल म्याद बुझेका छन् । सर्वोच्चका सहायक प्रवक्ता गोविन्द घिमिरेका अनुसार नेपालले मंसिर ४ र भट्टराईले मंसिर ५ मा म्याद बुझेका हुन् । मुद्दाका अर्का प्रतिवादी तत्कालीन मुख्यसचिव पौड्यालले भने कात्तिक २३ गते म्याद बुझेका थिए ।

तामेलदारले तीन दिनभित्र म्याद तामेली (प्रतिवादीलाई मुद्दाको पत्र बुझाउने) गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । यो प्रकरणमा तामेलदारले असोज १० गते तामेलीको पत्र बुझेका थिए । ‘हामीले पटकपटक प्रयास गर्दा पनि तामेल गर्न सकेनौं । कहिले पछि आउनु व्यस्त छु भन्नुभयो, कहिले फोन उठाउनु भएन र कहिले भेटै नदिएर हामीलाई पन्छाइरहनुभयो,’ तामेली शाखाका एक कर्मचारीले भने, ‘उहाँहरूकै घरमा पटकपटक जाँदा भेट्न मान्नुभएन, फोन गर्दा फोन उठाउनुभएन, म्याद बुझाउन खोज्दा बुझ्न मान्नुभएन ।’

घर, ठेगाना वा हाल बसिरहेको ठाउँ पत्ता नलागे वा व्यक्ति फेला नपरे मात्र तीन दिनभन्दा बढीको म्याद तामेलीको समय लम्बिने अदालती नियम छ । ‘मुलुकको प्रधानमन्त्री र मुख्यसचिव भइसकेका व्यक्ति भएकाले उहाँहरूको एकै दिनमा तामेली हुनुपर्ने हो । सीआईबीमा बयान दिन जाँदा पनि उहाँहरूले यो मुद्दामा आफूले सघाउने वाचा गर्नुभएको थियो,’ रिट निवेदकमध्येका एक अधिवक्ता शर्माले भने, ‘तर, त्यसको उहाँहरू मुद्दा लम्ब्याउने नियतले म्याद नै बुझ्नबाट भाग्नुभयो, यो विधिको शासनप्रति उहाँहरूले गरेको खेलबाड हो ।’ सर्वोच्चले तीनै जनालाई ललिता निवास प्रकरणमा कारबाही गर्न मुद्दा चलाउन नपर्ने कुनै कारण भए १५ दिनभित्र लिखित जवाफ पेस गर्न पनि भनेको थियो । हालसम्म उनीहरूबाट लिखित जवाफ पेस नभएको सर्वोच्चका सहायक प्रवक्ता घिमिरेले बताए ।

 

सरकारका नाममा रहेको ललिता निवास क्याम्पभित्रका जग्गा नेपाल र भट्टराई प्रधानमन्त्री हुँदा मन्त्रिपरिषद्को निर्णयका आधारमा भूमाफियाहरूले व्यक्तिका नाममा ल्याउने काम गरेका थिए । सार्वजनिक जग्गामा मोहियानी हक प्राप्त नहुने प्रचलित कानुनी प्रावधानलाई छल्न मन्त्रिपरिषद्बाट निर्णय भएको सीआईबीको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । तत्कालीन प्रधानमन्त्री नेपालले ललिता निवासको जग्गासम्बन्धी आफूले अध्यक्षता गरेको मन्त्रिपरिषद्को बैठकमा मुख्यसचिव पौड्यालले पेस गरेको प्रस्तावमा ‘मोही भनी विभिन्न व्यक्तिहरूको नाम र जग्गाको विवरण उल्लेख गरिएको अनुसूचीसमेत संलग्न गरी प्रस्ताव पेस गरिएको थियो’ भनी सीआईबीका अनुसन्धान अधिकृतसामु बयान दिएका थिए । भट्टराईले आफू प्रधानमन्त्री हुँदा पनि मन्त्रिपरिषद्बाट ललिता निवासको जग्गा टिकिन्छा गुठीका मोहीलाई दिने निर्णय गरे तापनि त्यसमा कुनै बदनियत नभएको कागज गरेका थिए । सीआईबीको बयानमा पौड्यालले भने, ‘आज मलाई सोधिएको प्रश्नहरूमा मन्त्रिपरिषद्को निर्णय प्रमाणीकरण गर्नेबाहेक अरू विषयहरू मसँग सम्बन्धित छैनन्’ भनी जवाफ दिएका थिए ।

सरकारी जग्गामा मोही लाग्ने गैरकानुनी काम मन्त्रिपरिषद्बाहेक अन्यत्रबाट नहुने अवस्थामा नक्कली गुठी खडा गरी व्यक्तिका नाममा जग्गा हडप्ने काममा निर्णायक भूमिका निर्वाह गर्ने तत्कालीन प्रधानमन्त्रीद्वय र मुख्यसचिवलाई जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने गैरसंवैधानिक निर्णय गरेकाले त्यसलाई बदर गर्दै उनीहरूविरुद्ध पनि मुद्दा दर्ता हुनुपर्ने रिट निवेदकको जिकिर छ । -कान्तिपुर

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM