काठमाडौ । गृह मन्त्रालयले नेपाल प्रहरीका एसएसपी योगबहादुर पालको राजीनामा स्वीकृत गरेको छ । महिला प्रहरीमाथि यौन दुर्व्यवहारको आरोप लागेपछि पालले राजीनामा दिएका थिए ।
एसएसपी पालले यौन दुर्व्यवहारमा कडा कारबाही हुने संकेत पाएपछि त्यसअघि केही अघि राजीनामा दिएका हुन् । बिहीबार गृह मन्त्रालयले उनको राजीनामा स्वीकृत गरेको हो ।
प्रहरी प्रधान कार्यालयले उनको राजीनामा स्वीकृतिका लागि मन्त्रालय पठाएको थियो । सहकर्मी महिला प्रहरीलाई कार्यालयभित्रै यौन दुर्व्यवहार गरेको आरोप लागेका उनले छानबिन समितिको प्रतिवेदनका आधारमा प्रहरी प्रधान कार्यालयले कारबाही प्रक्रिया अघि बढाएपछि राजीनामा दिएका थिए ।
जेठ १९ मा बिदामा घर जान लागेकी सहायक हवल्दारलाई उनले सेटबाट आफ्नो निवासमा बोलाएर ‘तिमी मलाई मन पर्यो, आज गुड फ्राइडे मनाउनुपर्छ’ भन्दै दुर्व्यवहार गरेको घटना बाहिरिएको थियो ।
त्यसपछि प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले पाललाई निलम्बन गरेको थियो । छानबिन समितिले अनुसन्धान गर्दा उनी पटके यौन दुर्व्यवहारी रहेको खुलेको अनुसन्धान स्रोतले बतायो ।