Friday, April 12, 2024
घरक्राइम चेकबारा प्रहरीको कर्मकाण्डी अनुसन्धान: अपराधी हौसिए, पीड़ित थप पीड़ामा

बारा प्रहरीको कर्मकाण्डी अनुसन्धान: अपराधी हौसिए, पीड़ित थप पीड़ामा

वीरगंज/आपराधिक एवं तस्करी जन्य कृयाकलापलाई मूख्य पेशा एवं व्यवसाय बनाएका अपराधी एवं कुख्यात तस्करहरू बारामा प्रहरी उपरीक्षक सुरेश काफ्लेको आगमनसँगै हौसिएका छन् ।

प्रहरी उपरीक्षक काफ्लेले बारा प्रहरी प्रमुखको कमाण्ड सम्हालेको एक महिना बित्न नपाउँदै दिन दहाडै श्रृंखलावद्ध रुपमा भैरहेको हत्याकाण्ड एवं बढ्दो तस्करीका घटनाक्रमले अपराधी एवं तस्करहरू हौसिएको पुष्टि हुन आउँछ ।

गएको एक महिनाभित्र बारामा तीन जनाको हत्या भएको छ । पछिल्लो पटक गत सोमबार सदरमुकाम कलैयामा रहेको बाल एकता बोर्डिङ स्कुलका प्रिंसिपल रूपेश स्वर्णकारलाई अपराधी समूहले दिउँसै गोली हानेर हत्या गरेका छन् भने त्यसअघि असोज ९ गतेका दिन भारतीय नागरिक अजितकुमार सिंह र त्यसको अघिल्लो दिन असोज ८मा पचरौता नगरपालिका–१ पिपरपातीका ३४ वर्षीय अमरेशकुमार सिंहको हत्या भएको थियो ।

अमरेशको धारिलो हतियार प्रहार गरि हत्या गरिएको थियो भने अजित र रुपेशको गोली प्रहार गरेर हत्या गरिएको थियो ।

असोज ९ गतेका दिन बारा पुगेका भारतको मोतीहारी, दर्पा थाना–१ सुक्लहिया गाउँका अजितको पचरौता नगरपालिका–६ लक्ष्मीनियास्थित पोखरी नजिक हत्या भएको थियो । उनको हत्यामा भारतको मोतीहारी जिल्ला, दर्पा थाना– १ सुक्लहियाका सुजितकुमार सिंह, चञ्चल पाँडे, मनीषकुमार सहनी र कामेश्वर सहनी संलग्न रहेको पाइएको थियो ।

त्यस्तै अजितको हत्याको अघिल्लो दिन पूर्व सशस्त्र प्रहरी जवान अमरेशकुमार सिंहको हत्या भएको थियो । उनको शव नेपाल–भारत सीमास्थित दशगजा क्षेत्रमा फेला परेको थियो ।

पछिल्लो पटक हत्या गरिएका बाल एकता इंगलिश बोर्डिङ स्कूलका प्रिंसिपल रुपेश स्वर्णकार प्रकरणमा भने प्रहरीले कर्मकाण्डी अनुसन्धान गर्ने काम गरेको मृतक परिवारको आरोप छ ।

“विवाहेत्तर अवैध सम्बन्ध”लाई हत्याको कारण भनि प्रहरीद्वारा सार्वजनिक गरिएको अनुसन्धान निस्कर्ष प्रति मृतकका परिवारले “प्रहरीद्वारा मृतकको चरित्र हत्या गरेर पीडितलाई थप पीडा दिएको” आरोप लगाएका छन् ।

अपराधीलाई पक्राउ गर्न बारा प्रहरी असफल

बारा प्रहरीले घटनामा संलग्न अपराधीहरुलाई पक्राउ गर्न असफल भएको छ । पत्रकार सम्मेलनमा हत्याको मुख्य योजनाकार र उनका सहयोगीहरुलाई सार्वजनिक गरिएपनि मुख्य अपराधीहरुभने अहिलेसम्म फरार छन् । प्रहरीले यस घटनामा सफल भएको दाबी गरि रहँदा पनि असफल रहेको देखिन्छ । पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुले सोधेको प्रश्नको जवाफ समेत दिन नसकेपछि प्रहरी उपरीक्षक काफ्ले हिँडेका थिए । अनुसन्धानको क्रममा तयार पारिएको फाइललाई सरासर पढेर सुनाई पत्रकाहरूको प्रश्नको जवाफ नै नदिई उठेर हिँडेका थिए । घटनाको अपराधी ५ जनामध्ये कोही पक्राउ पर्न नसकेको कारण बाराबासीमा त्रास अहिलेपनि यथावत नै छ ।

मुख्य योजनाकार एवं सहयोगीहरुलाई सार्वजनिक गरेर यो घटनाको टुँगो लगाउन खोजेपछि सुटरहरु पक्राउ पर्न नसक्नुले कलैयामा सुरक्षा चुनौति अहिलेपनि कायमै रहेको देखिन्छ । गोली काण्डको सुटर यो भन्दा अघि पनि गोली हानी हत्या गरेका थिए । उनीहरु प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका अपराधीहरु हुन् । तिनीहरुमाथि प्रहरीले निगरानी पनि गरि रहेको तर प्रहरीको निगरानीमा रहेका ति अपराधीहरु पुन: सदरमुकामको मुख्य बजारमा नै पुन: गोली हानेर फरार हुनले कलैयाको सुरक्षा व्यवस्थामाथि अझ चुनौति थपिएको छ । सुटरहरु पक्राउ पर्न नसकेको कारण यस्ता घटना पुन: दोहोरिन नसक्ने भन्ने अवस्था नरहेको जानकारहरुको बुझाई छ । घटनालाई सामसुम पार्नकै लागि हतार हतारमा पत्रकार सम्मेलन गर्नुले बारा प्रहरीको अनुसन्धानमाथि नै प्रश्न चिन्ह् खडा भएको छ ।

बुधवार प्रहरीले पत्रकार सम्मेलनमार्फत पाँच जना राधा गुप्ता, जाबेद अख्तर, चन्दन यादव, रियाज अन्सारी र अभिनव कुमार सिंहलाई सार्वजनिक गर्दै राधा गुप्तासँगको “विवाहेत्तर अवैध प्रेम सम्बन्ध” रहेकोका कारण हत्या भएको जनाएपछि लगत्तै पीडित परिवारले एक विज्ञप्ती जारी गरेर बारा प्रहरीमाथि विभिन्न प्रश्नहरू तेस्र्याएका छन् ।

मृतक परिवारको तर्फबाट सुमोद कुमार सर्राफले हस्ताक्षर गरेर सार्वजनिक गरेको विज्ञप्ती अनुसार बारा प्रहरीले सुरक्षा चुनौती थेग्न नसकेर हचुवा अनुसन्धानको आधारमा हत्याको कृत्रिम कारण खडा गरेर शोकाकुल एवं पीडित परिवारलाई थप पीडा दिने काम गरेको आरोप छ ।

विज्ञप्तीमार्फत पीडित परिवारले बारा प्रहरीसामु उठाएका प्रश्नहरू हामीले पाठकहरूकालागि जस्ताको तस्तै प्रस्तुत गरेका छौं:

“आदरणीय सन्चारकर्मी ज्युहरु, सम्पूर्ण नागरिक समाज, उद्योगी व्यवसायी तथा संघ संस्थाहरू हाम्रो परिवारमा परेको बज्रपातको बेला सहानुभूति व्यक्त गरेकोप्रति हार्दिक आभार व्यक्त गर्दछौं । शान्ति सुरक्षा प्रदान गर्ने सुरक्षा निकायप्रति सदैव हाम्रो आस्था रहेको कारण हामीले सत्य तथ्य न्याय पाउने आशा गरेर सहज रूपमा मृतकको दाहसंस्कार गर्यौं तर प्रशासन मार्फत अभिव्यक्त भएको सूचनाले हामीलाई दु:खीत तुल्याएको छ । मृत आत्माको चरित्र हत्या गर्ने प्रयास समेत गरेको छ यसप्रति पूर्ण असन्तुष्टी जनाउँदै सत्यतथ्य प्रमाण सहित न्याय पाउनका निम्ति आमनागरिक समाज, संचारकर्मी, उद्योग व्यवसायी तथा संघ संस्थालाई सहयोग गर्न अपिल गर्दै तल उल्लेखित बुँदाहरु बारे स्पष्ट पारिदिन हार्दिक अनुरोध गर्दछौं ।

असहमतिका बुँदाहरु

१) पचरौता नगरपालिकामा केहि दिन पहिला घटेको घटनामा संलग्न व्यक्तिहरुको नाम तथा मोटरसाईकललाई यो घटनासँग जोडी सत्यलाई ढाकछोप गरि घटनालाई अन्यत्र मोड्न खोजेको ।

२) दिनदहाडै भएको हत्याबाट सृजित हुन सक्ने अवस्था तथा सुरक्षा चुनौतीलाई थेग्न नसक्ने अवस्थाबाट मुक्ती पाउन मुद्दालाई अन्यत्र मोड्ने प्रयास भएको ।

३) बिना प्रमाण मृतकको चरित्र हत्या गरेको ।

४) हामीलाई लासको खेल गरे सबैकुरा सार्वजनिक गर्छु भनेर दाह संस्कार गर्न दबाब दिएको तर जिल्ला प्रहरी कार्यालयद्वारा गरिएको पत्रकार सम्मेलनमा चित बुझ्दो प्रमाण दिन नसकेको ।

५) मृतकलाई अस्पताल ल्याउने विद्यालयका कर्मचारी रियाज अंसारी तथा घट्ना स्थलमा हुँदै नभएका विद्यालयकै अर्को कर्मचारी जमिल अख्तर अंसारीलाई बिना प्रमाण सहयोगीको आरोप लगाई फसाउन खोजेको ।

(६) शान्ति सुरक्षा कायम गर्न नसकेको प्रश्न प्रहरी प्रशासनमाथि उब्जने बाटोबाट बच्न आम जनताका आँखामा भ्रम सृजना गर्न खोजेको

(७) प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालयको अभिव्यक्तिमा भिन्नता देखिएको ।

(८) जिल्ला प्रहरी कार्यालयले दोषीहरुको दोषलाई उजागार गर्न नसकेको ।

दोषी नउम्कुन र निर्दोष कोहि नफसून भन्ने आशाका साथ सत्यतथ्य प्रमाण सहित घटनाको विवरण सार्वजनिक गर्न घटनालाई अन्यत्र नमोड्न प्रशासन समक्ष अनुरोध गर्दै हामीलाई न्याय दिलाउन हामी सम्पूर्ण संचारकर्मी, आमनागरिक समाज, उद्योग व्यवसायी तथा संघ संस्थालाई हार्दिक अनुरोध गर्दछौं ।”-विज्ञप्तिमा भनिएको छ।

 

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

News & Updates

Recent Comments