वीरगंज/ नेपाल र भारत दुबै देशको नागरिकता बोकेका द्वैध नागरिक नरेश साह कानु राप्रपा नेपालका अध्यक्ष कमल थापाको अनुहार देखाएर बैंकबाट लिएको करोडौँको ऋण पचाउने दाउमा लागेका छन्।
भारत विहारको सीतामढ़ी जिल्लामा जन्मेका नरेशले झुठा कागजातको आधारमा सर्लाहीबाट नागरिकता लिएर बसाई सरी वीरगंज आएको छोटो अवधिमैं करोडौँको ऋण लिएर बैंक र नेपालका नेता र प्रशासक सबैलाई झुक्याइरहेका छन्।
१६ करोड बराबरको सम्पत्ति देखाएर सिटीजन्स बैंकबाट शुरुमा २२ करोड ऋण लिई पछि कुमारी बैंकमा ४६ करोड ऋण लिएका साह सो ऋण पचाउन अनेक जुक्ति लगाइरहेका छन्।
केहि समय अघि चर्चित मेडिकल व्यवसायी दुर्गा प्रसाईको अभियानमा लागेर साहले पर्सा र बाराका ऋणीहरूको ऋण र ब्याज मिनाहा गराई दिने प्रलोभन देखाएर ऋणीहरूसँग ५-५ सयको दरले रुपैयाँ उठाउन लगाएको चर्चा सुनिएको थियो ।
बैंकलाई दबाव दिन र ऋण तथा ब्याज मिनाहा गराउने अभियान संचालन गर्ने भनि साहले पर्सा र बाराका हजारौँ ऋणीसँग पैसा उठाएको उनका निकटवर्ती स्रोतबाट जानकारी हुन आएको छ।
साहले १६ करोड़को प्रोपर्टी देखाएर ४६ करोड ऋण लिएपछि कुमारी बैंकले वीरगंजका कर्मचारीहरूलाई यसपाली दशैँ भत्ता समेत नदिने भएको स्रोतले जनाएको छ।
यसैबीच बैंकको ऋण र भारतीय द्वैध नागरिकता काण्डबाट जोगिन साह अनेक शक्ति केन्द्रको साहारा नलिई बस्नै नसक्ने अवस्थामा आएपछि यतिखेर उनी राप्रपाका केंन्द्रिय अध्यक्ष कमल थापा समेतको नाम र अनुहार देखाएर संरक्षित हुने प्रयासमा लागेका छन्।
बिहारबाट सर्लाही र त्यसपछि वीरगंज आएका नरेशसाह वीरगंज आएपछि उनका पिता नरसिंह साह वीरगंजमा मुन्सीको काम गर्दथे, डेरा भाड़ा गरी बस्दथे।
उनको नाममा नेपालमा एक धुर पनि जग्गा थिएन तर छोटो समयमै १६ करोडको सम्पत्ति कसरी हात पारे? खोजीको विषय रहेको छ।
यसैबीच प्राप्त खबर अनुसार शुरुको दिनमा नरेशलाई वीरगंजमा थाँतथलो दिने शर्मा थरकी महिलाको बारा जिल्ला स्थित सम्पत्ति हात पारेर जगा बैना गरेर बैंकको म्यानेजरलाई प्रलोभनमा पारेर जमिनको भन्दा तेब्बर मूल्यांकन गराई ऋण लिएको विश्वस्त स्रोतले जनाएको छ।
सोही क्रममा राप्रपा नेपालका केन्द्रिय अध्यक्ष कमल थापालाई वीरगंजमा बोलाएर एउटा सभाको आयोजना गरेका छन्। नरेशको द्वैध नागरिक तथा ऋण लगायतका विवादबारे जानकार पर्साका देशभक्त नागरिकहरू कार्यक्रममा आउने संभावना नदेखेपछि साहले “कमल थापा बैंकको ऋण मीनाहा गराउने अभियान लिएर आउन लागेका छन्, यसमा सहभागी हुने सबैको ऋण मिनहा गराईन्छ भन्ने प्रलोभन देखाएर गाउँका केहि सय महिलाहरूको भेला गराएर कमल थापाको कार्यक्रममा भीड़ देखाएको खबर पनि बहिरिएको छ। सोही सम्बन्धमा रेश खबरले पनि एउटा समाचार लेखेको छ।
खबरमा भनिएको छ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले नागरिकलाई झुक्याएर वीरगञ्जमा भीड जम्मा गरेको रहस्यको उजागर भएको छ ।वीरगञ्जको घण्टाघरमा आयोजित राप्रपा नेपालको बृहत आमसभामा आम जनता नआउने राप्रपा अध्यक्ष कमल थापाले छनक पाएपछि ‘फण्डा’ गरेर भीड जम्मा पार्न लगाएको कार्यक्रममा सहभागी एक नेताको आरोप छ ।
राप्रपा नेपालका अध्यक्ष थापाले कार्यक्रममा सहभागिता कम हुने भेउ पाएपछि कार्यकर्तालाई निर्देशन दिँदै भने,‘गाउँगाउँमा गएर महिला समूहमा आवद्ध रहेकालाई जानकरी गराउनुस, तपाईहरुले लिएको ऋण माफी गराइन्छ, तर त्यसको लागि कमल थापाको कार्यक्रममा सहभागी हुनुपर्छ । सहभागी भएकाहरुको सबैको ऋण माफी हुन्छ ।’
राप्रपा नेपाल पर्साका कार्यकर्ताहरुले अध्यक्ष थापाको यो संदेश सबैतिर प्रवाह गरेपछि कार्यक्रममा गाउँगाउँबाट महिलाहरुले सहभागिता जनाएका छन् ।
कार्यक्रममा सहभागी पर्सा सखुवा प्रसौनी गाउँँपालिका वडा नम्बर १ सथवलकी उमरावती देबीले आफूहरुले लिएको ऋण रकम माफी गराउँने भन्दै बोलाएर ल्याइएको बताइन् ।
उनलाई भनिएको छ–‘घण्टाघरमा आयोजित कार्यक्रममा सहभागिता जनाउँनेहरुको ऋण माफ गरिन्छ, त्यसकारण जोजोलाई ऋण माफी गराउँनुछ भन्ने कार्यक्रममा हिड्नुहोस ।’
यही आश्वासन पाएपछि सखुवाप्रसौनीकी उमरावती कार्यक्रम आइपुगेको बताइन् । उनीमात्रै होइन बहुदरमाइ नगरपालिको डोकैलाका पनि एक जना महिला (गोलिया) महिला समूहबाट लिएको ऋण मिनाहा गराउँने आश्वासन दिएपछि कार्यक्रममा आइपुगेको जनाइन् ।
तर उनले भनिन्,‘ कार्यक्रम आउँदा त्यो बारेमा कुरा नै भएन, हामीसंग झुट बोलियो । यहाँ त खाली पार्टीको कुरा भइरहेको छ ।’ त्यसकारण हामी निस्किन लागेको उनले बताइन् ।
घण्टाघरको आमसभामा सहभागी बीरगन्जको श्रीपुर निवासी सुवास चौहान पनि महिलाहरुलाई दिइएको आवश्वानबारे जानकार रहेको बताए ।
रेसखबरसंग कुरा गर्दै उनले भने,‘खासगरी गाउँघरका महिलाहरु आश्वासन दिएर बोलाइएको छ, त्यसकारण महिलाको बढी सहभागिता पनि छ । ऋण माफ गराउने आश्वासन दिइएको हो ।’ऋण मिनाहाको सवलामा राप्रपा नेपाल पर्साका अध्यक्ष नरेश साह कानुसंग रेसखबरले लिएको प्रतिक्रियामा उनले असहमति जनाएनन् ।
तर उनले भने,‘हो, हामीले भनेका थियौं–तपाइहरु आउनुहोस हामी ऋण माफी गराउँछौं, तर बैंकबाट होइन । आन्दोलन गरेर सरकारबाट माफी गराउने हामीले भनेकै हौं ।’ तर बाहिर भनिएका अरु कुराहरु भने सही नभएको पर्सा अध्यक्ष कानुको भनाइ छ ।
द्वैध नागरिकताको प्रमाण हेर्नुस