वीरगंज/वीरगंजको विर्तामा रहेको बलसुधार गृहमा झड़प हुँदा त्यहाँ भित्र रहेका दर्जन भन्दा बढी बाल कैदीबन्दीहरू घाईते भएका छन्।
स्रोतका सुधारगृह भित्र रहेका समूहहरू आपसमै झगड़ा गरेर बाहिर भाग्ने योजना बनाउन थालेपछि त्यहाँ भित्र तनाव बढ़दै गएर झड़पको अवस्था आइपुगेको हो। उनीनाराबाजी लगाउँदै तोडफोडमा उत्रेपछि मंगलबार साँझदेखि स्थिति तनावग्रस्त बनेको हो ।
केही दिन अघि भक्तपुरबाट ल्याइएका २३ जना बालकहरुले आफूहरु यहाँ बस्न नसक्ने भन्दै तत्काल अर्को सुधार केन्द्रमा लैजान स्थानीय प्रशासनलाई दवाव दिएका थिए । २३ जना बालकहरुले भक्तपुरको सुधार केन्द्रमा समेत बबाल गरेपछि वीरगंज ल्याइएको थियो ।
भक्तपुरबाट ल्याइएका बालसमूहको उक्साहटमा लागेर सुधार केन्द्र भित्र रहेका अन्यवालकहरुले समेत ढुंगा प्रहार गरेको प्रहरीको भनाई छ । घटनामा एकजना महिला प्रहरी घाइते भएकी छन् । उनको आँखा नजिक चोट लागेको छ ।
वीरगंज बालसुधार केन्द्रका प्रमुख टिका काफ्ले सुधारकेन्द्रमा रहेका बालकहरुले भित्रबाट इट्टा र ढुंगा प्रहार गरेको र सुधार केन्द्रको भवन तोडफोड गर्नेगरी आक्रमण गरिरहेकोले सुरक्षा दिन पर्साका प्रमुख जिल्ला अधिकारीलाई फोनबाट गुहार मागेका थिए ।
आज राति ८ बजेबाट नाराबाजीमा उत्रिएका उनीहरुले एक्कासी ढुंगा र इट्टा प्रहार गर्न थालेपछि स्थिती तनाव ग्रस्त बनेको हो । पर्साका प्रहरी उपरीक्षक कोमल शाहको नेतृत्वमा ठूलो संख्यामा रहेको प्रहरी टोलीले स्थिती नियन्त्रणमा लिने प्रयास गरिरहेको छ भने सशस्त्र प्रहरी बलको टोली समेत सो क्षेत्रमा पुगेर स्थितिलाई नियंत्रणमा लिने प्रयास भैरहेको छ ।
यो समाचार तयार पार्दासम्म अर्थात् राती ११.३० बजेसम्म त्यहाँ ९ जना जति घाईते बन्दीलाई उपचारको लागि अस्पताल पठाईएको भएपनि सुधारगृह परिसर भित्र प्रहरीलाई बन्दीहरुले प्रवेश गर्न दिइरहेका छैनन्, प्रहरी वा संचारकर्मी त्यहाँ भित्र प्रवेश गर्न खोज्दा सुधारगृहको छतबाट ढुंगा मुढ़ा ईंटा, सीसाका बोतल इत्यादिले प्रहार गरिरहेका छन् जसले गर्दा स्थिती तनावपूर्ण देखिएको छ ।
के कारणले बालसुधार केन्द्र भित्र रहेका बालकहरुले आन्दोलन गरेका हुन भन्ने कुरा अझै बाहिर आउन सकेको छैन ।
सो बाल सुधार गृहमा १३४ जना बालबन्दीहरू रहेको बुझिएको छ।
हेर्नुहोस् भिडियो