Wednesday, June 19, 2024
घरसमाचारअर्थवाणीअधिकृतको सरुवा गराएर सुन तस्करलाई नागरिकता

अधिकृतको सरुवा गराएर सुन तस्करलाई नागरिकता

– मातृका दाहाल

काठमाडौँ /सुन तस्करीमा संलग्न विदेशीलाई नेपाली नागरिकता जारी गर्ने अघिल्लो दिन जिल्ला प्रशासन कार्यालय काभ्रेले नागरिकता फाँटका प्रशासकीय अधिकृतलाई हटाएर ‘अनुकूल’ कर्मचारीलाई नयाँ नागरिकता जारी गर्ने जिम्मा दिएको भेटिएको छ । त्यसरी पठाइएका कर्मचारीमार्फत नै प्रशासनले सुन तस्करलाई वंशजका आधारमा नागरिकता दिइएको अनुसन्धानबाट खुलेको हो ।

काभ्रे प्रशासनले २०७४ पुस १९ मा नागरिकता फाँट हेर्ने प्रमुख प्रशासकीय अधिकृत सीताराम थापालाई नयाँ नागरिकता जारी र राहदानीसम्बन्धी कामबाट हटाएर झपेन्द्रराज खरेललाई पठाएको पाइएको हो । त्यसको भोलिपल्टै खरेलले तस्करीमा संलग्न २ विदेशीलाई फर्जी विवरणका आधारमा नागरिकता प्रमाणपत्र दिएका हुन् । त्यसबेला प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिंखडा थिए । त्यसअघि खरेल बिदामा रहेको पनि खुलेको छ । बिदामा रहेकै बेला सुन तस्करीमा संलग्न गिरोहसँग खरेलको साँठगाँठ भएको हुन सक्ने सुन तस्करी प्रकरणको अनुसन्धानमा संलग्न एक अधिकारी बताउँछन् ।

प्रजिअ सिंखडाले नै थापालाई हटाएर खरेललाई नागरिकता फाँट र राहदानीसम्बन्धी जिम्मा दिएका थिए । भोलिपल्ट पुस २० मा तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ र अर्का एक चिनियाँ तस्करलाई वंशजका आधारमा नागरिकता जारी भएको थियो । खरेल हाल सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा सूचना तथा गुनासो सुन्ने अधिकारी (अधिकृत सातौं तह) का रूपमा कार्यरत छन् । तस्करलाई नागरिकता दिने सेटिङमा काभ्रेकै तत्कालीन नासु (हाल यातायात कार्यालय काठमाडौं, ठूलो भर्‍याङमा अधिकृत/छैटौं तह) कार्यरत रामचन्द्र अर्याल पनि जोडिएका छन् । नागरिकता प्रतिलिपि फाँटका अर्याललाई नागरिकता जारी गर्ने फाँटमा खरेलसँगै लगिएको थियो । फर्जी विवरणका आधारमा बनाइएका दुवै नागरिकता विवरण नासु अर्यालले नै कम्प्युटर प्रणालीमा ‘इन्ट्री’ गराएका थिए ।

२०७३ देखि २०७५ सम्म काभ्रे प्रशासनमा रहेका उनी त्यसपछि धादिङको धुनीबेंसी नगरपालिकामा सरुवा भएका थिए ।

तस्करी प्रकरणमै अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेपाली नागरिकता र राहदानी लिने दावालाई पक्राउ गरिसकेको छ । नागरिकता लिने अर्का चिनियाँ फरार छन् । सुन तस्करीमा भारतमा पक्राउ परी सजाय काटेका तीन चिनियाँले पनि नेपाली राहदानी र नागरिकता दावा छिरिङ र दावाजिन वाङमार्फत नै पाएको बयान दिएका छन् । हाल प्रहरी नियन्त्रणमा रहेका तस्करका भरिया चिनियाँ नागरिक वेन ति सुङ ली, नेङ काइ ली, सेग फा लिङले क्रमशः छिरिङ लामा, सोनाम लामा र राम लामाका नामबाट नेपाली नागरिकता लिएका थिए । प्रहरीलाई दिएको बयानमा दावा छिरिङ (हाल पक्राउ) र दावाजिन (हाल फरार) ले आफूलाई नागरिकता र राहदानी बनेको भन्दै भारतबाट बोलाएको उल्लेख छ । तर, त्यसअघि नै दावाले निमा तामाङका नाममा ‘३०–०१–७४–११८६८’ र अर्का एक चिनियाँले पासाङ तामाङका नाममा ‘३०–०१–७४–११८६५’ नम्बरको नागरिकता लिएका थिए ।

त्यस दिन काभ्रे प्रशासनले खरेलको हस्ताक्षरमा ११८६० देखि ७१ सम्म ११ वटा नागरिकता जारी गरेकामा निमा र पासाङका नाममा जारी दुवै नागरिकतामा स्थायी ठेगाना नमोबुद्ध नगरपालिका–१, काभ्रे र बाबुको नाम पेमा तामाङ राखिएको छ । निमा र पासाङका नाममा सन् २०१८ जनवरी २५ (२०७४ माघ ११) मा राहदानीका लागि निवेदन दिएको देखिन्छ । निवेदन दिएकै दिन दुवैले त्यही दिन राहदानी लिएको अभिलेखमा देखिन्छ । पासाङको नाममा नेपाल प्रहरी र गृह मन्त्रालयका छुट्टाछुट्टै संयन्त्रले गरेको अनुसन्धानमा सुन तस्करका नाममा जारी दुईवटा नागरिकतामा स्थायी ठेगानामा पेमा तामाङ भन्ने व्यक्ति नै छैनन् । नागरिकता लिँदा पेस गर्नुपर्ने बाबुको नागरिकता विवरण पनि प्रशासनको ढड्डामा संलग्न छैन । नागरिकता जारी हुनुअघि दावा र पासाङलाई वडाध्यक्ष सरस्वती पण्डित कार्कीले सिफारिस गरेको देखिन्छ । प्रशासनबाट सनाखत गराउने रामचन्द्र अर्याल र जारी गर्नेमा झपेन्द्रराज खरेल उल्लेख छ ।

निमाका नाममा जारी नागरिकताको ढड्डामा सम्पर्क व्यक्ति अमला रोका मगर उल्लेख छ । अमला दावाकी पत्नी हुन् । तस्करीको धन्दा चलाउनकै लागि नेपालमा सेल्टर लिन दावाले अमलासँग विवाह गरेको हुन सक्ने अनुसन्धान स्रोत बताउँछ । स्रोतका अनुसार दावा र चिनियाँ गिरोहलाई नेपाली राहदानी र नागरिकता दिलाउन पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश, पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीकको समूह संलग्न रहेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीको दाबी छ । प्रतीक नक्कली भुटानी प्रकरणमा जोडिएपछि फरार छन् । पूर्वउपराष्ट्रपति पुनका छोरा दीपेशसँग सुन तस्करी प्रकरणमै सीआईबीले सोधपुछ गरिसकेको छ भने सुन तस्करी प्रकरणमै महराका छोरा राहुल सीआईबीको नियन्त्रणमा छन् । यी चारै जनाको चिनियाँ सुन तस्करसँग बाक्लो हिमचिम रहेको खुलिसकेको छ ।

निमाका नाममा जारी नागरिकताको औंठाछाप हाल सीआईबीको हिरासतमा रहेका दावासँग मेल खाँदैन । तर, त्यही नागरिकताका आधारमा निमाका नाममा जारी नेपाली राहदानीको औंठाछाप र दावाको औंठाछाप एउटै देखिन्छ । दुवै राहदानीको प्रयोगशालामा परीक्षण गराउँदा काभ्रेमा जारी नागरिकताको औंठाछाप दावासँग मेल खाएको छैन । तर राहदानीमा दुवै औंठाछाप एकै किसिमको देखिएकाले नागरिकता जारी गर्दा सुन तस्कर उपस्थित नभई प्रशासनले नागरिकता जारी गरेको देखिएको गृह मन्त्रालयका एक अधिकारीले बताए । यसले के स्पष्ट हुन्छ भने काभ्रे प्रशासनले दावा र अर्का चिनियाँलाई फर्जी कागजात र औंठाछापका आधारमा नागरिकता जारी गरेको छ । नागरिकतामा जैविक विवरण मेल नखाने तर हाल पक्राउ गरेका दावा र निमाको नाममा जारी राहदानीको औंठाछाप एकै व्यक्तिको रहनुले चिनियाँ तस्करलाई गोप्य रूपमा नागरिकता बनाएर दिएको ती अधिकारीको भनाइ छ ।

हङकङबाट ब्रेक सुमा लुकाएर ल्याएको ६१ केजी सुन प्रकरणमा पक्राउ परेपछि दावाले कसरी नेपाललाई सेल्टर बनाएर सुन तस्करी गरिरहेका छन् भन्ने तथ्य सतहमा आएको थियो । त्यसपछि गृह मन्त्रालयले सुन तस्करले नेपाली नागरिकता लिएको प्रकरणमा छानबिन गर्न उपसचिव कृष्णबहादुर कटुवालको संयोजकत्वमा समिति गठन गरेको थियो । समितिले पनि फर्जी विवरणका आधारमा दुई तस्करलाई काभ्रे प्रशासनले नागरिकता जारी गरेको भन्दै तत्कालीन प्रशासकीय अधिकृत (हाल सातौं तह) खरेल र नासु (हाल छैटौं तह/अधिकृत) अर्याललाई अनुसन्धान गरी कारबाहीका लागि सिफारिस गरेको छ । अनुसूचीमा विवरण उल्लेख नगरी नागरिकता जारी नहुने विषय दुवैले स्वीकार गरेका छन्, तर कसुरबाट उम्किन दुवै कर्मचारीले अरूबाट प्रक्रियागत रूपमा आएको फाइलअनुसार नागरिकतामा हस्ताक्षर र प्रणालीमा विवरण इन्ट्री गरिएको जिकिर छ । ‘अनुसूची तथा आवश्यक कागजातबिना कोही कसैलाई पनि नागरिकता दिइने गरेको छैन र उक्त समयमा पनि मबाट कुनै कागजातको अभावमा नागरिकताको सनाखतमा उल्लेखित झूटा विवरण पेस गरी नागरिकता दिइएको छैन,’ तत्कालीन नासु अर्यालले बयानमा भनेका छन् ।

२०७४ असारदेखि ०७५ जेठसम्म काभ्रे प्रशासनमा रहेका खरेलले आफूले जारी गरेका नागरिकता कानुनअनुसार रहेको जिकिर गरेका छन् । तर, अनुसूचीमा विवरण समावेश नगरी नागरिकता जारी भएकामा आफूभन्दा तलका कर्मचारीलाई पन्छाएर उनी उम्किन खोजेका छन् । बयानमा भनेका छन्, ‘मलाई दावा छिरिङका बारेमा केही थाहा छैन, नागरिकता दिने क्रममा मैले कानुनबमोजिमको कागजका आधारमा दिएको विषयमा प्रस्ट छु ।

आफ्नो अनुपस्थितिमा अर्का प्रशासकीय अधिकृत थापाले काम गर्ने जिम्मा थियो ।’ तर, खरेलले जारी गरेको नागरिकताको औंठाछाप र दावाको औंठाछाप नमिल्ने तर त्यही नागरिकताका आधारमा दावाले निमाका नाममा जारी राहदानीमा एकै व्यक्ति देखिनुले कर्मचारीकै मिलेमतोमा प्रशासनबाट नागरिकता जारी भएको स्पष्ट हुने गृह मन्त्रालयका एक अधिकारीको भनाइ छ ।

दुवै विदेशी नागरिकले फर्जी विवरणबाट बनाएका नागरिकता र राहदानी रद्द गर्न र हाल फरार रहेका चिनियाँलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउन सिफारिस गरिएको छ । सुन तस्करीमा संलग्न विदेशीलाई नागरिकता दिँदा अनुसूची नै गायब पारिएको विषयमा पनि थप अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न समितिले सिफारिस गरेको छ ।

समितिको सुझावअनुसार नै गृहले यो विषयमा प्रहरीमार्फत अनुसन्धान र अनुसूची नै गायब बनाएको विषयमा थप छानबिन गर्न काभ्रे प्रशासनलाई प्रतिवेदनसहित पत्राचार गरेको छ । तस्करलाई नागरिकता दिँदा प्रजिअ रहेका सिंखडामाथि भने अझै अनुसन्धान भएको छैन । पछिल्लो पटक गृह मन्त्रालयद्वारा गठित समितिले पनि सिंखडासँग सामान्य सोधपुछ नै नगरी प्रतिवेदन गृहमा बुझाएको हो । सुन तस्करी प्रकरणमा प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका अधिकृतसहित थप तीन कर्मचारीलाई पक्राउ गरेको छ । सीआईबीले शुक्रबार विमानस्थल भन्सारका अधिकृत पुष्पा जोशी तथा नासु कमल परियार र वीरेन्द्र नेपालीलाई पक्राउ गरेको हो । साभार: कान्तिपुर

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -