Saturday, November 9, 2024
घरक्राइम चेकएक ट्रक युरिया मल मिलेमतोमा बाटोबाटै गायब

एक ट्रक युरिया मल मिलेमतोमा बाटोबाटै गायब

काठमाडौँ । रौतहटको चन्द्रनिगाहपुरस्थित कृषि सामग्री कम्पनीको शाखा कार्यालयका लागि वीरगञ्जबाट ल्याउँदै गरेको एक ट्रक युरिया मल बाटोबाटै मिलोमतोमा गायब भएको पाइएको छ । घटनामा संलग्न रहेको आरोपमा बिहीबार थप ४ सहित ९ जनालाई पक्राउ गरेको छ । मल गायब गर्ने गिरोहको पहिचान सहित प्रहरीले खोजीको सूचीमा राखेको छ ।

वीरगञ्जबाट कृषि सामग्री कम्पनीले गएको साउन १४ गते अशोक विनायक ट्रान्सपोर्ट कम्पनी मार्फत ना ६ ख ९१९२ नम्बरको ट्रकमा लोड गरी पठाएको युरिया मल चन्द्रनिगाहपूरस्थित शाखा कार्यालयमा नपुग्दै गुजरा–२ स्थित मैराको जंगलबाट मिलोमतोमा गायब पारिएको इलाका प्रहरी चन्द्रनिगाहपुरका डीएसपी एकनारायण कोइरालाले बताए । ट्रक चालक २८ वर्षीय हरिकान्त पासवानले वीरगञ्जबाट पथलैया हुँदै चन्द्रनिगाहपुर ल्याउनुपर्ने ट्रकलाई हुलाकी सडक हुँदै मैराको जंगल पुर्‍याएका थिए ।त्यसपछि जंगल क्षेत्रमा ट्रक बिग्रिएको बहाना बनाई ट्रक खाली छाडेर सम्पर्कविहीन भएका थिए । साउन २६ गतेसम्म पनि सम्बन्धित ठाउँमा मल नपुगेपछि कृषि सामग्री कम्पनीले प्रहरीलाई खबर गरेको थियो । प्रहरीले सबैभन्दा पहिले ट्रकको खोजतलास गर्‍यो, डीएसपी कोइरालाका अनुसार घटनाको अनुसन्धान गर्दै जाँदा चन्द्रपुर–४ मा मल बोकेको ट्रक खाली अबस्थामा बरामद गरिएको थियो । त्यस लगत्तै प्रहरीले रौतहटको वृन्दावन नगरपालिका–६ कमलपट्टी घर भएका चालक पासवानलाई पक्राउ गरेको थियो ।

पासवानकै बयानको आधारमा गुजरा–२ बाट १ सय २ बोरा मलसहित दुई वटा ट्रयाक्टर नियन्त्रणमा लिइएको डीएसपी कोइरालाले बताए । प्रहरीले चन्द्रपुर–९ डुमरियाका लक्ष्मण चौधरीको घरबाट चोरी भएको युरिया मलमध्ये थप २५ बोरा फेला पारी मल ओसार्न प्रयोग भएको अनटेष्ट ट्रयाक्टर र चौधरीलाई नियन्त्रणमा लिएको छ ।सोही ठाउँका लक्ष्मण चौधरी पनि पक्राउ परेका छन् । गायब गरिएको मल ओसारपसारमा प्रयोग भएको अर्को ना ३ त २१८० नम्वरको ट्रयाक्टर बरामद गरी चालक छोटेलाल बैठालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गुजरा–२ कटानीका मुकेश महतोको घरबाट ७७ बोरा युरिया मल लुकाई राखेको अवस्थामा बरामद गरी महतो समेतलाई पक्राउ गरिएको छ । पक्राउ परेकालाई आपराधिक विश्वासघात र चोरी तथा डाकासम्बन्धी कसुरमा अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको कोइरालाले बताए । अनुसन्धानमा बाधा पुग्ने भन्दै पक्राउ परेका थप ४ जनाको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -