५० लाख फिरौती नदिएपछि अपहरित बालकको हत्या

0
सांकेतिक तस्वीर

वीरगंज । झण्डै एक महिना पहिले वीरगंजबाट अपहरणमा परेका एक बालकको हत्या गरि शव शौचालयको सेप्टी ट्यांकीमा फालिएको अवस्थामा आइतबार फेला परेको छ ।

वीरगंज महानगरपालिका वडा नम्बर २५ सिर्सिया खल्वा टोलका श्रीमान् पासवानका १५ वर्षिय छोरा नीरज पासवानको शव खल्वा टोलमै रहेको गुरुकुल पन्ना बोर्डिंग स्कुलको शौचालयको सेप्टी ट्यांकीबाट बरामद भएको हो ।

वीरगंजको मीना बजारमा मासु पसल सञ्चालन गर्दै आएका श्रीमान् पासवानका छोरा नीरज गत मंसिर ५ गते सम्पर्क विहिन भएका थिए । मंसिर ६ गते अभिभावकले वडा प्रहरी कार्यालय विर्तामा नीरजको खोजतलाशका लागि निवेदन दिएका थिए । त्यसको चार पाँच दिन पछि अपरिचित व्याक्तिहरुले बुबा श्रीमान पासवानलाई मोबाइलमा फोन गरेर ५० लाख रुपैया फिरौती माग गरेपछि नीरज अपहरणमा परेको खुलाशा भएको थियो ।

त्यसपछि नीरजका बुबा श्रीमान् पासवानले आफनो छोरा अपहरणमा परेको र अपहरणकारीले ५० लाख फिरौती मागेको जानकारी प्रहरीकोमा गराएका थिए । प्रहरीले नीरजको खोजतलाशका क्रममा अपहरणमा संलग्न रहेको आशंकामा एक हप्ता पहिले दुइ जना स्थानीयलाई नियन्त्रणमा लिएको थियो । तीनै दुवै जनाले दिएको बयानका क्रममा आइतबार प्रहरीले विद्यालयको शौचालयको सेप्टी ट्यांकी भित्रबाट नीरजको शव बरामद गरेको हो ।

प्रहरी हिरासतमा रहेका दुइ व्याक्तिको परिचय प्रहरीले नखुलाएपनि उनीहरु मध्ये पटेल थरका एक व्याक्ति र गुरुकुल पन्ना बोर्डिंग स्कुलका एक जना शिक्षक रहेको श्रोतले जनाएको छ । उनीहरुले नै फिरौतीका लागि नीरजको अपहरण गरेर हत्या गरि शव, सेप्टी ट्यांकीमा लुकाएर राखेको बताइएको छ ।

आइतबार अपरान्ह साढे ३ बजे प्रहरीको टोलीले विद्यालयको सेप्टी ट्यांकीमा उत्खनन् शुरु गरेको र साँझ ५.३० बजे नीरजको शव, घाँटी र खुुट्टा डोरीले बाँधेर फालिएको अवस्थामा सेप्टी ट्यांकी भित्र भेटिएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरिले जानकारी दिए । नीरजको हत्या गरि शव, सेप्टी ट्यांकी भित्र हालेर माथि माटो र बालुवाले पुरिएको अवस्थामा भेटिएको गिरिले बताए ।

प्रहरी नायब उपरिक्षक गिरिले घटनाामा संलग्न रहेको आशंकामा केहि व्याक्तिलाई नियन्त्रणमा लिएको र शंकास्पद अन्यको पनि प्रहरीले खोजी गरिरहेको बताए । उनले भने, ‘अपहरणकारीले ५० लाख फिरौती मागेर अभिभावकलाई फोन गरेका रहेछन्, त्यहि नपाएर हत्या गरेको हुन सक्छ, हामीले यस बारेमा अनुसन्धान गरिरहेका छौ ।”

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्