– डा. अरुणा उप्रेती
रोगसँग लड्ने शक्ति बढाउन हाम्रो घरमा पाक्ने दाल, भात, तरकारी अचार र विभिन्न स्वस्थकर खानाका अतिरिक्त स्थानीय फलफूल, जस्तो– अम्बा, अमला, सुन्तला, बिमिरो, हलुवावेद, अमिला फलहरू उपयुक्त हुन्छन् । ‘आजकल जाडोमा सुप खानुपर्छ’ भन्ने चलन चलेको छ । सुप खाने विदेशीहरूको राम्रो चलन हो । यस सन्दर्भमा हामी प्रायः के बिर्सिन्छौं भने, हाम्रो भान्सामा पाक्ने दाल, तरकारीको रस, गुन्द्रुकको झोल, तामा र बोडीको झोल पनि सुप नै हुन् । हामी रोटीसँग दाल, तरकारी खान्छौं । विदेशीहरू पाउरोटीसँग सुप खान्छन् ।
अस्ट्रेलियामा ‘पम्पकिन’ सुप भनेर उसिनेको फर्सी पानीमा हाली त्यसमा मखन र मरिच मिलाई खाने चलन छ । हामीकहाँ फर्सीको तरकारीमा भटमास, चना हाली घिउले झानेर भातसँग खाँदा पनि रोगसँग लड्ने शक्ति भएको खाना नै खाएको भन्ने बुझ्दा हुन्छ । पाकेको फर्सीको सुप त हाम्रै घरमा सजिलै बनाउन सकिन्छ । अहिले बजारमा विभिन्न थरीका प्याकेटको सुप पाइन्छन् । त्यस्तो सुपमा धेरै चिल्लो हुन्छ, रसायनहरू पनि धेरै हालेको हुन्छ । प्याकेटका सुप पकाएर चिसो भएपछि ८–१० घण्टा वा एक रात फ्रिजमा राखिदिनुस् अनि फ्रिजबाट निकालेर हेर्नुस्, कतिसम्म चिल्लो हालेको रहेछ भन्ने आफैँ देखिन्छ । वास्तवमा यसमा धेरै चिल्लो जमेको देखिन्छ । अध्ययनले भन्छ, त्यसरी धेरै चिल्लो पदार्थ भएको खाना प्रयोग गर्दा स्वाद त हुन्छ तर स्वास्थ्यमा समस्या पर्न सक्छ । यस्तो सुपको प्याकेट महँगो पनि हुन्छ ।
खाना चपाउन गाह्रो भएको व्यक्तिलाई पनि यो सुप खान सजिलो र स्वास्थ्यको लागि उत्तम हुन्छ । रुघाखोकी लागेर केही खान मन नलागेको बेला यो सुपमा अलिकति कागतीको रस हालेर अलि–अलि गर्दै पिउँदा पनि स्वस्थकर पोषण पाइन्छ । त्यसै गरी विभिन्न थरीका दाल, मास, गहत, चना, मुङ, मुसुरो आदि ६–७ घण्टा भिजाएर, त्यसलाई मिक्सरमा वा सिलौटामा मसिनो बनाई पिसेर कुकरमा सुप बनाए पनि हुन्छ । अथवा फलामको भाँडामा हालेर केही बेर पकाएर, स्वादअनुसार नून, हिङ, गरम मसला, कागती हालेर खान पनि सकिन्छ । यसरी सुप बनाउँदा मुला, गाजर, काउलीको पात पनि मसिनो गरेर हाल्न सकिन्छ । प्रायः पातहरू फालिन्छ तर यस्तो पातमा धेरै सूक्ष्म पोषण तत्वहरू हुन्छन् । यसको साथै पातमा भएको रेसादार पदार्थले पेटको स्वास्थ्य राम्रो राख्न ठूलो भूमिका खेल्छ । रोगसँग लड्ने शक्ति बढाउन ‘पेटको स्वास्थ्य’ को ठूलो महत्व छ । पेटको स्वास्थ्य राम्रो भन्नुको अर्थ खाना राम्रोसँग पच्नु, कब्जियत नहुनु हो ।
चाइनिजहरूले जाडो वा गर्मीमा खाने विशेष सुप ‘हटपट’ हुन्छ । त्यसमा सानो आँचमा विभिन्न तरकारीहरू हाल्दै, अलि–अलि झोल निकाल्दै खाने चलन छ । यसको लागि विशेष भाँडो प्रयोग गर्छन् । त्यसै गरी बर्मिजहरूले पनि खान्छन् । नेपालमा त्यस्तो ‘हटपट’ छैन तर पकाउँदा सानो आँचमा सुप बनाएर खाँदा खानेकुराको पोषण तत्व नष्ट हुन पाउँदैन । हामीले खिर पकाउँदा सानो आँचमा दूध र चामल भिजाएर पकाएपछि पाक्दाखेरि काजु, नरिवल हाल्दा पनि मीठो पौष्टिक खाना हुन्छ । यसले पनि जाडोमा तागत दिन्छ । यसरी विभिन्न थरीका सुप बनाएपछि स्वादअनुसार मसला, मरिच, टिमुर, जिम्बु, ज्वानो आदि हाल्न सकिन्छ । साथै हरियो धनियाँ, पुदिना, करिपत्ता, तुलसी त सुकाएर पनि प्रयोग गर्न सकिन्छ । यसरी यस्तो वनस्पति सुकाउँदाचाहिँ सीधै घाममा सुकाउनुहुँदैन भन्नेचाहिँ हेक्का राख्नुपर्छ । घाममा सुकाउँदा त्यस्ता वस्तुमा रहेको भिटामिन ‘ए’ कम हुन जान्छ । त्यसै गरी जाडोमा पाइने हरियो लसुन, प्याज, छ्यापी, बन्दा, सलगम आदिको पनि सुप बनाउन सजिलो छ ।
स्थानीय रुपमा पाइने कुनै पनि हरियो तरकारी, दाल, गेडागुडीको सजिलोसँग सुप बनाउन सकिन्छ । दाल र अन्न पकाउनुभन्दा अघि भिजाउनुपर्छ । यदि भिजाइएन भने दालमा भएका तत्वहरू पचाउन गाह्रो हुन्छ । यसले गर्दा छिटो पाक्ने त हुन्छ नै, साथै दाल पचाउन पनि सजिलो हुन्छ । साना बालबालिकाहरू दाल र हरियो तरकारी खान चाहँदैनन् । यस्तो बेलामा दाल वा हरियो तरकारी पिसेर खानामा हाल्न पनि सकिन्छ । यसले गर्दा शरीरमा प्रोटिन पुग्छ । यसरी जाडोको बेलामा खाइने यी सुप अन्य बेलामा पनि प्रयोग गर्न सकिन्छ । यसले परिवारका सबै सदस्यको स्वास्थ्य राम्रो पार्न सहयोग गर्छ ।