वीरगंज/ आगामी मंसिर ४ गते हुने प्रतिनिधि/प्रदेशसभाको निर्वाचनमा राजनीतिक दलका प्रतिनिधि सँगै विभिन्न पेशा र व्यवसायमा लागेका व्यक्तिहरू पनि उम्मेदवार बनेका छन्।
यसै अन्तर्गत पर्सा निर्वाचन क्षेत्र नम्बर ४ “ख” बाट प्रदेशसभा सदस्यमा यस्ता व्यक्तिले उम्मेदवारी दिएका छन् जसले विकास निर्माणको ठेकेदारी लिई गुणस्तरहीन काम गरेर राज्यको ढुकुटी सिध्याएर जनतामाथि अन्याय गरे।
प्रदेशसभा सदस्य समेत रहेका सिंगासन साह कलवारले राजनीतिक आड़मा ठेक्का पट्टा हथ्याएर सानो अवधिमै करोडौँको सम्पत्ति आर्जन गरेर यतिखेर फेरि पनि उम्मेदवार बनेर चुनाव जित्ने दाबी गर्दैछन् ।
राजनीतिक चरित्रको एक अंश पनि व्यवहार प्रदर्शन नगरेर हरेक काममा व्यक्तिगत लाभ मात्र देख्ने कलवार शुरुमा ५-१० लाखको पेटी कन्ट्रैक्ट मार्फत ठेक्का लिंदै आएका सिंहासन कलवार प्रदेशसभा सदस्य पदमा निर्वाचित भएपछि राजनीतिक आड़मा करीब सात अर्ब जतिको योजना हात पारेर पनि कमसल र गुणस्तरहीन काम गरेर जनता र राज्यलाई धोका दिरहेका छन्।
मुख्यमन्त्री स्वच्छता अभियानअन्तर्गतको पोखरी सौन्दर्यकरण कार्यक्रममध्ये मधेश प्रदेशका अधिकांश पोखरीको ठेक्का कलवारकै निर्माण कम्पनी रञ्जन निर्माण सेवाले पाएको स्रोतले जनाएको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीसँग निकटस्थ सम्बन्धका कारण कलवारले पोखरीसँगै अन्य मधेश प्रदेशका ठेक्काहरु पनि हात पारेका छन् । वीरगंजको मुर्ली पोखरी, नगवा पोखरी, छिपहरमाई पोखरी लगायत बारासहित मधेश प्रदेशमा रहेका अन्य जिल्लाका पोखरीहरुको ठेक्का पनि कलवारकै कम्पनीले पाएको छ ।
ठेक्का पाएपनि अधुरै काम छोड्नुका साथै अधिकांश स्थानमा कमशल एवं गुणस्तरहीन सामाग्रीको प्रयोग गरेर करोडौँ भ्रष्टाचार गरेको आरोप उनीमाथि जनताले लगाईरहेका छन्।
वीरगंजको मुर्लीमा रहेको पोखरीमा ठेकेदार कम्पनीकै लापरवाहीका कारण दुई जना बालकले अकालमै डुबेर ज्यान गुमाउनु परेको दुःखद घटना अहिले पनि वीरगंजवासीले बिर्सिन सकेका छैनन्।
सोही ठेक्कापट्टाकै कामबाट कलवारले वीरगञ्जको घरमा तलामाथि तला थप्दै ४ तला बनाएका छन् भने बारामा हुलास स्टिल नजिकै १३ कट्ठा जग्गा, वीरगञ्जको सेकेण्ड बाईपास (४० फिट) सडक नजिकै पनि जग्गा जोड्न सफल भएका छन् । उनले संघिय राजधानी काठमाण्डौमा पनि घर बनाएका छन् ।
ईन्जिनियर भगवान झामार्फत ६० प्रतिशतभन्दा बढी पोखरी सौन्दर्यकरणका ठेक्का कलवारले प्राप्त गरेका हुन् । कलवारले आफ्नो क्षेत्रको विकास र त्याहाँका जनताको जीवनस्तरमा सुधार गर्नुको साटो आफ्नै जीवनयापनमा सुधार गर्नुका साथै आफ्ना आसेपासेहरुलाई मात्रै हेरेको जनताको गुनासो छ ।
नेता बनेपछि त्यसकै बलमा ठेकेदारी गर्दा फाइदा हुने देखेपछि फेरी यसपटक पनि लाखौ खर्च गरेर नेतालाई रिझाएर टिकट हात पार्न उनी सफल भएका छन् । यसरी राजनीतिको ठेकेदारी गर्ने नेतालाई फेरी जनताले मत दिएर जिताउने मूडमा नरहेको चर्चा छ।