मोरङ – सुनसरीको इटहरीमा रोजगारी दिलाइदिने, विदेश भ्रमण गराइदिने बहाना गर्दै ठगी गरेको आरोपमा ६ जना पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय इटहरीका अनुसार ग्लोबल ओरियन्स नेपाल प्रालिको नाममा सर्वसाधारणलाई जागिर लगाइदिने बहानामा ठगी गरेका हुन्।
कम्पनीको सदस्य भएर काम गर्दा सातामा बढीमा १२ हजार रुपैयाँसम्म पाउने र देशविदेश घुम्न पाउने प्रलोभनमा सर्वसाधारणलाई फसाउँदै आएको प्रहरी कार्यालयका सूचना अधिकृत प्रहरी निरीक्षक भीमबहादुर खड्काले जानकारी दिए।
उनका अनुसार पक्राउ पर्नेमा मोरङ मिक्लाजुङ गाउँपालिकाकी सरिता राई, सुन्दरहरैंचा नगरपालिकाका सञ्जीव माझी, ग्रामथान गाउँपालिकाका विक्रम माझी, कटहरी गाउँपालिकाका पंकजकुमार साह, अरुण मुडियारी, र झापा बिर्तामोडका पदम राई छन्।
सर्वसाधारणबाट ठगी गरिरहेको भन्ने खबरसँगै प्रहरीले कम्पनीमा छापा मार्ने क्रममा ६ जनालाई पक्राउ गरिएको प्रहरी निरीक्षक खड्काले जानकारी दिए।
कम्पनी र पक्राउ परेका ६ जनाको कोठा छानबिन गर्दै गर्दा प्रहरीले कम्प्युटर, ल्यापटप, मोबाईल फोन, नागरिकतासहितको सम्झौता पत्र, कम्पनीको नामको टिकट, दुवई, सिंगापुर, बैंककका भ्रमण ब्यानर, ग्लोबल आइएमई बैंकको फ्रेम गरी राखिएको ३ वटा चेकलगायत बरामद गरेको छ।
त्यसैगरी, प्रहरीले ओरी कम्पनीका विभिन्न उत्पादनसमेत बरामद गरेको छ। पक्राउ परेका ६ जनाविरुद्ध सुनसरी जिल्ला अदालतले नेटवर्किङ ठगी मुद्दामा म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको छ।