मोरङ – अप्राकृतिक मैथुन मुद्दामा पक्राउ परेका गैरसरकारी संस्था महासंघ मोरङका अध्यक्ष राजेन्द्र ढकाल कारागार चलान भएका छन्।
जिल्ला अदालत मोरङले बुधबार एक आदेश दिँदै ५० वर्षीय ढकाललाई एक बालकमाथि अप्राकृतिक मैथुन गरेको मुद्दामा थुनामा राख्न आदेश दिएको हो।
अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले ढकाललाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो।
१२ वर्षीय एक बालकलाई अप्राकृतिक मैथुन गरेको आरोपमा ढकाललाई भदौ १६ प्रहरीले पक्राउ गरेको थियो।
विराटनगर १२ स्थित पीडित परिवारका सदस्यले ढकालविरुद्ध किटानी जाहेरी दिएपछि उनी पक्राउ परेका थिए।
प्रहरीले अनुसन्धान सकेर मिसिल बुझाएपछि सरकारी वकिल कार्यालयले अभियोगपत्र तयार पारेको थियो।
सोही क्रममा ढकाललाई प्रतिवादी बनाएर मंगलबार अदालतमा मुद्दा दायर भएको हो।
अदालतका सूचना अधिकारी बुढाथोकीका अनुसार पछि ठहरेबमोजिम हुने गरी तत्काल प्राप्त प्रमाणका आधारमा निज प्रतिवादीलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नू भन्ने आदेश भएको हो।
वादी नेपाल सरकार र प्रतिवादी पक्षका कानुन व्यवसायीबीचको थुनछेक बहस सकिएपछि ढकाललाई पुर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश दिएको उनले बताए।















