भाद्र २८ काठमाडौं । नेपालका तीन प्रमुख स्थानमा यही भाद्र २८ देखि असोज ४ गतेसम्मको लागि एक हप्ता लामो हिमालयन भीगन फेस्टिभल २०२२ शुरु भएको छ । लुम्बिनीमा भदौको २८ र २९ गते, यसै गरी ३०, ३१ र असोजको १ गते होटल सोल्टी कालीमाटी काठमाडौंमा र असोजको २, ३ एवं ४ गते होटल ग्राण्ड विराजचोक पोखरामा हुँदैछ । यस प्रकारको महोत्सव दक्षिण एशियामै पहिलो पटक हुन गइरहेको आयोजकहरूले बताएका छन् ।
विश्वमा बढ्दै गएको वातावरणीय प्रदुषण एवं ग्लोबल वार्मिङलाई कम गर्न, विश्वव्यापिरूपमा देखिएका क्यान्सरलगायतका असाध्य स्वास्थ्य समस्याहरूलाई निवारण गर्न, मानवमा देखिएको अमानवीय व्यवहारलाई निराकरण गर्न, विभिन्न खालका असन्तुलित र अप्राकृतिक तथा अव्यवहारिक गतिविधि आदिलाई समाधान गर्न भीगन (पूर्णशाकाहार) जीवन शैली अप्नाउनु पर्छ भन्ने निक्र्याल स्वास्थ्य विज्ञ, वैज्ञानिक, दार्शनिकलगायतका प्रबुद्ध वर्गको रहेको छ । भीगन जीवनशैली अप्नाउनेहरूको सँख्या विश्वव्यापि रूपमा बढ्दो क्रममा रहेको हुनाले विश्वव्यापी रूपमा बढ्दै गरेको यस प्रकारको जीवनशैलीको बारेमा नेपालमा पर्यटकीय संभावना पनि यथेष्ट रहनसक्ने भएकोले त्यसको बारेमा आमसर्वसाधारणलाई यसको बारेमा जानकारी दिने हेतुले यस प्रकारका महोत्सव उपर्युक्त महत्त्वपूर्ण तीन स्थानमा आयोजना गरिएको दि हिमालयन भीगन फेस्टिभल २०२२ का कार्यकारी अध्यक्ष विष्णुप्रसाद न्यौपानेले न्यूज टिमलाई बताउनु भयो ।
नेपालजस्तो हिमाल पहाड तराईको भुगोल मिलेर बनेको तथा अहिंसा सिद्धान्तका प्रतिपादक भगवान बुद्ध जन्मेको देशमा विशुद्ध शाकाहारी जीवनशैलीको बारेमा ज्ञान तथा जानकारी गराई अहिंसा, करुणा, प्रकृतिप्रेमी भावना अभिवृद्धि गर्ने हेतुले यस प्रकारको कार्यक्रमको आयोजना गरिएको महोत्सवका महासचिव जनरल अजित थापाको भनाई छ ।
फेस्टिभलमा दुईसय जति अन्तर्राष्ट्रिय ख्यातिप्राप्त प्रतिनिधि र सेलीब्रेटी वक्ताहरूको सहभागिता रहने बताइएको छ । यसै गरी ७५ भन्दा बढी सूचनामूलक प्रदर्शनीहरू, भीगन खानाका बिक्रीकक्षहरू, यसै गरी दुध, दही, चीज, केक आदिको वैकल्पिक कार्यशाला कक्षाहरू, भीगन विषयवस्तुमा आधारित चलचित्रहरू प्रदर्शनी आदिको साथमा अन्तर्क्रियात्मक कार्यशाला कक्षाहरू रहेको कार्यक्रम पत्रमा उल्लेख छ ।
फेस्टिभलको अर्को आकर्षक कार्यक्रम पाँच कि.मि. दुरीको म्याराथन पनि रहेको कार्यक्रमपत्रमा उल्लेख भएको देखिन्छ । यसै गरी योग एवं फिट्नेस क्रियाकलापहरू संलग्न गरिएको छ । बालक्रियाकलाप लगायत भीगनजीवन शैलीको बारेमा विभिन्न क्षेत्रमा भूमिका निर्वाह गर्ने मध्यबाट तीनजनालाई पुरस्कृत गरिने जस्ता कार्यक्रम रहेका छन् ।
आफूलगायत सबै प्राणी र प्रकृति पनि बच्नुपर्छ भन्ने मुख्य धारणा भेगनिष्टहरूको रहेको र यो भावनाको हर व्यक्तिमा विकास गराउनु सही मानवियता भएको बताउँछन् वल्र्ड भेगन अर्गानाइजेशन नेपालका अध्यक्ष सुरेश शर्मा ।
विश्वमा हाल ७ करोड ९० लाख भीगन जीवनशैली अपनाउनेहरू रहेको जानकारी दिँदै शान्ति तथा अहिंसाका दूत भगवान बुद्धको देश नेपालमा गर्न लागिएको दि हिमालयन भीगन फेस्टिभल २०२२ बाट संसारमा रहेका मानिसहरूलाई अबको जीवन शैली भनेको भीगन हो भन्ने सन्देश दिन खोजिएको फेस्टिभलका कार्यकारी अध्यक्ष विष्णुप्रसाद न्यौपानेले बताउनु भयो । सो महोत्सवलाई सम्बोधन गर्न भारतबाट अहिंसावादी नेतृ तथा भारतीय लोकसभाकी सदस्य मेनका गान्धी, अमेरिकाबाट डा. शैलेश राव, डा. जिशन अलि, ज्याक्री लोभास, जिनीफर ज्योर्जे लगायत, यसै गरी इण्डोनेशियाबाट डा. सुशान्तो लगायत, त्यसैगरी लण्डनबाट डा.लान सिंग्लेटन लगायत विश्वका विभिन्न मुलुकबाट धन्नै दुईसय जना विशिष्ट व्यक्तिहरूको आगमन भएको जानकारी पनि अध्यक्ष न्यौपानेले न्यूजटिमलाई दिनु भयो । आयोजकका अनुसार महोत्सवमा विज्ञहरूले भीगन जीवन शैलीको महत्त्व र यसको वैज्ञानिकताको बारेमा सहभागिहरूसँग आफ्नो ज्ञान शेयर गर्नेछन् ।
संसारमा मासुको लागि जसरी पशुपँक्षी पालिन्छ त्यसै गरी दुधको लागि पनि पालिन्छ । यसरी व्यवसायिक ढङ्गबाट पशुपँक्षी पाल्दा धेरै मासु उत्पादन गर्न खोज्ने, धेरै दुध उत्पादन गर्न खोज्ने हुँदा पशुपँक्षीको पालन कार्य अप्राकृतिक हुँदै गयो, निर्मम् भयो । पैसाको लागि कुनै पनि हदलाई मान्छेले उल्लङ्घन गर्न थाल्यो । फलस्वरूप अवधिभन्दा पहिला, साविकभन्दा बढी खोज्ने मान्छेमा दुर्बुद्धि आउन थाल्यो । जसले गर्दा ठूलाठूला पाश्र्व असरहरू हुन थाले । मानव समाजमा मानवता हराएर दानवता आयो । यही कारणले दिनप्रतिदिन विश्व तहसनहस हुँदै गइरहेको छ ।
कुनै प्राणीको बच्चालाई आफ्नो आमाको दुध खाने अधिकार हुन्छ । आफ्नो आमाको बाहेक अरुको दुध खानु भनेको अर्काको अधिकार खोस्नु हो अथवा कुनै आमाप्राणीको सन्तानलाई अन्याय गर्नु हो । तसर्थ दुग्धजन्य पदार्थको पनि सेवन नगरौं । र मांसजन्य भोजनको पनि परित्याग गरौं, जुन कार्यले विश्वमा अप्राकृतिक ढङ्गबाट पालिएका पशुपँक्षीको कारण भइरहेका ग्लोबल वार्मिङ्, रोगको महामारी, मान्छेमा आएको लोभानि पापानिको भावना र त्यसले सृजना गरेको दुष्परिणामलगायत यावत समस्यालाई समाधान गर्न सजिलो हुन्छ र असुरक्षित हुन्दै गएको पृथ्वी एवं विश्व वातावरण पनि सुरक्षित र स्वच्छ हुन थाल्दछ । यस प्रकारका सिद्धान्त तथा सन्देशको व्यवहारलाई भीगनिजम भनिएको छ ।
प्राचीन ऋषिहरूको जुन फलाहारी जीवन शैली थियो, वर्तमानको भीगनिजम त्यस्तै हो भन्न सकिन्छ । मान्छेले उम्रेको खाऊ, जन्मेको नखाऊ । अथवा अन्न, फलफूल, सागसब्जि खाऊ, प्राणी हत्या गरेर अरुलाई पीडा दिएर अर्काको प्राण लिएर बन्ने माछा मासु नखाऊ । बालककालमा आफ्नो आमाको दुध खाऊ, अर्काको आमाको दुध नखाऊ । अथवा अन्य प्राणीको बच्चाको अधिकार हनन् गरेर आउने दुध नखाऊ । सबै प्राणीलाई माया गर, सबैको बाच्ने अधिकार हनन् नगर बाँच्न देऊ । छोट्करीमा भन्नुपर्दा यही सिद्धान्त भीगनिजम हो । जिज्ञाशुले महोत्सवमा भाग लिएर थप ज्ञान प्राप्त गर्नसकिने अवसर प्रदान गर्दै सबैलाई सहभागी भइदिन आयोजकहरूले आव्हान गरेका छन् ।