काठमाडाैँ – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराबिरुद्धको महाभियोग सिफारिस समितिको बैठक मंगलबार बस्दैछ।
बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्नेछ। बैठकमा समितिले तयार गरेका प्रश्नहरूको बयान लिनेछ। जबराले आजकाे बैठकमा बाँकी ८ वटा प्रश्नको जवाफ दिनुपर्नेछ। समितिले उनलाई साेध्नकाा लागि कुल ४३ वटा प्रश्न तयार गरेकाे थियाे।
यसअघि समितिकाे बैठक आइतबार बसेकाे थियाे। यसपछि साेमबार बस्ने भनिए पनि राणाले हिजाे घरमा सोह्रश्राद्ध परेको समितिलाई जानकारी गराएपछि बाँकी बयान आज मंगलबार लिइने भएको हाे।
आइतबार बयान दिनेक्रममा राणाले सर्वोच्च अदालतको भवन ठेक्कामा तत्कालीन प्रधानमन्त्री र अर्थमन्त्रीलाई पनि मुछेका थिए ।
राणाले आइतबारकाे बयानमा पूर्वप्रधान्यायाधीश, न्यायाधीश र वरिष्ठ वकिलहरूलाई लाञ्छना लगाएका थिए। सर्वोच्चको भवन ठेक्का सदरबारे सोधिए प्रश्नकाे जवाफमा उनले त्यसलाई स्वीकार गरेका हुन्।
समितिको प्रश्नमा राणाले‘तत्कालीन प्रधानमन्त्री (केपी शर्मा ओली) र अर्थमन्त्री (विष्णु पौडेल)ले सहयोग पनि गर्नु भएको छ। तत्कालीन अर्थमन्त्री यहीँ हुनुहुन्छ, उहाँले सहयोग गरेका कारण सफल भएको हुँ’ ,भन्ने जवाफ दिएका छन्।
यस्तै, सत्ता गठबन्धनका नेताहरूले वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीलाई प्रधानन्यायाधीश बनाउने बाटो खोल्नका लागि राजीनामा दिने भए आफूमाथि लागेको महाअभियोग फिर्ता लिने आश्वासन दिइएको दाबी गरेका थिए।
समितिमा बयान दिँदै राणाले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल प्रचण्डको सन्देश बोकेर कांग्रेस नेतृ डिना उपाध्याय आफूसमक्ष आएको बताएका हुन्।
प्रतिनिधिसभाले साउन १५ मा राणाविरुद्धको महाअभियोगको प्रस्ताव समितिमा पठाउने निर्णय गरेको थियो।
सत्तारूढ दलले २१ आरोपसहित राणाविरुद्ध गएको फागुनमा महाभियोग प्रस्ताव संसदमा दर्ता गराएका थिए।
राणाले मन्त्रिपरिषद र संवैधानिक नियुक्तिमा भागबण्डा खोजेको, कार्यकारीसँग सौदाबाजी गरेको, आर्थिक राजनीतिक मुद्धामा बेञ्च सेटिङ गरेको, भ्रष्टाचार गरेको जस्ता आरोप छन्।