२०८२ जेष्ठ ४ गते, शनिबार २३:२१

अनुरोध

– प्रशान्त महासागर

जीवनलाई जन्मले होईन् कर्मले परिभाषित गर्छ । त्यसैले कर्मको चयन मृत्यु योग्य बनाउनुपर्छ । मृत्युमा घ्यु तेल कम लाग्ने सोच हुनुपर्छ । तर स्वार्थ सर्वोपरि हुने हुँदा जीवनलाई खिया लगाउने तत्व नै बढी जीवन आसपास मदारी रहेको हुन्छ । र फाइदा चुम्बक बनी टाँस्ने कार्यमै रुबरु भई रहन्छ जस्को कारण धर्म बिर्सी मुस्काउने कुरा ज्यादा हुनपुग्छ । यस्तो अवस्थामा पाप, पुण्य लाग्छ । कत्तिले त आत्माहत्यालाई पनि जीवन सम्झिने गर्छन् । नीति, न्यायमा कु क्रिया प्रमुख बन्न पुग्छ । सिद्धान्त बलात्कृतको लागि प्रतिपादन गर्दै लग्नेछ । र यी सब, जोड सम्पत्तिको लागि हुनेछ । पैसाको लागि नै जीवन हो भन्ने उर्दी जारी हुनपुग्छ ।

यस्तो परिस्थितिमा जीवन कठपुतली बनी नाच्न पुग्छ । दूरदराजमा बसि नचाउनेले मज्जाले नचाउँछन् । यसलाई हामीले यसरी पनि बुझ्न सकिन्छ कि हाम्रो कमि नै अरुको राज गर्ने मन्त्र बन्नु हो । हाम्रो आवश्यकता माग बन्नु पनि हो । र एकै शब्दमा आफुलाई वर्णन गर्नुपर्दा लोभी भ्रष्ट प्राणी, मनुष्य हो जस्ले जीवन बुझ्न कहिल्यै चाहेन् । फलत: जीवनमा काम के हो ? प्रश्न आफैसँग गर्न चाहेन् ।

जीवन जन्म पश्चात् विभिन्न तहमा रुपान्ततित हुन्छ । जसमध्येको मुख्य काल भनेको पापलाई पुण्य ठान्ने काल अहम् हो । यसमा हामीले कमाउन जे पनि गर्नुपर्छ वा गर्न सकिन्छ । ईमान बेच्न सकिन्छ मर्यादा तोड्न सकिन्छ त्यसमा पाप लाग्दैन् । अन्नको सराप लाग्दैन् तर्क दिनु हो । हुन त मान्छेसँग आफ्नै बुद्धि हुन्छ । त्यो सद्बुद्धिको लागि हो । सत्कर्मको लागि हो । सत्कर्म मृत्युको आगमन थाहा नपाउन हो । जीवन प्रफुल्लित बनाउन हो । त्यसैले कर्ममा गर्व गर्न सक्नुपर्छ । आफुले गर्दै गरेको कर्म अझ भनौं पाएको जिम्मेवारीमा ईमानदारिता थप्ने सम्पादन हुनुपर्छ । अफसोच मनुष्य जन्मको ईच्छाशक्ती कमाउन बढी केन्द्रित छन् ।

साम, दाम, दण्ड र भेदको उद्देश्य सम्पन्नता रह्यो । सद्बुद्धिले उत्पादन गर्ने सत्कर्म जायज भन्दा नि नाजायजमै दिलखुस भए । यो मनुष्य प्रवृत्ति होईन् । मृत्युलाई बदनाम बनाउने काम जीवनले बनाउनु हुन्न । बाँच्दा सोच्नुपर्ने यथार्थता त्यही हो जुन पूजा हो । आस्थाले सिकाउने प्रार्थना पनि त्यही हो । र पनि, हैट ! जागिरे जीवन-कालमा यहि काम गरेछु भन्न गाह्रो रहेछ । कहिले काँग्रेस आउने कहिले माओवादी हुँदाहुँदै आफ्नै आएपनि भनेको जति मात्र मान्नुपर्ने । स्वाभिमानी बनी बाँची मर्न नपाईने रहेछ । ठोकुवाको साथ मैले मेरो नगरमा यहि काम गरेछु भनी देखाउने के ? धन्न मैले स्थायी जागिर खाएनछु । खाएको भए अस्तित्व बन्धकी राख्नुपर्ने रहेछ । आफुलाई जोखी जोखी बेच्नुपर्ने रहेछ। गान्धारी बनी बाँच्नुपर्ने रहेछ । जीवनका चौरासी बेञ्जन परिकार जिब्रोमा प्लास्टिक लगाई भएका दाँत उखेलेर निल्नु पर्ने बाध्यतामा आफुलाई उन्नु पर्ने रहेछ । यो स्वार्थले नदेखाउने वास्तविकता हो ।

अन्तमा, जीवन आफ्नो मात्र होईन् आफुपछिका सन्तानहरुको स्वाभिमान पनि आफ्नै जीवन हो । मेरो बाजेले बिराएको सुधार्ने मेरो पनि मौका हो । मैले बिगारेको जिम्मा मेरो नातिनातिनाको पनि हो । बाँच्दा सम्झिनु पर्ने कुरा यहि हो । आफ्नो गाउँठाउँ शिर उठाई हिड्नु नै कर्मको प्रतिफल हो । हुन त सरकारी कर्मचारी भ्रष्ट हुन्छन् भन्छन् , खाने भात र जाने घाट बिर्सिएरै हो । जे जोड सबै छोड नै हो । अत: विशेष अनुरोध कीर्तिपुर नगरपालिकाका कर्मचारीहरुलाई जीवनकाल मैले यो गरें भन्ने सन्देश एउटा छोड्नु होला । स्वार्थले सहि लाग्ने तर व्यवहारमा गलत छ कि सोचेरै जागीरे जीवनबाट अवकाश लिऊ ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM