आतंककारीको हल्लामा विशेष प्रहरीको दुरुपयोग

0
12

काठमाडौं । बुधबार दिउँसो १ बजेर १० मिनेटमा मुम्बई उड्न तयार नेपाल एयरलाइन्सको न्यारोबडी ३२० जहाज यात्रु बोकेर धावन मार्गतिर जाँदै गर्दा नेपाल प्रहरीको एउटा टोली पुगेर त्यसलाई रोक्यो । त्रिभुवन विमानस्थलमा सुरक्षा गार्डले बोक्ने सञ्चार सेटबाटै त्यो विमानमा शंकास्पद व्यक्ति रहेकाले तत्कालै रोक्ने आदेश गएसँगै नेपाल प्रहरीका सादा पोशाकमा खटिएका प्रहरी तत्कालै पुगे ।

जिल्ला प्रहरी कार्यालय कैलालीले पठाएको सूचना अनुसार विमानस्थल प्रहरीलाई जहाजमा रहेका एकजना शंकास्पद व्यक्ति पक्राउ जिम्मेवारी आएको भएपनि नेपाल प्रहरीको विशेष व्यूरोको टोली नआउदासम्म शंकास्पद व्यक्तिलाई बाहिर निकाल्ने हिम्मत गरिएको । त्यसको कारण थियो– विमानमा आतंककारी रहेको जानकारी हुनु । ‘विमानस्थलमा आतंकारी रहेको जानकारी आयो तर विमानस्थल पुगेपछि मात्रै कैलाली प्रहरीले सुन व्यापारी भएको जानकारी दिइयो’, विशेष व्यूरोमा कार्यरत एक प्रहरी अधिकारीले भने ।

उनका अनुसार जहाजबाट श्रीमती मीना लामिछानेसहित मुम्बईतर्फ उड्न लागेका सुनचाँदी व्यवसायी सन्तोष लामिछाने प्रहरीको विशेष ब्यूरोको टोलीबाट पक्राउ गरिए । ‘आजको घट्नामा विशेष व्यूरोका प्रहरी परिचालन निकै त्रुटीपूर्ण छ, यसले प्रहरीको सूचना र अनुसन्धान गर्ने तहको मापन हुन्छ’, लामो समयदेखि विशेष व्यूरोमा कार्यरत प्रहरीले भने ।

उनका अनुसार सुनचाँदी व्यवशायी वा कुनै पनि व्यक्ति पक्राउ गर्ने जिम्मेवारी सम्बन्धित कार्यालयको हो तर बुधबार विशेष व्यूरोलाई गलत रुपले प्रयोग गर्न खोजियो ।

नेपाल प्रहरीका प्रवक्ता डीआईजी टेकप्रसाद राईले लामिछाने अन्य गतिविधिमा भन्दा भन्सार छलीको सुन किनबेचमा संलग्न व्यक्ति भएकाले कैलाली प्रहरीको सूचना अनुसार पक्राउ गरिएको बताए । हालका प्रहरी प्रवक्ता राई आफै पनि लामो समय विशेष व्यूरोमा बसेर काम गरेका अधिकारी हुन् । ‘विशेष व्यूरोका प्रहरीलाई त्यहाँ किन पठाइयो यो बारे मलाई थाह भएन’, उनले भने ।

सन्तोष श्रीमती मीनासहित उक्त जहाजमा मुम्बई जान तयार थिए । प्रहरीका अनुसार सुदूरपश्चिम सुनचाँदी व्यवसायी संघका सदस्यसमेत उनलाई अन्य आतंकवादी या शंकास्पद गतिविधिमा लागेको आधारमा पक्राउ गरिएको होइन । तर पनि विशेष व्यूरोको टोली किन त्यहाँ लगियो भन्नेबारेमा प्रहरीसँग कुनै जवाफ छैन । प्रहरीले यसअघिदेखि नै उनीहरुको कारोबारलाई लिएर शंकाको नजरले हेरिरहेको थियो ।

प्रहरीले यसअघिदेखि नै गरेको अनुसन्धानका आधारमा उनलाई पक्राउ गरेको हो । कैलाली प्रहरीमा परेको उजुरीकै आधारमा उनी जहाजभित्रबाट समातिएका हुन्। उनी ठगीमा संलग्न रहेको उजुरी पनि कैलाली प्रहरीमा दर्ता भएको थियो ।

कैलाली प्रहरीले विमानस्थल प्रहरीलाई स्पष्ट रुपमा ठगी आरोपीलाई पक्राउ गर्नुपर्ने सूचना दिएको थियो । ‘सामान्य घट्नामा पनि विशेष व्यूरोलाई परिचालन गर्नु गलत नजिर बसाल्नु हो यसले प्रहरीको सूचना प्रणालीलाई कमजोर बनाउछ’, प्रहरी प्रधानकार्यालयका एक अधिकारीले भने ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्