चन्द्रसूर्य समाचारदाता/
वीरगंज, १५ जेष्ठ । पर्साको वीरगंज लगायत सीमावर्ती क्षेत्रको प्रत्येक एक किलो मिटरको दूरीमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली अत्याधुनिक हतियारसहित खटिएका छन् ।
शान्ति सुरक्षा कायम गरी सीमावर्ती क्षेत्रमा हुने अवैध कृयाकलाप र राजश्व छलि गर्ने कार्यलाई नियन्त्रण गर्न खटाइएका यी दुबै प्रहरी संगठनका कर्मचारीहरु व्यवसायिक धर्म निर्वाह गर्नु भन्दा पैसा कमाउन तिर लागेपछि पर्सा जिल्ला यतिबेला तस्कर एवं अपराधीहरुको लागि सुरक्षित स्थल बन्न पुगेको विभिन्न घटनाक्रमले देखाएको छ ।
दुबै संगठनका प्रहरीहरुको व्यापक तैनाथगीका बावजुद यस क्षेत्रबाट दैनिक लाखौं मूल्य बराबरको राजश्व छलि तथा लागु औषध एवँ गाँजा लगायतका प्रतिबन्धित वस्तुहरुको ओसार पसार दिन गुना रात चौगुनाको गतिमा बढिरहेका छन् ।
वीरगंजको इनर्वा गाउँ, भन्सार, बाँसघारी, छपकैयाँ सिर्सिया क्षेत्रबाट त तस्करहरुले लाइन नै लिएर तस्करी गरिरहेका समाचारहरु सार्वजनिक भएकै छन् । यसैबीच विभिन्न नाकाबाट भन्सार राजश्व छली गरी नेपाल भित्र्याइएका करिब १७ लाख मूल्य बराबरका बिल बिजक भन्दा बढीका सामानहरु सशस्त्र प्रहरीले ट्रक सहित बरामद गरेको जनाएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेक्वा पर्साले दिएको जानकारी अनुसार १२ गते शुक्रवार राती करिब २२ः३०को समयमा वीरगंज-१५ स्थित प्रतिमा चोकमा स.प्र.बल नेपाल नं. १३ गण हे.क्वा. पर्साबाट खटिएको गाडि मोबाईल टोलीले बिल विजक भन्दा बढी माल सामान ल्याएको भन्ने विशेष सुचनाको आधारमा मुल्य रु. २५ लाख मूल्य बराबरको ना. २ ख. ८८३५ नम्बरको ट्रक र १७ लाख आठ हजार ९३ रुपैयाँ बराबरको ट्रकमा लोड भएको किराना सामान, हर्लिक्स, ड्राईफुड लगायत बिलमा उल्लेखित १२ आईटमका सामानहरु गरी ४२ लाख आठ हजार ९३ रुपैयाँ बराबरको ट्रक र सामानहरु नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाईएको जनाएको छ ।
त्यसैगरी आइतवार विहान अन्दाजी ८ः१५ बजेको समयमा वि.म.न.पा.-१६ ईनरुवा स्थित बि.ओ.पि. वीरगंजबाट खटिएको पैदल गस्ती टोलीले शंका लागी चेकजाँच गर्ने क्रममा नेपालबाट भारततर्फ पैदल जाँदै गरेको भारत बिहार वैशाली जिल्ला खजनपुरा शहबाजपुर पुरैना बल्भादार्पू वडा नं. १ बस्ने मोहमद विस्मिल्लाहको छोरा बर्ष ३३ को मोहमद अली हुसैनले बोकेको कालो झोलामा प्लाष्टिकले बेरेर लुकाई छिपाई लैजादै गरेको गाँजा फेला परेको हुदाँ निजलाई उक्त गाजाँ सहित नियन्त्रणमा लिई आवश्यक कारबाही प्रक्रियाको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाईएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।

स्थानीय तह चुनाव अघि रोकिएको तस्करीको लाइन सशस्त्र प्रहरी र नेपाल प्रहरीको सेटिङ्गमा पाउनेहरुमा पर्साको वीरगंज छपकैया नाकाबाट विवेक, हरिन्द्र र मास्टरलगायत नाम गरेका तस्करले कपड़ा तस्करीको लाइन पाएका छन् भने इनर्वा गाउँ नाकाबाट बाँसघारी हुँदै भन्सार छली गरी अवैध रुपमा कपडा हार्डवेयरलगायतका सामान भित्र्याउने लाइन अनिल भन्ने गजानन, शत्रुघ्न, जयलाल, शेखावत र संजयले लाईन पाएको समाचार श्रोतले जनाएको छ ।