Saturday, July 27, 2024
घरसमाचारराजनीतिवीरगंजका नवनिर्वाचित नगर प्रमुखलाई शुभकामना दिंदै निवर्तमान नगर प्रमुख सरावगीले के भने?

वीरगंजका नवनिर्वाचित नगर प्रमुखलाई शुभकामना दिंदै निवर्तमान नगर प्रमुख सरावगीले के भने?

वीरगंज, १० जेष्ठ /

वीरगंज महानगरपालिकाको नगर प्रमुखका नवनिर्वाचित राजेशमान सिंह, उपमेयर इम्तियाज आलम र महानगर परिषद सदस्यहरूलाई निवर्तमान नगर प्रमुख विजय कुमार सरावगीले शुभकामना एवं बधाई दिएका छन् ।

निवर्तमान नगर प्रमुख  सरावगीले आफ्नो फेसबुक वालमार्फत शुभकामना दिंदै भनेका छन्, ”

स्थानीय सरकार निर्माणको महाअभियान स्थानीय चुनावबाट वीरगञ्ज महानगरको प्रमुखमा निर्वाचित हुनु भएका श्री राजेशमान सिंह ज्यू र उपप्रमुख इम्तियाज आलम ज्यूलगायत सम्पूर्ण वडाध्यक्ष तथा नगर परिषद् सदस्य ज्यूहरूलाई हार्दिक बधाई तथा कार्यकाल सफलताको कामना व्यक्त गर्दछु ।

आवधिक निर्वाचनमार्फत जनताले चुनेका जनप्रतिनिधिबाट शासन सञ्चालनको प्रबन्ध लोकतन्त्रको सुन्दर पक्षमात्र होइन, मूल चरित्र हो । वीरगञ्जका मतदाताले स्थानीय चुनाव २०७९ मार्फत प्रकट गर्नुभएको अभिमतको म उच्च सम्मान गर्दछु । साथै संघीयता कार्यान्वयनको शुरुआति चरणमा २०७४ साल असोजमा भएको चुनावमार्फत मलाई करीब ५ वर्षसम्म नगरप्रमुखको रुपमा महानगर र यहाँहरूको सेवामा समर्पित हुने मौका दिनुभयो, त्यस निम्ति म पुनः अभार प्रकट चाहान्छु ।

हामीलाई थाहा छ, संघीयता कार्यान्वयनको पहिलो कार्यकाल मूलतः कानूनी पूर्वाधार निर्माणको समय थियो । महानरको सीमित स्रोत र साधनका बाबजुद हामीले विकास र परिवर्तनका अपेक्षाहरूको सम्बोधन खोज्नुपर्ने थियो । महानगर भौतिक, आर्थिक र सामाजिक विकासको गतिमा अघि बढ्दै गर्दा विश्वलाई नै कोरोना महामारीले बिथोल्यो । जसको दुष्चक्रबाट हामी पनि मुक्त रहन सकेनौं । यहाँहरूको साथ, सहयोग, समन्वय र धैर्यकै बलमा हामीले कोरोना नियन्त्रणमा देशमै नमूना काम गर्न सक्यौं । तहगत सरकार सञ्चालनको शुरूआति अन्योल, कानून तथा जनशक्ति अभाव र त्यसको व्यवस्थापन, कोरोना महामारीजस्ता कारणले सोचेजति गर्न नसकिए पनि यस असहज अवस्थाकै बीचमा वीरगञ्जमा विकास निर्माणका थुप्रै काम भएका छन् ।

अब वीरगञ्जको वृहत्तर विकासको आधार तयार भइसकेको छ । वीरगञ्ज विकासको तीव्र गतिमा दौडिन सक्ने अवस्थामा पुगेको छ । मैले महानगरको प्रमुखको रुपमा यहाँहरूको सेवामा समर्पित रहेर पाएको अनुभवलाई महानगरको सापेक्ष विकासमा उपयोग गर्ने उद्देश्यकासाथ पुनः तपाईहरूको बीचमा आएको थिएँ । आदरणीय नगरवासीले मतादेशमार्फत स्थापित गर्नुभएको नेतृत्व परिवर्तनको चाहानाप्रति म सम्मान व्यक्त गर्दछु ।

यो चुनावी महाअिभयानमा विभिन्न कठिनाइहरूलाई सामना गर्दै सक्रियतापूर्वक सहभागी हुनुभएका सम्पूर्ण वीरगञ्जवासी मतदाता, कर्मचारी, सुरक्षाकर्मीहरू, नेकपा एमालेका नेता तथा कार्यकर्ता, सहयोगी एवम् शुभेच्छुकहरूमा म कृतज्ञता प्रकट गर्न चाहान्छु । स्थानीय सरकारको रुपमा पहिलो कार्यकालमा महानगरले तयार पारेका विकासका आधारहरूलाई अबको नयाँ नेतृत्वले थप परिस्कृत र प्रभावकारी बनाउँदै लैजाने छ भन्ने मैले विश्वास लिएको छु, त्यस निम्ति मेरो शुभेच्छामात्र होइन, निरन्तर सहयोग रहने छ ।

यसअघि मलाई नगर प्रमुखमा जिताएर नगरको नेतृत्वको मौका प्रदान गर्नुहुने नगरवासी दिदीबहिनी दाजुभाई र सहयोगी सम्पूर्णमा त्यो साथ, समर्थन र सहयोगका निम्ति हार्दिक अभार प्रकट गर्दछु । चुनावी प्रतिस्पर्धा र यसको परिणाम जे जस्तो भए पनि नगरको विकास र समृद्धिको अभियानमा म सधैं यहाँहरुको साथमा रहने छु ।”

विजयकुमार सरावगी
निवर्तमान नगर प्रमुख
वीरगञ्ज

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -