Friday, March 29, 2024
घरसमाचारराजनीतिमहिला उम्मेदवारको खडेरी

महिला उम्मेदवारको खडेरी

– बिम्मी कालिन्दी शर्मा
स्थानीय निकायको चुनावमा महिलालाई उप (मेयर) को पदमा खडा गरेर सुप ख्वाउँथे तर यसपालि त्यो जिम्मेवारीबाट विभिन्न राजनीतिक दलहरु पन्छिएका छन् ।

बिचराहरुले आँखामा छारो हालेर धेरै नौटँकी गर्न पनि सक्दैनन् । त्यसैले उप सुपको पदमा महिलालाई नउठाउँदा हाइसन्चो भयो । अब पार्टीले टिकट नदिएपछि बागी उम्मेदवारको रुपमा स्वतन्त्र उठेका महिलाले यसको फाइदा उठाउनु पर्छ र मतदाताले यस्ता स्वतन्त्र रुपमा उठेका महिलाको गरीमाको सम्मान गर्ने मत दिन हिच्किचाउनु हुन्न ।

गत चुनावमा वीरगञ्ज महानगरपालिकाका लागि सबै राजनीतिक दलबाट मेयरमा पुरुष र उपमेयरमा महिलाको उम्मेदवारी परेको थियो । तर यसपालि पार्टीहरुले महिलाको अपमान गरेकाछन् उपमेयरको टिकट नदिएर । शायद महिला योग्य भएनन् होला या मेयरको पुरुष उम्मेदवार भन्दा महिला बढी योग्य भाकोले उपमेयरको सुप ख्वाउन गार्हो माने ।

कारण जेसुकै भए पनि मैदानमा खडा भएका स्वतन्त्र महिलालाई नै सबैले आफ्नो अमूल्य मत दिएर जिताउनु पर्छ । गत चुनावमा जस्तो आर्यघाट जाने उमेरकी महिलालाई जिताएर उपमेयरको पदलाई नै रोगी बनाउने जुन गल्ति मतदाताले गरेका थिए अब त्यो गल्ति पक्कै पनि दोहर्याउने छैनन् नै । जनताकै घरदैलोमा पुगेर दु:ख पीडामा साथ दिएका महिलालाई जिताउन सक्ने विवेक मतदातामा पलाओस भन्ने आशा छ ।

त्यसो त हर तरहले योग्य महिलालाई मेयरमा नभएर उप-मेयरको टिकट दिएर चुनावमा खडा गर्नु नै महिलाको अपमान हो । तर देशैभरि यही लहर चलेको छ । राजधानी काठमाण्डौंमा नेपाली काँग्रेसले श्रृजना सिंहलाई मेयरमा उठाएर त्यो हिम्मत गरेको छ । अब राजधानी काठमाण्डौंका सचेत मतदाताले पनि मेयरमा मत दिएर जिताउन सहयोग गरे यो हिम्मत सार्थक हुनेछ । तर उप-मेयरमा महिला उम्मेदवार नै उठाउनु पर्ने र जित्नु पर्ने विधानमा उल्लेख छ । त्यसैले उप-मेयरको पदमा चाहे पार्टीबाट हुन् या स्वतन्त्र महिलाका विरुद्घ महिला नै उठ्ने र जित्नै पर्ने छ । जित्न त कुनै एकजनाले नै जित्ने हो तर योग्य र अयोग्यले जित्दा कति फरक पर्छ त्यो त गत चुनावमा विरगञ्जेलीले थाहा पाइसकेका छन् ।

महिलाको नाममा सुकेको हाडछालालाई जिताउने हैन कि शिक्षित र हर तरहले योग्य महिलालाई जिताउने हो ताकि वीरगञ्जको विकासमा केही सहयोग पुगोस् । यसपालि स्वतन्त्रमा उठेका महिलाले विरगञ्जेलीलाई त्यो मौका दिएकाछन् । अब मतदानको रुपमा बल विरगञ्जेलीको पोल्टामा छ अब यिनले त्यसको सदुपयोग कति गरे ? त्यो त चुनावको मत परिणामले नै बताउने छ ।

चुनावको नाङ्लोबाट आफ्नो मत निफन्दा चामल फालेर कँकड बटुलेर राख्ने विरगञ्जेलीको पुरानो बानी हो । आफ्नो गल्तिले चामल फालेर ककँड जमा पार्दा पछि त्यही कँकड सडकको ढुगाँ भएर बिझाउँदै हामीलाई नै दु:ख दिने पनि हेक्का रहोस् । यसपालि यो रोगबाट मूक्त भएर विरगञ्जेलीले उप-मेयरमा स्वतन्त्र रुपमा उठेका महिलालाई जिताएर आफ्नो गिर्दै गएको विवेक र नैतिकताको साखलाई बचाउन सकुन भन्ने कामना छ । 💐

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

Most Popular

Recent Comments