“महिलाको सम्मान नगर्ने पुरुष नेता हुनै सक्दैन”

0
बिम्मी कालिन्दी शर्मा

– बिम्मी कालिन्दी शर्मा
कुरा २०६१ साल बैशाख महिनाको हो । म पत्रकारितामा नव प्रवेशी थिएँ र काठमाण्डौं महानगरपालिकाद्वारा सञ्चालित मेट्रो एफएममा काम गर्दै थिएँ । यो एफएमले काठमाण्डौं महानगरपालिकाको सबै गतिविधिको समाचार बजाउँथ्यो । त्यहीताका उक्त महानगरपालिकाको आन्तरिक बजेट छलफल सम्बन्धि कुनै बैठक थियो । मलाई जान भनियो तर म नयाँ भाकोले सोही एफएममा काम गर्ने यादव पाण्डे नामक एक व्यक्तिसँगै मलाई त्यहाँ पठाइयो । म पैलोपल्ट काठमाण्डौं महानगरपालिका भित्र छिर्दै थिएँ ।

भित्र ठूलो हलमा मिटिङ भैरहेको थियो । हामी सरासर भित्र गयौं र मेयर केशव स्थापितको ठीक अगाडि खालि रहेको कुर्सीमा बस्यौं । मेयर स्थापितको आँखा ममाथि पर्यो, उनी करीब त्यस मिटिङमा एक घण्टा बोले होलान् । त्यतिन्जेल उनको आँखा ममाथि नै गडेको थियो । नयाँ अनुहार देखेर उनी मलाई नै हेरिरहन्थे । म नयाँ थिएँ सँकोच मानिरहेको थिएँ र कापीमा केही टिपोट गरिरहेकी थिएँ । तर उनी बारम्बार मलाई नै हेरिरहन्थे । अचम्म लाग्यो एउटा मेयरको ब्यवहार देखेर तर म के गर्न सक्थें र ?

खैर एक घण्टा बित्यो, झमक्क साँझ परिसकेको थियो । सबै उठेर बाहिर आए । हामी पनि बाहिर आयौं । तर पनि स्थापितको आँखा मैतिर सोझिएका थिए । त्यति नै बेला झ्याप्प लाइन गयो । केही बेरपछि उनी बाहिर निस्के । तर उनलाई औडाहा भेरहेको थियो र मेरो बारेमा जान्ने खुल्दुली पनि । त्यसैले ढोकासम्म पुगेर उनी फरक्क फर्के र हामी उभिएको ठाउँ नजिक आएर मतिर हेर्दै यादव पाण्डेलाई सोधें ‘उँहा को हो’ ? पाण्डेले मेरो परिचय दिएपछि उनी आश्वस्त भएर फर्के । त्यो दिन मलाई थाहा भो उनी महिलाप्रति अलि बढी नै चाख राख्दा रहेछन् ।

महिलाप्रति आकर्षित हुनु या महिलाका बारेमा जान्ने उत्सुकता राख्नु नराम्रो कुरा हैन । तर कुनै पनि महिलाको बारेमा प्याच्च बोल्ने छूट कसैलाई छैन । भर्खरै उनले एउटा भिडियोमा कुनै महिलाप्रति लक्षित गर्दै भनेका छन ‘अनुहार त राम्रो छ तर थुतुनो राम्रो छैन’ । के महिलाको योग्यता भनेकै अनुहार र थुतुनो मात्र हो ? के उनले विवाह आफ्नी पत्नीको अनुहार र थुतुनो हेरेर गरेका हुन् ? के आफ्नै घरका महिलाप्रति पनि उनको यही राय छ ? यदि साँच्चै उनी यस्तै घटिया सोच र ब्यवहारका हुन भने काठमाण्डौं महानगरपालिकाको मेयर त के उनी पिउन पनि बन्ने लायक छैनन् । महिलाको नजरमा खसेको पुरुष कहिले पनि माथि उठ्न सक्दैन । त्यसैले कुनै पुरुष कस्तो चरित्र सोच र ब्यवहारको छ भन्ने जान्न परिवार या सार्वजनिक स्थलमा उसले महिला सँग गर्ने ब्यवहार र सम्मानले नै उसको व्यक्तित्व उदाङ्गो पार्दछ । एउटी महिलाले नै खुट्याएर भन्न सक्छिन की कुनै पुरुष कति भलादमी र निकृष्ट वा उत्कृष्ट छ भनेर । महिलाको सम्मान नगर्नेलाई नेता बन्ने कुनै अधिकार छैन ।

हेर्नुस भिडियो:

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्