बिचरी एक्ली महिला…

0

– बिम्मी शर्मा
समाजमा महिला एक्लो हुनु भनेको पुरुषहरुको गिद्ध दृष्टिबाट बच्न हम्मे हम्मे पर्नु हो । पुरुषहरुको मात्र हैन महिला पनि ती एक्ली महिलालाई सहयोग गर्नुको साटो बिचरीको सम्बोधनले सम्बोधित गर्दै अनेक लाञ्छना लगाउन पछि पर्दैनन् ।

कुनै महिला परिवार, समाज या देशमा किन एक्लो छन् ? तिनको कथा व्यथा सुन्न, बुझ्न र महसुस गर्न चाहन्दैनन् बरु ती एक्ली महिलालाई मानसिक रुपमा यातना दिएर शारीरिक रुपमा फाइदा लिनचाँहि चाहन्छन् । समाजमा महिला एक्ली हुनु भनेको खेतमा फालिएको सिनो झैं हो जसलाई मनुष्य नामका पुरुषहरु लुछेर आफु तृप्त हुन चाहन्छन् ।

महिलालाई एक्लै देख्ने बित्तिकै कर्के आँखाले हेर्ने, ती महिलासंग तीन पुस्ते प्रश्नावली सोध्ने र जब उनले दिएको उत्तरबाट ती महिला एक्ली, अनाथ, परित्यक्ता या बिधवा हुन् भन्ने प्रष्ट हुन्छ तब ती महिलालाई ठग्ने तिनीसंग नजिक बनेर तिनलाई मानसिक र शारीरिक रुपमा लुट्ने र भुट्ने खेल शुरु हुन्छ । यदि महिला सोझी छन्, ती पुरुषहरुले बिछाएको जालमा सजिलैसित परिन् भने पुरुषको मस्ती गर्ने बाटो खुल्छ । तर यदि महिला बाठी छन् पुरुषको इशारालाई बुझेर सावधान हुन्छिन् र उसको जालमा पर्दिनन् भने पुरुषलाई आफ्नो तिकडम आफैलाई भारी हुन्छ र उसले ती महिलासंग बदला लिने प्रयास गर्छ । अनि महिलाको बारेमा अनेक भ्रम र नकारात्मक कुरा प्रचार गर्ने र उसलाई आफु बसेको ठाउँबाट खेद्ने ।

जसरी बाटोमा हिंड्दा बजारमा काटेर, धोएर झुण््डयाएर राखेको कुखुरा देखेर मासाहारी प्राणीको मुखबाट पानी आउँछ , त्यसैगरि एक्ली र अनाथ महिला जसको यो दुनियामा कोही छैन । जोसंग एउटा सुन्दर तन र मन छ । ती महिला पुरुषको आँखामा छिट्टै चढ्छन् र पुरुषको भोको शरीर र अतृप्त मनले ती महिलालाई पाउन अनेक तिकडम गर्छ । ती महिलालाई घुम्न जाने अफर दिन्छन्, । यदि ती महिला मानिन् भने त ठिकै भो, यदि मानिनन् भने आफ्नो बैंक एकाउण्टमा रहेको पैसा र घर, जमिन ती महिलाको नाममा गरिदिने भनेर लोभ्याउँछन् । ती महिलालाई आफ्नो जालमा पारेर शरीरको क्षुधा मेट्न साम, दाम, दण्ड, भेद सबै अपनाउँछन् । तर पनि ती महिला मान्दिनन् र अन्तमा हात आउँछ बाबाजीको ठुल्लू ।

आखिर किन त यो समाज र पुरुषले महिलाले एक्लै बसेको, संघर्ष गरेर आफ्नो जीवन यापन गरेको देखि सहन्दैन ?

किन ती महिलाका लागि कुनै पुरुषको जोडी लगाइदिन दयालु अवतारमा प्रकट हुन्छ ? देश, समाज र परिवार अहिले पनि पितृसत्तात्मक छ । अहिले पनि पितृसत्तात्मक विचारले महिलालाई दोस्रो दर्जाको प्राणी र पुरुषको नाम, थर र गोत्रको पुच्छर लगाएर समाजमा परिचित भएको रत्यस वापत सम्मान पाएको देख्न चाहन्छ ।

यदि कुनै महिलाले कुनै कारवावश या आफ्नो स्वइच्छाले बिहा गरिनन् र आफै आत्मनिर्भर भएर बाँचन चाहिन् भने त्यो पितृसत्ताको अपमान र उसको लागि खुला चुनौती हो । अब पितृसत्ता यति बलियो त छैन कि त्यो चुनौतीलाई ठाडै स्विकारोस् । चोर बाटोबाट सबै काम गर्न खप्पिस यो पितृसत्ताले ती एक्ली महिलाको तेजोवध गर्ने अनेक प्रयास गर्छ । पैला उनलाई पागल भनेर बदनाम गर्छ, त्यसबाट पनि ती महिलारुपी दाल गलेन भने उनलाई चरित्रहीन भनेर अर्को वार गर्छ, त्यसबाट पनि केही हासिल भएन भने ती महिलाको नापजोख र किनबेच गर्न पनि लाज मान्दैन । पुरुष या पुरुष सत्ताको लागि कसाइले पसलमा बेच्न राखेको ब्रेइलर कुखुरा भन्दा कति पनि फरक छैन महिलाको शरीर ।

कुखुराको तात्तात्तो सुप पिएर जाडो भगाए जस्तै महिलाको शरीरको तातोले पुरुष आफ्नो भोक मेट्न चाहन्छ । त्यसैले जब कुनै महिलाले आफुलाई एउटा स्वतन्त्र व्यक्तिको रुपमा आफ्ना हरेक कार्य एक्लै गर्न सक्षम हुन्छन् । आफ्नो बिचार पनि निडर भएर समाज सामु राख्न थाल्छन् । पुरुषलाई कुनै महत्व दिदैंनन् वा आफ् लायक ठान्दैनन् तब ती पितृसत्ताका भरौटेहरुलाई महिलाको यो आत्मनिर्भरतादेखि हुनसम्मको रिष उठ्छ र ती महिलाको स्वाभिमानको मेरुदण्डलाई तोड्न हरेक प्रयत्न गर्छन् । महिलालाई घर परिवारको बोझ ठान्ने र त्यो बोझ उठाउन पुरुषहरु खुशी खुशी लालायित रहने मानसिकताले गर्दा महिला संधै पराश्रित र लहरे बिरुवा झैं भए जो पुरुष नामको थाँक्रो बिना अगाडि नै बढ्न सक्दैनन् भने सोचले पितृसत्ताका हिमायतीहरुलाई आफ्नो सत्ता जोगउन र अक्षुण राख्न धर्म र परम्पराको नाममा महिलामाथि अनेक नियमहरु लादिँदै गयो । तीजको व्रत, भाइटीका या रक्षाबन्धन तिनै परम्पराको निरन्तरता हो जसले पुरुष सत्तालाई अझै खँदिलो बनाउँदै लग्यो ।

अब बिस्तारै महिलाहरु शिक्षितर सबल हुँदै गए, आत्मसनर्भर भएपछि महिलामा जागरुकता आयो र उनीहरु आफ्नो जीवनसंग जोडिएका महत्वपूर्णृ निर्णयहरु आफै गर्न सक्षम हुँदै जानु भनेको पितृसत्तालाई नकार्नु हो । आफु या आफुले रचेको सत्ता कसैले पनि ओझेलमा परेको या मान्न छोडेको कसले टुलुटुलु हेरेर बस्न सक्छ र ? पुरुषसत्तालाई पनि त्यही औडाहा भैरहेको छ जसलेगर्दा महिलाको स्वतन्त्र चिन्तन, जीवनशैली र विचार पचाउन गार्हो भैरहेको छ ।

स्वतन्त्र र एक्ला महिला पुरुषसत्ता नामको मक्किदैँ गएको खाँबोको अगाडि उभिएको सिमेन्ट र फलामले निर्मित त्यो पिलर हो जसमाथि भविष्यको सुन्दर संरचना स्थापित हुनेछ । त्यससैले रिसाएको बिरालोले खाँबो चिथोरे झैँ पुरुषसत्ता र यसका मतियारहरु एक्ला महिलाले आफ्नो साम्थर््यले बनाएको त्यो पिलर हो जो यो पितृसत्ताका ढाडे बिरालाहरु नोच्न खोज्दैछ्न । आखिर पुरुषसत्ता भनेको दूध पिएर मोटाएको ढाडे बिरालो न हो ।

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्