काठमाण्डाै – वीरगंज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले मेयर सरावगीले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको राष्ट्रिय भावना र उहाँको विकासप्रतिको चाहनाबाट प्रेरित भएका कारण त्याे पार्टी राेजेकाे बताउनुभएकाे छ ।
सोमवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै मेयर सरावगीले यस्ताे बताउनुभएकाे हाे ।
उहाँले भन्नुभयो, ‘नयाँ पार्टी रोज्ने बेलामा मसँग दुई वटा विकल्प थिए । कांग्रेसमा जाने विकल्प अलिकति कमजोर किन भयो भने त्यहाँ पहिलादेखि नै भिड छ । त्यहाँ धेरै स्कोप नभएको हुनाले मैले एमाले राेजेँ । एमालेका अध्यक्ष केपी ओलीजीको राष्ट्रिय भावना र उहाँको विकासप्रतिकाे चाहनाबाट म प्रेरित भएँ । अब म एमालेको मेयर कहल्याउँछु र आउने दिनमा पनि एमालेबाट नै राजनीतिक यात्रालाई अगाडि बढाउँछु ।’
यस्तै मेयर सरावगीले जनता समाजवादी पार्टी छाेडेर नेकपा एमालेमा जाँदा पद पाउनका लागि कुनै सर्त नगरेकाे बताउनुभएकाे छ । पार्टीले आफ्नो काम र प्रस्तुति हेरेर जुन जिम्मेवारी दिन्छ, त्यही जिम्मेवारी लिने उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘मैले एमाले प्रवेश गर्दा निःशर्त गएको छु । अब पार्टीले मूल्याङ्कन गर्ने हो । मेरो काम, कारबाही कस्तो रह्यो, त्यहीअनुसार हुन्छ । उहाँहरूले मेयरमा भन्नुहुन्छ, मेयरमा जान्छु । अन्य कुनै पदमा भन्नुहुन्छ भने अन्य पदमा जान्छु । यसका लागि अहिलेदेखि नै मरिहत्ते गर्न मिल्दैन । पार्टीले छिट्टै यो विषयमा निर्णय गर्छ । पार्टीको आदेशअनुसार, पार्टीको टिकट अनुसार म अगाडि बढ्छु ।’
मेयर सरावगीले जनता समाजवादी पार्टीमा आफूमाथि दुर्व्यवहार हुने गरेकाले एमालेमा प्रवेश गरेको बताउनुभएको छ । मेयर सरावगीले आफूले जनता समाजवादी पार्टीलाई महानगरमा जिताएको भए पनि पार्टीभित्र दुर्व्यहार हुने गरेकाले पार्टी परित्याग गरी नेकपा एमाले प्रवेश गरेको बताउनुभयाे ।
उहाँले भन्नुभयो, ‘जनताले मलाई माया गरेर त्यति बेला मेयरमा चुनाव पनि जिताए । त्यसपछि पार्टीले मलाई जुन ढङ्गले व्यवहार गर्नुपर्थ्याे, त्याे गरे । दुई पटक मैले राजीनामा पनि दिए । राजीनामा दिँदा दिँदै पनि अध्यक्ष उपेन्द्र यादवजीले त्यति बेला मलाई रोक्ने प्रयास गर्नुभयो । म रोकिए पनि । तर लगातार मसँग दुर्व्यवहार हुने, सामाजिक रूपमा मलाई मानमर्दन गर्ने कामहरू भइराखेका थिए । त्यो कारणले गर्दा मैले नयाँ पार्टी रोजेँ ।’ उज्यालो अनलाइनबाट