मधेशवादी दलमा भागदौड़ मच्चियो, विजय सरावगी एमालेमा प्रवेश, राजेशमान घर न घाटका ?

0

चन्द्रसूर्य समाचारदाता/
वीरगंज/ मधेशवादी दलमा भागदौड़ मच्चिएको खबर सार्वजनिक हुन थालेका छन् ।

मधेशवाद र साम्प्रदायिक नारा लिएर शासन सत्ताको स्वादमा डुबेका मधेशवादी दलसँग आवद्ध नेताहरु केन्द्रिय अर्थात राष्ट्रिय राजनीतिक दलमा धमाधम प्रवेश गर्ने खबर सार्वजनिक भएसँगै मधेशवादी दलमा भागदौड़ मच्चिएको खबर पृष्टिएको हो ।

जनताको भावना एवं सम्वेदनशीलताको व्यापार गरेर मधेशवादी दलको नाममा पटक पटक सरकार र सत्तामा गएर पनि मधेशीको मुद्दा, समानता, विकास र आत्मनिर्भरताको सवालमा केहि गर्न नस्कदा तराई मधेशमा मधेशवादी दलहरू प्रति जनताको अविश्वास बढ्न थालेपछि आगामी दिनमा हुने तीनवटै तहको निर्वाचनमा परिणाम मधेशवादी दलको विपक्षमा आउने संकेत देखिएपछि मधेशवादको आवरणमा शासन सत्ताको स्वाद चाखिसकेका नेताहरू काँग्रेस र एमाले प्रवेश गर्न थालेका छन् ।

त्यत्ति मात्र नभई मधेश आन्दोलन र त्यसमा सर्वसाधारणको सहादतपछि नेता बनेका, पैसाको बलमा टिकट पाएर स्थानीय, प्रदेश र केन्द्रसम्मको चुनाव जितेर शासन सत्ताबाट मनग्य कमाई गरिसकेका व्यापारीक घरानाका विजय सरावगी, राजनीतिको आडमा विभिन्न कारोबार, ठेक्का पट्टा लगायत संचालन गर्ने राजेशमान सिंह श्रेष्ठ लगायतका व्यक्तिहरू एमाले प्रवेश गर्न तछाड मछाड गरिरहेका छन् ।

त्यस्तै मधेश केन्द्रित दलको आवरण भिरेर स्थापित भएका शिव पटेल, जनता समावाजवादी पार्टीको जिल्ला अध्यक्षको कमान सम्हालेका नेता रामनरेश यादव समेत नेकपा एमालेमा प्रवेश गर्ने लाइनमा बसेका छन् ।

पार्टी प्रवेशको लाइनमा नेता कार्यकर्ताहरुले अब सिद्धान्तको राजनितिक नेपालमा सकिएको प्रतिक्रिया दिने गरेका छन् । जहाँ गएर जित हासिल हुन सक्छ त्यसी गएर काम गर्नु पर्ने नेताहरुको भनाई छ । मधेशवादी नेताहरुको पहिलो रोजाईमा नेपाली कांग्रेस रहेको छ ।

नेपाली काँग्रेसमा ठाउँ नपाए नेकपा एमाले दोस्रो नम्बरको रोजाई रहेको देखिएको छ ।

नेपाल पोस्टले लेखेको एक समाचार अनुसार नेपाली काँग्रेसमा पार्टी प्रवेश गर्न चाहनेहरुको भिड रहेको भए पनि पार्टीमा काम गरी रहेकाहरुलाई टिकट दिने काँग्रेसको पहिलो प्राथमिकतामा रहेकोले पार्टी प्रवेश गर्ने बित्तिकै टिकट पक्का गर्ने पक्षमा हामी नरहेको नेपाली कांग्रेसका नेताहरुको भनाई छ ।

नेपाली काँग्रेसमा टिकटको लागि पहिला देखि नै काम गरी रहेका नेताहरुको भिड रहेको कारण दोस्रो नम्बरमा रहेको नेकपा एमाले प्रवेशमा अहिले होड देखिएको छ ।

नेकपा एमालेमा अन्य पार्टीबाट आउने नेताको क्रम बढे पछि पार्टी मजबुद भन्दा कमजोर हुने दिशामा गइरहेको भन्नेहरु पनि एमाले पार्टी भित्र छ । नयाँ नयाँ नेताहरुलाई पार्टी प्रवेश गराएर सिधै टिकट दिएर जिताए पार्टीमा अनुशासन हिनताको खतरा रहेको कतिपय नेताहरुको बुझाई छ । बाहिरबाट आएका नेताहरु पर्सा एमाले कब्जा गर्ने खतरा रहेको भन्नेहरु पनि एमाले पार्टीमा धेरै छन् ।

मधेशवादी भित्र देखिएको बिवाद तथा बैचारिक बिभेदका कारण अब मधेशवादी दलको भबिष्य संकटका परेको मधेश आन्दोलनमा सहभागी भएका नेताहरुको भनाई छ ।

नेकपा एमाले प्रवेश गर्ने नेताहरुमा वीरगंज महानगरपालिकाको मयेरको दावी सहित राजेशमान सिंह श्रेष्ठ लामो समयदेखि एमाले अध्यक्ष केपी ओली लगायतका नेताहरुको घरदैलो धाइरहेका छन् ।

त्यसैगरी लोसपाका नेता शिव पटेल, प्रमोद कुशवाहा,जसपाका पर्साका अध्यक्ष रामनरेश यादव, तथा वीरगंजका मेयर बिजय कुमार सरावगी लगायतको नेताहरु नेकपा एमालेमा प्रवेश गर्ने पक्का पक्की भइसकेको नेकपा एमाले निकट श्रोतले जनाएको छ ।

वीरगंजका मेयर सरावगीको नेतृत्वमा महानगरपालिकाको विभिन्न वडाहरु निर्वाचित १० जना वदाध्यक्षहरु समेत एमाले प्रवेश गर्ने तय भएको बताइन्छ ।

विजय सरावगी पार्टी र चुनाव जित्न करोडौं रुपैयाँ खर्च गर्न सक्ने पूंजीपति भएकोले एमालेमा प्रवेश गरेपछि उनको टिकट लगभग पक्का पक्की रहेको बताइन्छ ।
तर केहि दर्जन युवाहरुलाई हातमा राखेपछि नेता भइन्छ भन्ने सोंचका राजेशमान सिंह भनें सरावगी भन्दा झन्डै दुई महीना अघिदेखि एमाले अध्यक्ष ओली लगायतका नेताहरुको घरदैलो धाइरहेकोले मेयरको टिकट आफ्नो पोल्टामा पर्ने दाबी उनका कार्यकर्ताहरुमार्फत गराई रहेको पाइएको छ ।

एमालेबाट पूंजीपति विजय सरावगीले वीरगंज महानगरको टिकट पाउने हो भने मधेशवादी दलबाट निष्कासनमा परी एमाले रोजेका राजेशमान सिंह श्रेष्ठ घर न घाटको हुने संभावना बढ्दो छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्