काठमाडौं। स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा सरकारको नेतृत्व गरेको दल नेपाली कांग्रेसभित्र गठबन्धन गर्ने नगर्ने विषयमा विवाद चुलिएको छ। कांग्रेसभित्र गठबन्धन दलसँग समीकरण गरेर जानुपर्ने, एक्लै चुनावमा प्रतिस्पर्धा गर्नुपर्ने र चुनावी तालमेल सम्बन्धमा पार्टीको स्थानीय तहलाई नै अधिकार दिनुपर्ने गरी तीन धार देखिएका हुन्।
सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र कतिपय पदाधिकारी र केन्द्रीय सदस्यहरू वर्तमान गठबन्धनलाई आगामी चुनावमा पनि निरन्तरता दिनुपर्ने पक्षमा देखिएका छन्।
देउवाले अहिले गठबन्धनलाई कायम नगराख्ने हो भने २०७४ सालको निर्वाचनमा जस्तै कांग्रेसले पराजय व्यहार्नु पर्ने विश्लेषण गरेका छन्। अहिलेको गठबन्धनलाई कायम राख्दै स्थानीयदेखि प्रादेशिक र संघीय निर्वाचनमा पनि गठबन्धन नगर्ने हो भने कम्युनिष्टहरुको अर्को गठबन्धन बन्ने र कांग्रेसको हालत ०७४ सालको निर्वाचन जस्तै हुने देउवको बुझाइ छ। यसको संकेत देउवाले बिहीबार वीरगञ्जमा आयोजित एक कार्यक्रममा पनि गरे। उक्त कार्यक्रममा देउवाले तीनै तहको निर्वाचनमा गठबन्धन गरेर जानुपर्ने बताएका थिए।
तर केन्द्रीय सदस्य डा. शेखर कोइरालालगायत ठूलो संख्यामा नेताहरू कांग्रेसले एक्लै प्रतिस्पर्धा गर्नुपर्ने पक्षमा छन्। डा. कोइरालाले फागुन पहिलो साता गठबन्धनको एक घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेर कांग्रेसले चुनावी समीकरण नबनाउने बताउँदै आएका छन्।
पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा पनि डा.कोइरालाले लिखित रूपमै कांग्रेसको राजनीतिक आर्दशविपरीत अप्राकृति गठबन्धन गर्न नहुने धारणा राखिसकेका छन्। डा. कोइरालाको धारणामा महामन्त्री गगन थापालगायत पार्टीभित्र ठूलो पंक्ति सहमत देखिएको छ। कुनै पनि चुनावमा अन्य दलसँग तालमेल गरेर अर्को पार्टीको चुनाव चिन्हमा आफ्ना मतदातालाई भोट हाल्न लगाउनु हुँदैन भन्ने पार्टीभित्र निकै ठूलो मत छ।
कम्युनिष्ट पार्टी विभाजित बनेको, कम्युनिष्टलाई बहुमत दिएपनि सरकार चलाउन नसकेको भन्दै जनतामा कांग्रेसप्रति आकर्षण बढेको बेला कांग्रेस एक्लै बहुमत ल्याउने अवस्थामा गठबन्धन गर्न नहुने कोइराला पक्षधरको मत छ।
चुनावी तालमेल गर्ने नगर्ने विषय पेचिलो बन्दै गएपछि मध्यमार्गी धारणा पनि देखिएको छ । आगामी निर्वाचनमा समीकरण गर्ने वा नगर्ने विषयमा स्थानीय पार्टी समितिलाई नै अधिकार दिनुपर्ने यो धारको धारणा छ। स्थानीय समितिले नै परिस्थिति हेरेर समीकरण गर्दा वा नगर्दा पार्टीलाई फाइदा हुने र वर्तमान गठबन्धन जोगिने मात्र नभई समीकरणबारे कसैको गुनासो नरहने तेस्रो धारको जिकिर छ।
यो विकल्पमा पार्टी महामन्त्री गगन थापालगायत ठूलो संख्यामा नेता तथा कार्यकर्ताहरू सहमत देखिएका छन्। ‘उहाँमा (देउवा) मा वर्तमान गठबन्धनलाई कायम नराखे ०७४ सालमा जस्तो कांग्रेस विरुद्ध अर्को गठबन्धन हुन सक्छ भन्ने आशंका देखिन्छ,’ देउवा निकट एक नेताले भने, ‘गठबन्धन गरेपनि निश्चित ठाउँमा मात्रै गर्ने र गठबन्धनलाई इंगेज गर्ने उहाँको योजना हो। त्यसो गर्न सकियो भने गठबन्धन पनि कायम रहने र पार्टीलाई पनि फाइदा पुग्ने उहाँको विश्लेषण देखिन्छ।’
देउवालाई वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्री कृष्ण सिटौलालगायते साथ दिएका छन्। उनीहरु पनि वर्तमान गठबन्धन कायम राख्दै चुनावी तालमेल गर्नुपर्ने पक्षमा छन्।
डीसी नेपालबाट साभार