२०८२ असार २१ गते, शनिबार २२:१५

चीन द्वारा अघोषित नाकाबन्दी

 

काठमाडौं । नेपाल र चीनबीचको सम्झौताअनुसार यतिबेला ६ वटा नाका सञ्चालनमा आउनुपर्ने हो । तर, जसोतसो सञ्चालित दुई नाका ‘तातोपानी’ र ‘रसुवागढी’ पनि कहिले खुल्ने त कहिले बन्द हुने अवस्था छ ।
पछिल्लो समय तातोपानी नाका त बन्द प्रायः नै छ । अर्को नाका रसुवा (केरुङ) बाट पनि दैनिक पाँच÷सात कन्टेनरमात्र आयात भइरहेको छ । दुई मुलुकबीच सन् २०१६ मा पारवहन ढुवानी सम्झौता भएको थियो । त्यसलाई कार्यान्वयन गर्न सन् २०१९ को अप्रिल २९ तारिखमा नेपाल–चीन पारवहन ढुवानी प्रोटोकल भयो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार उक्त सम्झौतापछि ६ वटा नाकामार्फत नेपालले चीनसँग आयात—निर्यात कारोबार गर्न पाउने सुविधा प्राप्त गरेको थियो ।
तर, सिन्धुपाल्चोकस्थित तातोपानी कोदारी–जाङमु र रसुवास्थित केरुङ–रसुवागढीमार्फत मात्र व्यापारिक कारोबार हुँदै आएको छ । तातोपानी र रसुवागढी नाकाबाट पनि नेपालले चाहेअनुसार पर्याप्त मात्रामा द्विपक्षीय कारोबार भने गर्न पाएको छैन् ।
‘हामीले चीनसँग आर्थिक कारोबार गर्न हालसम्म ६ वटा नाका पाएका छौं’, उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयका एक अधिकारी भन्छन्, ‘तर, लामो समयदेखि तातोपानी र रसुवागढी नाका पनि व्यवस्थित रूपमा सञ्चालन हुन सकेको छैन् । यस्तो अवस्थामा अन्य नाकाबाट आर्थिक कारोबार गरौंला भनेर तत्कालै विश्वस्त हुने आधार छैन् । पूर्वाधार र सूचारु भएकै नाकामा त कहिले खुल्ने र कहिले बन्द हुने अवस्था छ । अन्य नाकाको कुरै नगरौं ।’
ती अधिकारीका अनुसार नाका सञ्चालन गर्न सरकारको पहल पुगेको छैन भने चीनले पनि चासो देखाएको छैन । यी नाका गुल्जार रूपमा सञ्चालनमा आउन अझै केही वर्ष कुर्नुपर्ने उनको ठम्याइ छ । चीनको सिगात्से जिल्लाअन्तर्गत जाङ्मु–तातोपानी, केरुङ–रसुवागढी र लिजी–नेचुङ् नाका पर्छन् ।
विभिन्न बहानामा अवरुद्ध हुँदै आएका तातोपानी र रसुवागढी नाका अहिले पनि करिब÷करिब ठप्प अवस्थामा छन् । चिनियाँ पक्षले कोभिड—१९ प्रोटोकलको बहानामा कुनै दिन पाँचदेखि आठ त कुनै दिन तीनदेखि ६ कन्टेनर सामानमात्र आयात गर्न दिएको छ ।
यसले गर्दा नेपाली उद्योगी र व्यापारी निकै अप्ठ्यारोमा परेका छन् । अर्बौको लगानी डुवेपछि नेपालका उद्योगी/व्यापारीले पछिल्लो दुई वर्षदेखि प्रधानमन्त्री, अर्थमन्त्री, उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री, परराष्ट्रमन्त्रीसहित सम्पूर्ण राजनीतिक दलका शिर्षस्थ नेतासम्मलाई हारगुहार गरिसकेका छन् । तर, हालसम्म पनि समस्या समाधान नभएको आयातकर्ता, उद्योगी र व्यापारीहरुको गुनासो छ ।
नेपालले चीनसँग आर्थिक कारोबार गर्न हालसम्म ६ वटा नाका पाएको छ । तर, लामो समयदेखि तातोपानी र रसुवागढी नाका पनि व्यवस्थित रूपमा सञ्चालन हुन सकेको छैन् । यस्तो अवस्थामा अन्य नाकाबाट आर्थिक कारोबार गरौंला भनेर तत्कालै विश्वस्त हुने आधार छैन् । पूर्वाधार र सूचारु भएकै नाकामा त कहिले खुल्ने र कहिले बन्द हुने अवस्था छ । अन्य नाकाको कुरै नगरौं ।
‘अब त भन्न र बोल्न पनि छाडिसक्यौं । भन्न पनि लाज लाग्न थाल्यो । चीन सरकारले अघोषित रुपमा लगाएको नाकावन्दीका कारण हामी नेपाली व्यवसायी त सडकमै पुगिसक्यौं,’ नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले भने, ‘हाम्रो समस्या समाधान गर्न सरकारले नै चासो देखाएनको छैन ।’ कोभिड सुरु हुनुअघि रसुवा नाकाबाट दैनिक एक सय र तातोपानीबाट भुकम्पअघिसम्म सोही संख्यामा कन्टेनरसहितको सामान आउने गरेकामा हाल तातोपानीबाट दैनिक पाँचदेखि सात र रसुवागढी नाकाबाट सातदेखि आठ कन्टेनर समानमात्र आइरहेको छ ।
नेपाल–चीन व्यापारका लागि तातोपानी मुख्य नाका हो । तर, विभिन्न बहानामा पटक–पटक अवरुद्ध भएपछि त्यसको विकल्पका रूपमा रसुवागढी नाका खुला गरिएको थियो । चीनसँग वार्षिक २० अर्ब रुपैयाँभन्दा बढीको आयात र तीन अर्ब मूल्यबराबरको मालसमान निर्यात हुँदै गरेकोमा पछिल्लो समय चीनतर्फको निर्यात शुन्य अवस्थामा पुगेको छ ।
नेपाल हिमालय सीमापार बाणिज्य संघका अध्यक्ष बच्चु पौडेलका अनुसार चीनको ति दुवै नाकामार्फत पर्याप्त मात्रामा कन्टेनर सडक मार्ग हुँदै आउन नपाउँदा नेपाली आयातकर्ता, उद्योगी र व्यापारीको अर्बौ लगानी डुबेको छ । पौडेलकै शब्दमा भन्नुपर्दा चीनले द्विपक्षीय व्यापारमा ‘अघोषित नाकावन्दी’ नै लगाएको छ ।
पौडेलका अनुसार औषतमा अहिले ति दुबै नाकामार्फत दैनिक आठदेखि १२ कन्टेनर सामान मात्रै आइरहेको छ । ‘चीनबाट सामान आउन त आउँछ तर, व्यापारीले चाहेको संख्यामा कन्टेनर समयमै आउन सकेको छैन’ उनी भन्छन् । चीनियाँ अधिकारीले कहिले भुकम्प, कहिले कोभिड त कहिले बिदाको बहाना झिकेर वैदेशिक व्यापारको बाटोमा अवरोध गर्दै आएका छन् ।
पौडेलका अनुसार २०७२ सालको वैशाखपछि चीनियाँ अधिकारीले ति दुवै नाकामा कडाई ग¥यो । कोभिड महामारी फैलिएसँगै चीनले द्विपक्षीय व्यापार सम्झौता विपरित पुनः ति दुवै नाका ठप्पप्रायः नै पारेका छन् । कहिले पूर्ण रुपमा बन्द गर्ने त कहिले केही खुकुलोे गरी नाका सुचारु गर्ने चीनको एक नीतिका कारण नेपाली व्यापारीको कारोबार ठप्पजस्तै बनेको छ । समस्या समाधानका लागि दर्जनौं पटक द्विपक्षीय रुपमा कुटनीतिक छलफल र बैठकहरु भए । तर, समस्याको समाधान भने अहिलेसम्म भएको छैन ।
ति दुवै नाकामार्फत सडक मार्ग हुँदै आउने मालसमानको कन्टेनर पर्याप्त मात्रामा आउन नसकेपछि भुकम्पको समयदेखि व्यापारीले बैकल्पिक बाटो चीनको ग्याञ्जो, संघाई, स्याङजेन, फुजाङ, बेइजिङस्थित सामुद्रिक मार्गबाट सामान आयात गर्न थाले । यो क्रम अहिले पनि जारि छ । ‘सामुद्रिक मार्गको प्रयोग गरी शिपमेन्टबाट सामान ल्याउन पनि निकै झण्झटिलो छ,’ पौडेलले भने, ‘तीन महिनाअघि बुक गरेको समान शिपमेन्टबाट कोलकात्ता बन्दरगाह हुँदै बीरगञ्ज वा विराटनगरसम्म ल्याउँदा झण्डै अढाई महिना लाग्छ ।’
तातोपानी नाका बन्दको अवस्था १. २०७२ वैशाखदेखि २०७६ जेठ १४ गतेसम्म (भुकम्पले पूर्वाधार क्षतिग्रस्त हुँदा बन्द) / २. २०७६ माघ १५ देखि २०७७ असार २७ गतेसम्म (कोभिड—१९ महामारीका कारण बन्द) / ३. २०७७ असारदेखि २०७७ कात्तिकसम्म (कहिले खुल्ने कहिले बन्द)
४. २०७७ माघ ७ देखि माघ २७ गतेसम्म (तातोपानीस्थित मितेरी पुलमर्मतका लागि बन्द) / ५. २०७७ माघ ३० देखि फागुन ८ गतेसम्म (पर्व मनाउन कामदार र कर्मचारी बिदामा बस्दा बन्द) / ६. हाल कोभिडसहित विभिन्न वहानामा कहिले खुल्ने कहिले बन्द हुने
निकै लामो समय लाग्ने भएकाले व्यापारीलाई चीनबाट सामान ल्याएर कारोबार गर्नु भनेको निल्नु न ओकल्नुजस्तै बनेको छ । ‘जाडोको सामान वर्षातको सिजनमा आइपुग्छ । गर्मिको सामान जाडो महिनामा आइपुग्छ । कति सामान त सडेको, मक्किएको, च्यातिएको अवस्थामा आइपुग्छ । यस्तो अवस्थामा कसरी व्यापार गर्नु ?,’ नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष कटुवालले भने, ‘चीनसँगको व्यापार हाम्रा लागि अभिश्रापजस्तै बन्योे ।’
गत असारमा लोड भएको मालसामान अहिले बल्ल कन्टेनरमार्फत आइरहेको कटुवालले जानकारी दिए । तातोपानी र रसुवा नाका हुँदै सडक मार्गबाट समान आयात गर्दा झण्डै २० देखि २५ दिन लाग्छ । कटुवालका अनुसार कोभिड अघिसम्म केरुङहुँदै रसुवा नाकाबाट दैनिक एक सयको संख्यामा सामानसहितको कन्टेनर आउँथ्यो । ‘पर्याप्त सामान समयमा नआएर व्यापार नहुँदा बैंकको ऋण तिर्न नसकेर व्यापारीहरु सडकमा पुगिसके,’ कटुवालले दुःखेसो पोखे ।
चीन र तिब्बत सरकार कोभिडप्रति बढी गम्भीर भएकाले आयात निर्यात प्रक्रिया असहज भएको मन्त्रालयका अधिकारीहरु बताउँछन् । चीनले शून्य कोभिडको नीति लिएर आयात निर्यात व्यापारमा कडाइ गरेको मन्त्रालयको दाबी छ । व्यापारी, उद्योगी र आयातकर्ताले चीनले वैदेशिक व्यापारका लागि हाल सञ्चालनमा रहेका तातोपानी र रसुवा नाकामा चीनले अघोषित नाकावन्दी गरी नेपाली व्यापारलाई धरासायी बनाएको आरोप लगाइरहँदा उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता डा. नारायणप्रसाद रेग्मीले भने ति दुवै नाकाबाट मज्जैले व्यापार भइरहेको दाबी गरेका छन् । ‘ति दुवै नाकाबाट मज्जाले समानसहित दैनिक १०–१२ वटा कन्टेनर आइरहेको छ । कुनै पनि नाका ठप्प छैन्,’ प्रवक्ता रेग्मीले भने, ‘त्योभन्दा बढी कति आउनु पर्यो । त्योभन्दा बढी आयात हुने सामान राख्ने क्षमता नै बन्दरगाहमा छैन् ।’

सुस्त गतिमा दुई नाकामा सुचारु

सन् २०१६ मा भएको नेपाल–चीनबीच पारवहन ढुवानी सम्झौता र उक्त सम्झौता कार्यान्वयन गर्न सन् २०१९ अप्रिल २९ तारिखमा भएको नेपाल–चीन पारवहन ढुवानी प्रोटोकल सम्झौता अनुसार नेपालले नेपालले चीनतर्फको ६ वटा नाकामार्फत पारवहन ढुवानी गर्न सक्ने व्यवस्था गरिएको छ । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार पारवहन प्रोटोकल सम्झौता (ट्राफिक इन ट्रान्जिट) अनुसार ६ वटा नाकामार्फत नेपालले चीनसँग आयात निर्यातसम्बन्धी कारोबार गर्न पाउने सुविधा प्राप्त गरेको छ ।
तर, हालसम्म सुस्त गतिमा दुईवटा नाकामार्फत मात्रै व्यापारिक कारोबार भइरहेको छ । कोभिड—१९ को महामारी फैलिएपछि चीनले झन पछिल्लो समयमा नेपालबाट चीनतर्फ हुँदै आएको निर्यातसम्बन्धी कारोबार ठप्पै पारेको छ ।
सम्झौता भएको ६ नाकामध्ये नेपालले हाल सिन्धुपाल्चोकस्थित तातोपानी (कोदारी)–जाङमु नाका र रसुवास्थित केरुङ–रसुवागढी नाकामार्फत व्यापारिक कारोबार गर्र्दैआएको छ । यो दुई नाकाबाट पनि नेपालले चाहेअनुसारको पर्याप्त द्विपक्षीय कारोबार भने गर्न पाएको छैन् । हाल सञ्चालनमा रहेका तातोपानी र रसुवागढी नाकासम्म दुई लेनको सडकमार्ग नहुँदा आयात निर्यातसम्बन्धी अवागमन गर्न निकै कठिनाई छ ।
यि दुई नाकाबाहेक नेपालले हुम्लास्थित यारी भञ्ज्याङ–पुराङ, मुस्ताङस्थित नेचुङ–लिजी, संखुवासभास्थित किमाथाँका–चेम्पाङ र ताप्लेजुङस्थित ओलाङचुङगोला–रियो नाका अझै प्रयोग गर्न पाएको छैन् । रसुवा, तातोपानी र यारी भञ्ज्याङ–पुराङ नाकामार्फत नेपालले चीनसँग द्विपक्षीय व्यापारसहित तेश्रो मुलुकसँग अन्तर्राष्ट्रिय व्यापारसमेत गर्न सक्ने सुविधा पाएको छ ।
यसैगरी नेचुङ, किमाथाँका र ओलाङचुङगोला नाकामार्फत नेपालले चीनसँग द्विपक्षीय ब्यापार गर्न पाउने सुविधा पाएको छ । ‘चीनसँग आर्थिक कारोबार गर्न हामीले हालसम्म ६ वटा नाका पाएका छौं,’ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका एक उच्च अधिकारी भन्छन्, ‘तर, लामो समयदेखि तातोपानी र रसुवागढी नाका त व्यवस्थित रुपमा सुचारु हुन नसकेको अवस्थामा अन्य नाकाबाट आर्थिक कारोबार गरौंला भनेर तत्कालै विश्वस्त हुन आवश्यक छैन ।’
ति अधिकारीका अनुसार नाका सञ्चालनका लागि सरकारबाट पनि भरपर्दो लबिङ नहुनु र चीनले पनि चासो नदेखाउनुले नाकाहरु गुलजार रुपमा सञ्चालनमा आउन अझै केही बर्ष कुर्नु पर्नेछ । चीनको सिगात्से जिल्लाअन्तर्गत जाङमु–तातोपानी, केरुङ–रसुवा र लिजी–नेचुङ नाका पर्छन् ।
बाकी नाकाको अवस्था

यारी भञ्ज्याङ–पुराङ नाकालाई हिल्सा नाकाको नामले पनि चिनिन्छ । यो नाका सञ्चालन गर्न नेपालतर्फ कर्णाली करिडरअन्तर्गतको सडक खण्ड, भौतिक पूर्वाधार र कर्मचारीको व्यवस्थापन हालसम्म भएको छैन् ।
चीनतर्फ भने भौतिक पूर्वाधारका साथै सडक सञ्जाल विस्तार भइसकेको छ । यो नाकाबाट व्यवसायिक रुपमा कारोबार नभए पनि स्थानीय तहका बासिन्दाहरु सानो परिमाणमा किनमेल गर्न ओदोर दोहोर गर्दैआएका छन् ।
यस्तै अवस्था छ, लिजी–नेचुङ नाकाको । यो नाकालाई पनि कोरला उपनामले चिनिन्छ । चीनतर्फ सडक मार्ग र भौतिक पूर्वाधार निर्माण भए पनि नेपालतर्फ सडक सञ्जाल नपुगेकाले यो नाका पनि सम्झौता भएर पनि व्यवसायिक रुपमा प्रयोग गर्न सकिएको छैन् ।
मुस्ताङ र चीनलाई जोड्ने व्यवस्थित नाकाको रुपमा यसलाई लिइए पनि अत्याधिक हिमपात र बाढी पहिरोका कारण यो नाका प्राकृतिक रुपमा त्यति सहज भने देखिएको छैन् । यो नाकामार्फत स्थानीय बासिन्दाले थोरबहुत किनमेल गर्दै आएका छन् । यो नाका उत्तरी छिमेकी मुलुक चीन र दक्षिणी छिमेकी मुलुक भारतको सुनौलीलाई जोड्ने सबैभन्दा छोटो दूरीभित्र पर्छ ।
व्यवसायिक रुपमा प्रयोगमा आउन नसकेको अर्को नाका हो, किमाथाँका–चेम्पाङ नाका । हालसम्म स्थानीय बासिन्दाहरु ओदोर÷दोहर गरी किनमेल गर्दै आएको यो नाकासम्म पुग्न पनि गोरेटो बाटो मात्रै बनेको छ । चीनतर्फ भौतिक पूर्वाधार र बाटो निर्माण भएपनि नेपालतर्फ भने सुस्त गतिमा भौतिक पूर्वाधारको काम भइरहेकाले यो नाका पनि प्रयोगमा आउन सकेको छैन ।
नेपालतर्फ दुई÷तीन खण्डमा सडक विस्तार भइरहेको र १७ किलोमिटर खण्डमा उच्च पहाड भएकाले सडक खन्न कठिनाई भएको उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयको भनाई छ । उच्च न्युनतम तापक्रमका कारण यो नाकामार्फत अनुकुल मौसममा मात्रै व्यापार मात्रै गर्न सकिन्छ । केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उनले उक्त नाका सकेसम्म चाँडै सञ्चालनमा ल्याउन सरकारी अधिकारीलाई निर्देशन दिएका थिए । यो नाका प्रयोग गरी तीन सय ५० किलोमिटरको दूरी पार गरी बिराटनगर पुग्न सकिने भएकाले प्रदेश १ र मधेश प्रदेशका लागि यो नाका आर्थिक र व्यापारिक रुपमा महत्वपूर्ण हुनसक्छ । यो नाका नेपाल हुँदै चीन र भारतलाई जोड्ने अर्को सबैभन्दा छोटो दूरीको प्रस्तावित मार्गको रुपमा रहेको छ ।
यसैगरी रियो–ओलाङचुङगोला नाका पनि स्थानीयस्तरमा ससाना हाटबजार सञ्चालन गर्ने, दुवै मुलुकका बासिन्दा अनौपचारिक रुपमा ओहोरदोहोर गरी किनमेल गर्ने नाकाको रुपमा मात्रै सिमित बनेको छ । यो मार्गबाट चौरीमार्फत ससानो परिमाणमा व्यापार भइरहेको छ । यो नाकाको चीनतर्फ भौतिक पूर्वाधारको काम सकिएपनि नेपालतर्फ भने सडक मार्गको काम पनि सुरु भएको छैन् ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM