Saturday, December 7, 2024
घरसमाचारराजनीतिकाँग्रेस पर्साको अध्यक्षमा निर्वाचित जनार्दन सिंह क्षेत्रीले के भने ?

काँग्रेस पर्साको अध्यक्षमा निर्वाचित जनार्दन सिंह क्षेत्रीले के भने ?

चन्द्रसूर्य समाचारदाता/

वीरगंज, २० फाल्गुण/ नेपाली काँग्रेस पर्साको हालै सम्पन्न अधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित जनार्दन सिंह क्षेत्रीले मन छुने वक्तव्य सार्वजनिक गरेका छन् । फेसबुक मार्फ़त उनले सार्वजनिक गरेको वक्तव्य जस्ताको त्यस्तै…!

नेपाली कांग्रेसको विचार र सिद्धान्तप्रति आस्थावान अग्रज, समकक्षी एवम् युवा साथीहरू, जय नेपाल !

म लगायत मैले नेतृत्व गरेको टीमका उम्मेदवारलाई पर्सा जिल्ला कार्य समितिमा निर्वाचित गर्नुभएकोमा यहाँहरूलाई हृदयदेखि नै धन्यवाद व्यक्त गर्दछु। साथै, हामीप्रति यहाँहरूले राख्नुभएको विश्वासलाई जिम्मेवारी निर्वाहमार्फत सम्मान व्यक्त गर्ने प्रण पनि गर्दछु।

लोकतान्त्रिक मान्यताअनुसार हाम्रो संगठनको नेतृत्व चयन गर्ने एउटा उपाय मात्र हो निर्वाचन। जहाँ एकसे एक क्षमता भएका साथीहरू नेतृत्ववहन गर्ने जिम्मेवारी प्राप्तिका लागि आफूलाई प्रतिस्पर्धामा उभ्याउनुहुन्छ। लोकतन्त्रको सौन्दर्य पनि हो यो। निर्वाचन प्रक्रियामा जाँदा कोही अगाडि त कोही पछाडि अवश्य हुन्छ। तर यसको मतलब अगाडि हुने सर्वस्व र पछाडि हुने केही होइन भन्ने हुँदैन। दुबैको महत्व संगठनका लागि उत्तिकै रहन्छ।

हिजो हामी छुट्टाछुट्टै समूह बनाएर निर्वाचनमा होमियौं। प्रतिनिधिहरूलाई पनि एउटा समूह चुन्नुपर्ने बाध्यता बन्यो। जुन स्वभाविक प्रक्रिया पनि हो। अधिकांश प्रतिनिधिले विश्वास गरेका उम्मेदवारहरू विजयी भयौं। उल्लेख्य मत ल्याएर पनि कयौं साथीहरू निर्वाचन नियमका कारण कार्यसमितिमा समेटिन सक्नुभएन। तर मलाई विश्वास छ, आउँदा दिनहरूमा हामी संगठनका खातिर एकै ठाउँमा समेटिने छौं।

चुनावमा आपसमा प्रतिद्वन्दी भएपनि अबका दिनमा हामी सम्पूर्ण उम्मेदवार सहकर्मी हौं। नेतृत्व चयनका लागि समूहगतरूपमा निर्वाचन प्रक्रियामा गएपनि त्यसपछि भने एकताबद्ध हुने नेपाली कांग्रेसको संस्कार हो। यो संस्कारलाई पर्सेली कांग्रेसले पनि शीरोधार्य गर्नेछ।

विभिन्न कालखण्डमा नेपाली कांग्रेसको नेतृत्वमा भएका क्रान्ति/आन्दोलन र संघर्षबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्नुपर्ने जिम्मेवारी हाम्रै हो। २०७२ सालमा संविधान निर्माणमार्फत प्रबन्ध गरिएका लोकतान्त्रिक व्यवस्थामाथि कांग्रेस कमजोर भएकैले अलोकतान्त्रिक शक्तिहरूबाट प्रहार भइरहेको विषयमा हामी सबै जानकार नै छौं। अहिले पुरातनवादी र उग्र कम्युनिष्टहरूले अख्तियार गरेको बाटो मुलुकलाई निरंकुशतातर्फ धकेल्न उद्धत देखिएको छ। यस्तो बेलामा नेपाली कांग्रेस बलियो र एकताबद्ध हुनु अपरिहार्य छ।

यसअघिको स्वेच्छाचारी र तानाशाही सरकार बदलेर पनि नेपाली कांग्रेसले मुलुकलाई ठूलो दुर्घटनामा जानबाट जोगाएको हो। तथापि चुनौतीहरू अझैं टरिसकेका छैनन्। विपक्षीहरू एकपछि अर्को बखेडा झिकेर अझैंपनि शासन प्रणाली कमजोर बनाउने प्रपञ्च रचिरहेका छन्। त्यसैले यस्ता प्रहार र प्रपञ्चहरू निस्तेज पार्न नेपाली कांग्रेसको आन्तरिक एकता र सुदृढ संगठन अहिलेको आवश्यकता हो। हामी सबै यसमा प्रतिबद्ध रहौं।

पर्सा जिल्ला अधिवेशन सफल बनाउन साथ र सहयोग दिनुहुने सबैप्रति हार्दिक आभार। जय नेपाल !

अघिल्लो लेखमा
अर्को लेखमा
अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -