Sunday, July 21, 2024
घरसमाचारसानो पाइला १६ औं वर्षमा प्रवेश

सानो पाइला १६ औं वर्षमा प्रवेश

चन्द्रसूर्य प्रतिनिधि/
वीरगंज, २३ मंसिर/ समाज रुपान्तरणको पवित्र लक्ष्यसहित स्थापित सानो पाइला नामक गैर सरकारी संस्थाले आफ्नो १५ औँ वार्षिकोत्सव मनाएको छ ।

बिहीवार एक समारोहबीच मनाइएको सो वार्षिकोत्सवको अवसरमा प्रमुख अतिथिको आसनबाट बोल्नु हुँदै वरिष्ठ राजनीतिक विश्लेषक एवं पत्रकार चन्द्रकिशोर झाले सानो पाइलाले समाज रुपान्तरको लागि कुलतमा लागेका युवाहरुलाई सही बाटोमा ल्याउने कार्य आफैंमा चुनौतीपूर्ण रहेको बताउनु भयो ।

उहाँले सानो पाइलाले गरिरहेका काम र उसले कामका दौरानमा भोग्दै आएका कथाहरूबाट आफूलाई उर्जा प्राप्त भइरहेको बताउनु भयो । कुनै पनि संघ संस्थाले वार्षिकउत्सव मनाउनु भनेको आफूले गर्ने कामको आत्ममूल्यांकन एवं समालोचना गर्ने अवसर भएको बताउनु हुँदै वरिष्ठ पत्रकार झाले सानो पाइलाले सार्वजनिक रूपमा वार्षिकोत्सव मनाएर समुदायमाआफ्नो परीक्षण गराएर विश्वास जितेको रूपमा आफूले लिएको पनि उहाँको भनाइ थियो ।

उहाँले अहिले धेरै संघसंस्थाहरूलाई डलरबादीको आरोप लागिरहँदा सानो पाइलाले आफूलाई त्यसबाट मुक्त राख्न सक्नु पनि प्रशंसनीय कार्य भएको बताउनु भयो । गलत बाटोमा लागेका युवालाई सकारात्मक बाटोमा लगाउने अनि हिंसामा लागेका युवालाई अहिंसाको मार्गमा हिंडाउन सानो पाईलाले गरिरहेको प्रयास साहसिक भएको बताउनु हुँदै उहाँले वीरगंज शिक्षा, साहित्य र क्रान्तिको पनि परिचय भएको स्मरण गराउँदै त्यसतर्फ पनि थप काम गर्न सुझाव दिनु भयो ।

त्यसैगरी सानो पाइलाका संस्थापक अध्यक्ष कंचन झाले समुदायको निर्माण नगरी राष्ट्रको निर्माण गर्न नसकिने बताउनु भयो । उहाँले समुदाय र राष्ट्र निर्माणकोलागि हामीमा शाहस, वुद्धि विवेकसँगै होस् अनिवार्य कुरा रहेको बताउनु भयो । १५ वर्षअघि देखेको सामुदायिक सशक्तिकरण र समतामुलक समाजको सपना केहीहदसम्म पूरा गर्न सकेकोमा खुशी व्यक्त गर्नु हुँदै संस्थापक अध्यक्ष झाले आफूहरूले सीमान्तकृत वर्गलाई ध्यानमा राखेर नै योजना तथा कार्यक्रम बनाउने गरेको पनि झाले बताउनु भयो । वीरगगंजवासीकै साथ र सहयोगले सानो पाइला गतिशील भइरहेको बताउनु हुँदै संस्एथापक अध्यक्ष झाले पहिलो वर्ष डेढ लाख रूपैयाँ बजेटमा काम गरेको संस्थाले हालसम्म झन्डै २५ करोड रूपैयाँ समुदायको विकासकालागि खर्च गरिसकेको पनि जानकारी दिनुभयो ।

ठूला राष्ट्रिय/अन्तर्राष्ट्रिय दाताभन्दा सामान्य व्यक्ति र संस्थाहरूको आर्थिक सहयोगबाट सानो पाईला चलिरहेको पनि झाले बताउनुभयो । झाकाअनुसार नेपालकै मजदुरदेखि विदेशका उदार मन भएका व्यक्तिहरूको सहयोगबाट संस्थाले दीर्घजीवन पाएको हो । सानो पाइलालाई यहाँसम्म ल्याइ पुर्याउन सघाउने प्रहरी–प्रशासन, सामुदायिक अगुवा, राजनीतिज्ञ, पत्रकार र समाजसेवीहरूलाई झाले धन्यवाद पनि दिनु भएको थियो ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले तराई मधेशमा घरेलु हिंसा र पहाडी भेगमा लागु औषध दुर्व्यसन जटिल समस्याको रुपमा देखा परेको बताउनु भयो । प्रहरी नायब उपरीक्षक खनालले देशमा बेरोजगारीको समस्या र वैदेशिक रोजगारीका कारण पनि अनेकौं घरेलु तथा सामाजिक हिंसाका घटनाहरु दिनदिनै बढ्दै जानु दुःखद विषय भएको बताउनु भयो । उनले  सानो पाइला परिवर्तन र समाज सुधारको पक्षमा अघि बढेको आफूले महसुस गरेको बताउनु भएको थियो । उहाँले सानो पाइलाले लागु औषध कारोबार र दुर्व्यसन नियन्त्रणमा थप काम गर्नुपर्ने सुझाव दिनु भयो ।

सानो पाइलाकी संस्थापक सदस्य डा. सुषमा तिवारीले  शाहस, धैर्य र समय अनुकूल सचेत युवाहरुको जमात मिलेर संचालन गरिरहेको सानो पाइलाले १५ वर्षदेखि समाजमा रहेका हरेक पाटोलाई कभर अप गर्ने प्रयास गर्दै आइरहेको स्मरण गराउनु भयो । उहाँले यति हुँदा हुँदै पनि समाजमा अझै पनि महिलालाई हेर्ने दृष्टिकोण र विभिन्न खाले हिंसा र विभेदको शिकार भएका महिलाहरुको लागि अझै धेरै काम गर्न बाँकी नै रहेकाे बताउनु भयो ।

यतिखेर तराईमा महिलाहरुले घरेलु हिंसा, सम्बन्ध विच्छेदका दर, सम्पत्तिका विवादलगायतका महिलाहरुसँग अनेकौं  समस्याहरु छन्, यस्ता समस्या लिएर प्रहरी, न्यायालय लगायतमा जाँदा पनि कतैबाट न्यायको अनुभूति पाउन नसकिने अवस्था रहेको देखिएको बताउनु हुँदै डा. तिवारीले भाषणमा मात्र होइन, समाजको हरेक तह तप्काले व्यवहारमा महिलालाई खुशी बनाउने, सक्षम बनाउन सक्यौं भने हाम्रो समाजलाई सुसंस्कृत बनाउन महिलाले ठूलो योगदान दिन सक्ने दाबी गर्नु भयो । घरदेखि नै महिलालाई सशस्क्त बनाउन सक्यौं भने हाम्रो समाज पक्कै पनि राम्रो बन्ने छ । तर मधेशी समाजलाई यसै बदनाम छौँ  र मधेशी समाजमा खासगरी एकदम पीडित, अनपढ, गर्न नसक्ने महिलाको अनुहार देखाउने चलन छ, त्यस्तै राजनीतिक क्षेत्रमा पनि त्यस्तै अनुहार देखाउने चलन छ । तर वास्तवमा मधेशी समाजमा त्यस्ता धेरै सक्षाम महिलाहरु छन् जसले समाजलाई सकारात्मक दिशातर्फ डोर्याउन सक्ने क्षमता राख्छन् । जो सक्षम छैनन् तिनलाई हामीले सक्षम बनाउन सक्नु पर्छ भन्नु भयो ।

सानो पाइलाका कार्यक्रम तथा सेवा प्रमुख रौनकराज सर्राफले संस्थाको प्रगतिविवरण पेश गर्नुभएको थियो । जसअनुसार सानो पाइलाले गएको पन्ध्र वर्षमा २०५१ जना कुलतमा लागेका युवालाई समाजमा पुनर्स्थापित गरेको छ । साढे सात सय युवालाई प्रशिक्षित गरेर समुदायमा परिचालन गरेको छ । त्यस्तै २२ जना बालबालिकालाई ‘सानो घर’ मा राखेर शिक्षा-दीक्षा दिइरहेको छ ।

संस्थाले हिंसा र शोषणमा परेका तीन सय ९९ जनाबालबालिकालाई भारत लगायत अन्य मुलुकहरुबाट उद्धार समेत गरेको छ । २ सय ९७ बालबालिकालाई हालसम्म छात्रवृत्ति दिएको छ। भुकम्पका बेला एक सय २६ घर र एक स्कुल निर्माण गरेको छ । ५४ स्वास्थ्य शिविर संचालन गरेर करिब ६ हजार जनालाई स्वास्थ्य सेवाउपलब्ध गराएको छ। दैविप्रकोपले अप्ठेरोमा परेका करिब १ लाख २० हजार जनालाई राहत वितरण गरेको प्रतिवेदन सार्वजनिक गरिएको थियो ।

सो समारोहमा ज्योतिष सम्राट पंडित पुरुषोत्तम दुबे, श्याम सर्राफ,लगायत समाज रूपान्तरणका लागि क्रियाशील व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -