Sunday, December 8, 2024
घरसमाचारसामुदायिकद्वारा समाजसेवी तथा सौन्दर्यकर्मी पार्वती शर्मासहित दुई दर्जन भन्दा बढी व्यक्ति सम्मानित

सामुदायिकद्वारा समाजसेवी तथा सौन्दर्यकर्मी पार्वती शर्मासहित दुई दर्जन भन्दा बढी व्यक्ति सम्मानित

चन्द्रसूर्य समाचारदाता/
वीरगंज, २० मंसिर/ सामुदायिक प्रहरी सेवा केन्द्रले एक समारोहबीच समासेवी तथा सौन्दर्यकर्मी पार्वती शर्मासहित झण्डै दुई दर्जन भन्दा बढी व्यक्तिहरूलाई सम्मान गरेको छ ।

स्थानीय महिलाहरूलाई आत्म निर्भर बनाउनकालागि सौन्दर्यकर्मी पार्वती शर्माले ब्यूटिशियन तालिमलगायतका माध्यमले योगदान दिएवापत सामुदायि सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुरले आयोजना गरेको नि:शुल्क आँखा तथा दन्त परीक्षण शिविरको उद्घाटन समारोहमा सो सम्मान गरिएको हो ।

सो समारोहमा पर्सा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादवले प्रमुख अतिथिको आसनबाट सामुदायिक प्रहरी सेवा केन्द्रले स्थापना कालदेखि समाजमा पुर्‍याउँदै आएको योगदानको प्रसंसा गर्दै भन्नु भयो, “सामुदायिक प्रहरी सेवा केन्द्र रहेका ठाउँहरूमा स्थानीयहरूले शान्ति सुरक्षाको अनुभूति गरेका छन्, सामुदायिक प्रहरीको उपस्थितिकै कारण विगतमा हुँदै आएको महिला हिंसा, घरेलु हिंसा, चोरी, लगायतका अनैतिक र विकृतिपूर्ण कृयाकलापमा निकै सुधार आएको बताउनु भयो ।


माननीय यादवले सामुदायिक सेवा प्रहरी सेवा केन्द्रको स्थापना जिल्लाको प्रत्येक गाउँमा हुनु पर्ने आवश्यकता औंल्याउनु भयो । उहाँले सामुदायिक प्रहरी सेवा केन्द्रको स्थापना भएपश्चात छोरी चेलीहरू निर्धक्क साथ बाहिर निस्किने बातावरण कायम हुन सकेको समेत दाबी गर्नु भयो ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले समाजमा लैंगिक हिंसाका कुरा गर्दा तुलनात्मक रुपमा महिलाहरूमाथि बढी हिंसाका घटना हुने गरेको देखिए पनि पुरुषहरू समेत हिंसाका शिकार हुने गरेका घटनाहरू देखिन थालेको बताउनु भयो । उहाँले जुनसुकै लिंग र वर्गमाथिको हिंसा कानुनी अपराध भएकोले त्यस्तो आपराधिक कार्यमा कोही पनि लाग्न नहुने बताउनु भयो । लैंगिक हिंसा वा समाज र कानुनले बर्जित गरेको क्रियाकलाप दण्डनीय अपराध भएकोले त्यस्तो अपराधीलाई कानुनी दायरामा ल्याउन पर्सा प्रहरी सदैव तयारी अवस्थामा रहेको समेत बताउनु भयो ।

आयोजकले जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुखको रुपमा हालै कार्यभार सम्हालेका प्रहरी उपरीक्षक बस्नेतलाई खादा एवं फूलमाला लगाएर स्वागत समेत गरेका थिए ।

सो समारोहमा प्रमुख अतिथि माननीय यादव एवं प्रहरी उपरीक्षक बस्नेतले सौन्दर्य कर्मी पार्वती शर्मा, सामुदायिक सेवा केन्द्रका स्व. हरिहर महतो कोइरी र हरिहर मेहताको परिवारका सदस्य, वडा प्रहरी कार्यालय श्रीपुरका प्र.ज. राकेश श्रेष्ठ, ओम प्रकाश यादव, प्र.ह. प्रेम बहादुर भण्डारी, चन्द्रवीर कुमार चौधरी, मुकेश प्रसाद यादव, जय मंगल सहनी, प्र.स.नि. मुनी शर्मा, तनुजा श्रेष्ठ, सामुदायिकका आजीवन सदस्यहरू, सफाई कर्मी, वीरगंजकी पहिलो महिला रिक्सा चालकलगायतलाई दोसल्ल एवं प्रमाणपत्रले सम्मानित गरेका थिए ।

सोही क्रममा नेपाल–भारत विश्व मैत्री संघ प्रदेश–२ का संयोजक एवं सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुरका संस्थापक वरिष्ठ सल्लाहकार ज्योतिष सम्राट पं. पुरुषोत्तम दुबेले पर्सामा हालै आउनु भएका प्रहरी प्रमुख एस.पी. बस्नेतलाई खादा ओढाएर सम्मान गर्दै सफल कार्यकालको शुभकामना दिनु भयो ।

श्रीपुर स्थित अल्पाईन सेकेण्ड्री स्कूलमा आयोजित नि:शुल्क आँखा एवं दाँत परीक्षण शिविरमा दुई सय भन्दा बढी जनाले दाँत एवं आँखाको परीक्षण गराएको सामुदायिक सेवा केन्द्रका दिलिप प्रधानले जानकारी गराउनु भयो । प्रधानले यस दैनिकलाई दिनु भएको जानकारी अनुसार वीरगंज सामुदायिक आँखा तथा दाँत अस्पतालसँगको सहकार्यमा भएको सो शिविरमा १५ जनामा मोतियाबिन्दूको समस्या देखिएको थियो ।

कार्यक्रममा नेपाल–भारत विश्व मैत्री संघ प्रदेश–२ का संयोजक एवं सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुरका संस्थापक वरिष्ठ सल्लाहकार ज्योतिष सम्राट पं. पुरुषोत्तम दुबे प्रदेशसभा सदस्य जन्नत अंसारी, जिल्ला समन्वय समिति पर्साका प्रमुख नेक महम्मद अंसारी, मधेशी अपाङ्ग महासंघका पर्सा जिल्ला अध्यक्ष संजय सर्राफ, नेपाल ज्योतिष परिषदका पर्सा जिल्ला अध्यक्ष अल्पाइन स्कुलका व्यवस्थापक विनोद उपाध्याय, वडा नं. ११ का वडा अध्यक्ष प्रद्युमन सेढाई, वीरगंज युवा समाजका अध्यक्ष कमल चौगाई, वीरगंज सामुदायिक आँखा तथा दाँत अस्पतालका महेश प्रसाद धामी, सामाजिक अभियन्ता प्रकाश थारुलगायतको सहभागिता रहेको थियो । कार्यक्रम राम सर्राफको अध्यक्षतामा सम्पन्न भएको थियो ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -