२०८३ जेष्ठ ७ गते, बिहीबार २०:०३

मानव बेचबिखनमा सङ्लग्न पक्राउ

काठमाडौं।मानव बेचबिखन कार्यमा सङ्लग्न एक व्यक्तिलाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले विसं २०७४ साउनमा एक महिलालाई विभिन्न प्रलोभनमा पारेर भारतको कोठीमा लगेर बेच्ने नुवाकोटको दुप्चेश्वर गाउँपालिका–६ घर भई काठमाडौँको तारकेश्वर बस्ने ३९ वर्षीय जान्द्रे तामाङ भन्ने रामबहादुर तामाङलाई शनिबार फुटुङबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक अनुरागकुमार द्धिवेदीले पीडितलाई खान, बस्न र तलबको प्रलोभन देखाएर भारतको नयाँ दिल्लीस्थित जिबी रोडको ५९ भन्ने कोठीमा पु¥याएर बिक्री गरको पीडितको जाहेरीका आधारमा तामाङलाई पक्राउ गरिएको जानकारी दिए ।

मानव बेचबिखनमा परेकी पीडित पछिल्लो समय बिरामी परेपछि चितवनकी एक महिलाको सहयोगमा विसं २०७७ चैतमा उद्धार गरेर काठमाडौँ ल्याइएको थियो । पीडितले विसं २०७८ वैशाखमा दिएको जाहेरीका आधारमा तामाङलाई पक्राउ गरिएको प्रवक्ता द्धिवेदीले बताए । पक्राउ परेका तामाङलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार अनुसन्धान तथा कारबाही हुने ब्यूरोले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM