काठमाडौं, ४ पुस /
नितम्ब सुन्दर बनाउन शल्यक्रिया (प्लास्टिक सर्जरी) गराउँदा मेक्सिकोकी एक इन्स्टाग्राम मोडलको मृत्यु भएको छ।
स्विमसुट डिजाइनरसमेत रहेकी क्यानो मोडल ३० वर्षीया जसलिन क्यानोले नितम्बको प्लास्टिक सर्जरी गराउने क्रममा मृत्यु भएको हो।

इन्स्टाग्राममा क्यानोका लगभग १३ मिलियन फलोअर्स छन् जो उनको सुन्दर फिगरका प्रशंसक हुन्।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यो महिनाको सुरुवातमा क्यानो आफ्नो क्यालिफोर्नियास्थित घरबाट कोलम्बियामा प्लास्टिक सर्जरी गराउन गएकी थिइन्।
‘बट लिफ्ट’ भनिने शल्यक्रियामार्फत क्यानोको पेटबाट बोसो निकालेर उनको नितम्बमा राखिँदै थियो। त्यस क्रममा उनको मृत्यु नै भएको हो।
अनुमानअनुसार यस्तो शल्यक्रियामा ३ हजार व्यक्तिमध्ये एक जनाको मृत्यु हुने गर्छ।
















