विवाह पञ्चमीको महिमा

0
293

– डा. उत्तम उपाध्याय न्यौपाने

मा विषाद प्रतिष्ठा त्यमसय : शाश्वती समा

वत्क्रोङ मिवुनादेक मवधीः काम मोहित ।

( हे चाण्डाल ब्याधा तैले काम मोहित यी पंक्षीका जोडीमा एउटालाई मारिस,यसबाट तैले कहिल्यै प्रतिष्ठा र सुख प्राप्त गर्न नसकेस् )

एकदिन महर्षि बाल्मिकी आफ्ना चेलाहरुसँग तमसा नदीमा नुहाएर घर फर्किदै थिए । यिनले बाटामा प्रेममा मग्न क्रोन्च (क¥याङकुरुङ) पंक्षी मध्ये भालेलाई व्याधाले मारेको देखे । त्यस बखत पोथीले रोएर चिच्याएको देखेर अचानक यस्तो श्लोक निस्कियो । यसै घटनाबाट प्रेरित भएर ऋषि बाल्मिकीबाट रामायणको रचना भएको थियो । युनानका आदीकवि दृष्टिबिहिन होमरले पनि ईडियस र ओडिसी नामका यस्तै काव्यको रचना गरेका थिए ।
रामायणका दुई प्रसङ्गहरु साह्रै रमाइलो मानिन्छ । पहिलो रामनवमी र दोस्रो विवाह पञ्चमी हो । यी दुवै अवसरलाई बडो धुमधामसँग मनाईन्छ ।
भगवान रामको जन्म चैत्र शुक्ल नवमीको दिन भएको हुनाले यस दिनलाई भगवान रामको नामबाट राम नवमी भनियो । राम नवमीको बयान आदीकवि भानुभक्तले यसरी गरेका थिए ।
जसले रामनवमी उपासी खुसीले, जाग्रन समेतै गरी ।
यो रामायण पाठ गरोसकी त सुनोस तनमन यसैका धरी ।।
जनकपुरका राजा जनकले एक दिन आफ्नी पुत्री सीताले बायाँ हातले शीवधनुष उचालेर दाहिने हातले धनु राखेको ठाउँमा लिपेको देखेका थिए । उक्त धनु यस्तो गाह्रो थियो कि यसलाई कसैले पनि उचाल्न सक्दैन थे । यसै बखत राजा जनकले प्रतिज्ञा गरेकी जसले यस धनुलाई उचाल्ने छ उसै सँग सीताको विवाह हुनेछ । विभिन्न देशबाट ठूलाठूला वीर तथा राजकुमारहरु शिवको धनुष उचाल्न आएका थिए । तर कसैले पनि धनु उचाल्न सकेनन् । तर अन्तयमा रामले धनुलाई तिन टुक्रा पारेर भाँचिदिएका थिए । त्यस धनुको एकटुक्रा स्वर्ग , दोेस्रो पाताल र तेस्रो जनकपुरबाट उत्तरतर्फ धनुषाधाममा पुगेको थियो ।

यस विवाह उत्सवमा सामेल हुन अयोध्याका राजा दशरथ र यिनका दुई बाँकी छोरा भरत र शत्रुधन विशाल जन्तीका साथ नाचगान गर्दै जनकपुर आएका थिए । त्यसै बखत रामका तीन भाई लक्ष्मण,भरत र शत्रुधनको पनि जनकपुरमा नै विवाह भएको थियो । यस कुललाई आदीकवि भानुभक्त आचार्यले यसरी लेखेका छन् ।
सीता पत्नी भइन रामपतिको, लक्ष्मणजीकी उर्मिला ।
पत्नी हुन श्रुतकीर्ति भरतकी, शत्रुधनकी माण्डवी ।।
विवाह पञ्चमी उत्सवको वर्णन रामायणमा विशेष रुपमा गरिएको पाईन्छ । विवाह पछि श्रीराम र सीतालाई हात्तीमा राखेर बाजागाजा तथा नृत्यका साथ परिक्रमा गराईन्छ । वरबधु तथा जन्तीहरुले नगर परिक्रमाका साथै देवदेवीका पूजाआजा पनि गरेका थिए ।
जानकी मन्दिर अगाडि बनाइएको विवाह मण्डपमा अहिले पनि अयोध्याबाट आएका जन्तीहरुले विवाह उत्सव मनाउने गर्दछन् । त्यस दिन विवाह गर्न कुनै साइत पर्खनु पर्दैन । विवाह पञ्चमीलाई विवाहको नीम्ती उत्तम साइत मानिन्छ । यस समयमा विवाह गर्नाले राम सीता जस्ता सन्तान प्राप्ति हुन्छन् भन्ने जन विश्वास रही आएको छ । भारत र नेपालका युवा जोडीहरुले यस दिनमा विवाह मण्डपको उपयोग गर्दै जनक नन्दनी सीता रामलाई साक्षी राखी प्रणयसुत्रमा बाधिन्छन् ।

विवाह पञ्चमी भारत र नेपाल बाहेक थाइल्याण्ड,कम्बोडिया, लाओस,भियतइनाम,श्रीलङका , मलेसिया, र बाली जस्ता देशहरुमा पनि मनाईन्छ ।
नेपालका महर्षि बाल्मिकीले २४,००० श्लोकको रामायणको रचना गरेर सम्पूर्ण संसारलाई आर्दश मार्गमा हिड्न प्रोत्साहित गर्नुका साथै विवाह पञ्चमीको महिनाबाट सम्पूर्ण विश्वलाई सुगन्धित पार्ने अलौकिक काम गरेका थिए । स्कन्द पुराण र माघ माहात्मेमा बाल्मिकीले त्रिवेणीमा स्नान गरी शिवलिङ्गको स्थापना गरेको कुरा उल्लेख गरिएको छ ।
जनकपुरमा विवाह पञ्चमीको दिन यस्तो गित गाईन्छ ।
राम लैला वरियात सव मंगल गाउ
राजा जनक भइ पुलकित , पव मंगल गाउ
तुलसीदासले पनि रामचरित्र मानसमा यस्तै राम सम्बन्धी कुरा लेखेका छन् ।

रामको विवाह मङ्सीर शुक्ल पक्ष पञ्चमीमा (पाँचौ दिन ) भएका हुनाले पञ्चमी भनिएको हो । जनक जननी सीताले रामको गलामा वैदिक विधि अनुसार माला लगाई दिएपछि विवाह सम्पन्न हुन्छ । त्यसपछि ऋषि विश्वामित्रले राम र सीतालाई काखमा राखेर आशीर्वाद दिन्छन् र राजा जनकलाई धन्यवाद दिए पछि विवाह सम्पन्न हुन्छ । स्वर्गबाट ब्रम्हा,विष्णु,शीव,पार्वती र ईन्द्रले फुल वृष्टी गरि बरबधुलाई आशीर्वाद दिन्छन् ।
रामायाणमा आदर्श नारी सीताको ठूलो महिमा गाइएको छ । आर्य संस्कृति र सभ्यतामा नारीलाई देवीको रुपमा मान्ने र पूजा गर्ने चलन पौराणिक काल देखिनै चल्दै आएको हो ।
अयोध्याका राजा दशरथका पुत्र श्रीराम र लक्ष्मण विश्वामित्रको पछि लागेर जनकपुर आएको देखे पछि जनक नन्दनी सीता हर्षले भाव विभोर भएको थिइन् । श्रीरामलाई देखेपछि यस्ता सुन्दर , कोमल युवराजको धनु कसरी तोड्लान भनी भगवान रामतर्फ संकेत गर्दै यसरी भनेकी थिइन् ।
कर्मठपृष्ठकठोरमिदं धनुर्मधुरमूर्तिरसौ रधुनन्दन ।
कथमधिज्य मनेन विधीपतामहह ताल पणस्तव दारुण ।।
। यो धनु कछुवाको पिठयु जस्तो कठोर , रधुनन्दन राम गुलाफ जस्तो नरम,त्यस्तो कोमल रामले यस्तो कठोर काम कसरी गर्नुहुन्छ । प्रेमरशका यस्ता शब्द सुने पछि विवाह मण्डपमा उपस्थित सबै भाव विभोर भएका थिए । धनुष तोडिरुपछि सारा जनकपुर उज्यालो भयो । जनकपुरका नरनारीहरु फूलमाला अबिर अक्षेता र बाजागाजाका साथ राम जानकीको पूजा गर्न यज्ञ मण्डपमा आएका थिए । जनकपुर बासीहरुले राम जानकीलाई कसरी बिदा गर्नेहोला भनी जनकपुरबाशीमा शोक पनि व्याप्त थियो । १९९० सालमा पण्डित कवि रेवतीरमण न्यौपानेले विवाह पञ्चमीको तीथि सम्बन्धमा यसरी लेख्नु भएको छ ।
हेमन्तै ऋतु मार्ग शुक्ल बहुतै उत्तमतिथी पञ्चमी ।
वीच्छाका रवि मीन लग्न गरियो, दिन्यै विवाह छम्छमी ।।
आफू पन्ध्र वर्ष दुलाहा दुलही केवल ६ सालकी सीता ।
घर आइकन १२ वर्ष बसियो बिर्सेर माता पिता ।।

निस्कर्ष :
बसन्त ऋतुको आगमन भन्दा पूर्व अनेक किसिमका पर्व, उत्सव र त्यौहार हुने गर्दछन् । यसै सन्दर्भमा रामनवमी र विवाह पञ्चमी उत्सव अनादीकाल देखि नै हुदै आएका छन् । यसले मानिसलाई सुख शान्ति र हर्षका साथ कसरी जीवन निर्वाह गर्न र आदर्श जीवनयापन गर्न सकिन्छ भन्ने सन्देश दिइएको हुन्छ ।

(डाक्टर उपाध्यायको फेसबुक वालबाट साभार)

Share and Enjoy !

0Shares
0 0 0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here