तपस्या गरूँ कि कठोर कानुन बनाउने ?

0

– विजया पन्त

कथा हुन् सत्य युगका हुन्…
ग्रन्थमा उल्लेख भएअनुसार सन्ध्या ब्रह्माकी मानस पुत्री थिइन् । कठोर तपस्याबाट नै अर्को जन्ममा अरुन्धती भएर जन्मेकी थिइन् । तपस्याको लागि चन्द्रभाग पर्वतको वृहल्लोहित नामक सरोबरको काखमा सद्गुरुको खोजमा घुमिरहेकी थिइन्, त्यसैबेला उनको अवस्था देखेर महर्षि वशिष्ट त्यहाँ प्रकट भई सन्ध्यासँग सोधे, “हे कल्याणी ! तिमी यस जंगलमा किन एक्लै भौतारिरहेकी छौ ? तिमी कसकी कन्या हौ ? के गर्न चाहन्छ्यौ ?” वशिष्टको प्रश्न सुनेर सन्ध्याले नम्र हुँदै भनिन्, “भगवान ! म तपस्या गर्नको लागि यस जंगलमा आएकी हूँ, तर मलाई कसरी तपस्या गर्ने केही थाहा छैन ।” सन्ध्याको प्रतिउत्तर सुनेपछि वशिष्टले सन्ध्याको चाहनालाई बुझेर भने, “तिमीले साँच्चै तपस्या गर्न चाहेकी हौ भने एक मात्र परम ज्योतिस्वरुप, धर्म, अर्थ, काम एवम् मोक्षका देवता भगवान विष्णुको आरधना गर्दै “ऊँ नमो वासुदेवाय ऊँ” जपेर मौन भई तपस्या गर” भन्दै तपस्या गर्ने विधि बताए । त्यसैअनुसार सन्ध्याले चार युगसम्म तपस्या गरिन् । उनको तपस्या देखी भगवान विष्णु सन्ध्याको अगाडि प्रकट भए । आफ्नो अगाडि विष्णुलाई देखेपछि सन्ध्या विष्णु भगवानको पाउमा परिन् । भगवान विष्णुले बडा दया देखाई सन्ध्यालाई वर माग्न भने । सन्ध्याले भक्तिभावका साथ भनिन् “हे भगवान मलाई साँच्चै वर दिनुहुन्छ भने यी कुरा दिनुहोस् । १. संसारमा आउने कुनै प्राणीको मनमा सकामको विकारको उदय नहोस्, २. मेरो पतिव्रत अखण्ड रहोस् र ३. मेरो भगवान स्वरुप पति बाहेक अरु कसैले मलाई सकाम दृष्टि नलगाओस् । जो पुरुषले मलाई सकाम दृष्टिले हेर्छ ऊ पुरुषत्वहीन वा नपुंसक बनोस् ।”

त्यस्तै स्वामी दयानन्दले हरेक छोरीलाई शिक्षा दिनु पर्ने तर छोराले र छोरीले शिक्षा पाउने ठाउँ फरक हुनु पर्ने कुरा उल्लेख गरेका छन् । आठौँ वर्षसम्म बाबुआमाले शिक्षा दिउन् र नवौँ वर्ष भएपछि पुरुषले पढ्ने विद्यालयमा पुरुषलाई र स्त्रीले पढ्ने विद्यालयमा स्त्रीलाई पठाइयोस् । स्त्रीको पाठशालामा पाँच वर्षको पुरुष पनि नजाओस् र पुरुषको पाठशालामा पाँच वर्षको स्त्री पनि नजाओस् । महिलालाई पढाउने महिला र पुरुषलाई पढाउने पुरुष होस् । कुनै पनि छोरी दुराचार, बलत्कार, शारीरिक शोषण, चरित्रहीनता नहोस् । यसबाट घर, समाज र देश नै मानव संस्कारमा रहन सकोस् ।
सन्ध्याले झैँ तपस्या गरूँ वा दयानन्दले जस्तै छोरीहरू २५ वर्ष नहुँदासम्म पुरुषको मुखै नदेख्ने स्थान खोजूँ ? नेपालको वर्तमान अवस्थाको छोरीमाथिको हिंसा र अत्याचारले यिनै प्रश्न गरिरको छ, रातदिन ।

माथिका दुबै कुरा एक्काइसौँ शताब्दीका होइनन् । यो त सत्य युगका कुरा जुन समयमा कानुन र नियमभन्दा पनि धर्म, संस्कार र भगवानलाई बढी मानिन्थ्यो । वर्तमान समय कली युग हो । २१ औँ शताब्दी । आज मानिस धर्म, संस्कारभन्दा पनि पाइला पाइला बनाएको नियमले मान्छेलाई चलाउँछ । धर्मप्रतिको विश्वास कम र भौतिकवाद बढी मानिएको छ । यस समयमा सन्ध्याको तपस्याले पागल र दयानन्दको शिक्षाले मान्छेलाई पशु बनाउँछ भन्ने ठान्दछन् तर छोरी माथिको हिंसा, अत्याचार र पशु व्यवहारले मानवता हराएको छ । जङ्गली पशुबाट बरु बचाउन सकिएला तर मान्छेबाट नै छोरीहरू सुरक्षित राख्न सकिने भएन । यो मेरो मात्र होइन प्रत्यक आमाको चिन्ता हो ।

निर्मला पन्त, सम्झना कामी, अमुता नेपाली, पूजा ……. आदिको अवस्था हेर्दा कहाँ र कोसँग सुरक्षित छ छोरी ? घर, गोठ, मेलापातो, विद्यालय, कक्षाकोठा, मन्दिर, वनजङ्गल कतै ? बुबा, दाइ, काका, मामा, गुरु ? सम्झदा पनि रिङ्गटा लाग्ने । सुन्नेलाई सामान्य लाग्ला भोग्नेलाई यो भन्दा बढी पीडा अर्को हुन सक्दैन । अपराध पनि यो भन्दा अर्को जघन्य अपराध हुन सक्दैन । अस्मिता लुटेपछि अपराध लुकाउन मार्ने त छदै छ, बाँचे पनि यो सामाजमा सधैँ त्रास र हिनताको मानसिकता बाँच्नु पर्छ ।

यस्ता अपराध दिन प्रतिदिन बढ्दैछन् । सामान्य व्यक्तिबाट भएका अपराधमा अपराधी लुक्न पाएको छैन । तर जुन अपराध, हिंसा हाइप्रोफाइल स्तरका व्यक्तिबाट भएको छ उनीहरूलाई कानुनको कठघरामा ल्याउन सकेका छैनन् । निर्मलाको आजसम्म हत्यारा पत्ता लगाउन नसक्नुले के देखाउँछ भने हत्यारा पत्ता लगाउन उच्च तहका पदाधिकारी देखि सरकार नै चाहदैन । निर्मला हत्या पनि पञ्चायत कालको (२०३८) नमिता, सुनिता काण्ड जस्तो छ । बरु हत्यारा र न्याय खोज्ने मारिन सक्छन् तर अपराधी पत्ता लाग्ने छैन ।

हुन त विश्वको डाटा र तथ्याङ्कमा विश्लेषण गर्ने उच्च ओहादाका व्यक्तिहरू अरु देशको तुलनामा कम हिंसा (बलत्कारका घटना) छ भनेर छाती फुलाउन सहज होला तर कुन उमेर समूहका छोरीमा यस्ता अपराध भइरहेको छ भनेर मूल्यांकन छ कि नहीं ? तीन, चार, पाँच वर्षका अबोध नानी, ११, १२ वर्षका छोरीहरूमा यस्ता घटना घटिरहेका छन् । यस अवस्थामा विश्वको तथ्याङ्क हेरेर सन्तुष्टी लिन मिल्ला र ?

यस्ता अपराध किन बढीरहेको छ ? जबसम्म यसको कारण खोजिँदैन तबसम्म यस्ता अपराध कानुनले मात्र पनि समस्या समाधान हुँदैन मृत्यु दण्ड नै किन नहोस् । मान्छे जब विवेक शून्य हुन्छ, तब त अपराधिक कार्यमा अग्रसर हुन्छ । त्यसैले वात्स्यायनले भनेका छन्, “एकान्तमा त आफ्नै आमा, दिदी, छोरीसँग पनि सँगै नबस । यो बलियो इन्द्रियका समूहले विद्धानलाई पनि खिच्छ ।” त्यस्तै “कामाञ्चो नैव पश्यति ।” कामान्चले केही देख्दैन । “कामातुराणां न भयं न लज्जा ।”

आजको स्वतन्त्रता र युट्युवमा आएका खराब भिडियो जसले मानव मस्तिष्कमा नसा बनेर खराब आचरणको विकास गराइरहेको छ । बालक, व्यस्क, बृद्ध केही नभनेर उन्माद भई हिंसात्मक प्रवृत्ति देखाइरहेको छ । खुलेआम हुने मादक पदार्थको बिक्री वितरण यो पनि केही रुपमा यस्ता अपराध घटाउने कारक तत्व हुन् । कहाँ खाने ? कति बेला खाने यस बारेमा देशमा खासै कानुन कार्यान्वयन छैन ।

कस्ता कानुनले छोरी सुरक्षित होलान् ? यो नेपालको बहसको विषय नै बनेको छ । हुन त कार्यान्वयनमा ल्याए यही कानुन काफी छ भन्ने कानुनविद र बौद्धिक जमात पनि नभएको होइन । तर यो कानुनले काम गरेन वा संवेगले अन्धो बनायो ? लाग्न त लाग्छ सन्ध्याले जस्तै तपस्या गरेर सकाम दृष्टि लगाउनेलाई नपुङ्सक गराउने शक्ति प्राप्त गर्ने तर यो एक्काइसौँ शताब्दी हो, न त सत्य युगमा जस्तो तपस्या गरेर तथास्तु भन्ने आशिर्वादले हरेक चाहना पुरा हुन सक्छ न त छोरीलाई आफू बलियो नहुँदासम्म थुनेर राख्न सकिन्छ ? कानुन नै कठोर र कार्यान्वयन हुने चाहिन्छ तर अबको कानुन आँखामा पट्टी बाँधेर हाइप्रोफाइलका अपराध नदेख्ने र सानाका अपराध मात्र देख्ने अन्धो कानुन होइन आँखाको पट्टी खोलिएको कानुन चहिएको छ जसको बिना भेदभावपूर्ण कार्यान्वयन हुने । सन्ध्याको जस्तो तपस्याले नपुङ्सक बनाउन नसकेपनि बैज्ञानिक युगमा नपुङ्सक बनाउने भ्याक्सिन बनाई सकामदृष्टिले हेर्ने पुरुषलाई भ्याक्सिन दिनु पार्यो जसले गर्दा जीवन भर साना नानी त के महिलाको मुख पनि हेर्ने हिम्मत नगरोस् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्