चन्द्रसूर्य समाचारदाता/
वीरगंज, २७ कार्तिक/ भारतसँग सीमा जोडिएका बाराको सीमावर्ती क्षेत्रबाट दैनिक ठूलो परिमाणमा पटकाजन्य विष्फोटक पदार्थ भित्रिइरहेका समाचारहरु सार्वजनिक हुन थालेका छन् ।
नेपाल र सशस्त्र प्रहरीको व्यापक तैनाथगीका बाबजुद पनि तस्करहरुले सीमावर्ती क्षेत्रमा खटिएका सुरक्षाकर्मीहरुको आँखा छल्दै तिहार र छठ पर्वमा आतिशवाजीकालागि पटकाजन्य विष्फोटक पदार्थहरु भित्र्याउने र नेपाल तथा सशस्त्र प्रहरीले समाएर नष्ट गर्ने क्रम पनि सँगसँगै जारी नै देखिएका छन् ।
यसैबीच बाराको प्रसौनीमा रहेको इलाका प्रहरी कार्यालयले बुधबार बरामद गरेको पटकाहरु बिहीबार कार्यालय परिसरमा नष्ट गरेको छ ।
इलाका प्रहरी कार्यालय प्रसौनी गण्डकका प्रहरी निरीक्षक ओमप्रकाश यादवको कमाण्डमा खटिएका ५ जना प्रहरी टोलीले गस्तीको क्रममा बाराको फैटा गाउँपालिका वडा नं. १ त्रिवेणी सडक खण्डमा पुग्दा भारततर्फबाट साइकलमा नेपाल भित्र्याउँदै गरेका देवी बुलेट पटका, नागराज पटका, भुइँचम्पा, छुरछुरी लगायतसहितको साइकल छोडेर तस्कर फरार भएका थिए ।
ती पटकाजन्य विष्फोटक सामग्री बरामद गरी स्थानीय जन प्रतिनिधि र संचारकर्मीको रोहबरमा खाल्डो खनी नष्ट गरेका छन् ।
नष्ट गरिएका ती पटकाको बजार मूल्य एक लाख बराबर रहेको प्रहरी निरीक्षक ओम यादवको दाबी रहेको छ ।