-ईश्वरा भट्टराई
कथित कोरोना महामारीको संत्रासकै बीचबाट शुरु भएको नेपालीहरूको महान पर्व बडा दशैं सकिएपछि यतिखेर हामी तिहार अर्थात लक्ष्मी पूजा मनाउने तयारीमा छौं ।
शुभ दीपावली अर्थात् तिहारमा भव्यतापूर्वक लक्ष्मी पुजा हुन्छ । प्रत्येक हिन्दु धर्मावलम्वीहरुले आ–आफ्ना घर सफा सुग्घर राखी श्रृंगार गरी लक्ष्मीलाई आफनो घरमा बास गर्न डाकी रहेका छन् । लक्ष्मीले दरिद्रताबाट सबैलाई मुक्त गर्न सक्छिन । लक्ष्मीलाई धनसम्पतिको दाता भनिन्छ । लक्ष्मी खुशी भए सबै सुखी हुन सक्छन । लक्ष्मीलाई तँत्रोक्त विधि अनुशार पूजा गरेमा मात्र सफल दायक हुन्छ । सही रुपमा शुद्ध रुपबाट लक्ष्मीको साधना गर्नाले सबैसंग संधै लक्ष्मी प्रसन्न हुन्छिन् । लक्ष्मी धनीको मात्र होइन, गरिबहरुको पनि हो । ताँत्रोक्त विधिले लक्ष्मीको पुजा गर्ने हो भने लक्ष्मी खुशी भएर धन सम्पति नदिने कुरै हुदैन ।

दृढ निश्चय र पूर्ण विश्वासका साथ लक्ष्मी प्राप्तिका लागि उद्यम गर्नु पर्दछ । विना उद्यम लक्ष्मी प्राप्त हुदैन । यस संसारको गति र माया नै धनसम्पतिको बलबुतामा चलेको छ । धन बिना बल बुद्धि, ज्ञानको उपयोग हुन सक्दैन ।
हिन्दु समाजमा असल गृहणीलाई लक्ष्मी भनिन्छ । छोरी जन्मदा लक्ष्मीको जन्म भएको मानिन्छ । विष्णुको पूजा लक्ष्मीका साथ गरिन्छ । लक्ष्मीको साधना गर्नु भगवानको साधन गर्नु सरहको फलप्राप्त हुन्छ । लक्ष्मी अप्रसन्न भइन भने आर्थिक समस्या, संकट उत्पन्न हुन्छ । धनसम्पति नहुनेलाई गरिब भनिन्छ । लक्ष्मी अप्रसन्न भइन भन धनीको घरमा पनि अशान्ति, अभाव र दरिद्र बास गर्छ । लक्ष्मीको कृपा भएमा सबै दु:ख हरण हुन्छन ।
कलियुगलाई चरम विज्ञान र प्रविधिको युग मानिन्छ । कलियुगलाई विपत्ति र विनासको युग पनि मानिन्छ । विश्वमा शान्ति कम अशान्ति बढी हुने, धर्म कम पाल बढी हुने युग हो कलियुग । कलियुगमा मानिसहरुको आचार, विचार, ज्ञानमा संकट आउँछ । मानिसको जीवन विशेष प्रकारको बन्धनले जकडिएको हुन्छ । धन सम्पति सीमित व्यक्तिहरुसंग मात्र हुन्छ । धनी र गरिब वीचको खाडल फराकिलो हुदै गएको छ । अधिकांश विश्व जनसंख्या धनको अभावमा यस भौतिक संसारमा कष्टकर जीवन बिताइ रहेका छन् ।
कलियुगको प्रभावले नै होला सनातनी हिन्दु संस्कृतिले लक्ष्मी मानेर पूजा र सम्मान गर्दै आएकी गृहिणी रुपी नारी अर्थात गृहलक्ष्मीलाई हिजोआज अनेक प्रताडना दिने, धन सम्पत्ति (दाइजो)को लागि जिउँदो जलाउने, स–साना कुरामा विवाद तेर्साएर नारीलाई दोष दिदैं र धनकी लक्ष्मीलाई पूजा गर्ने कुसंस्कार स्थापित गरिंदै छ । यस कुरितिलाई हाम्रो वरिपरि रहेका विभिन्न गैर सरकारी संघ संस्था, नारी अधिकारका नाममा खुलेका विदेशी संघ संगठन पनि मूख्य योजनाकार रहेको देखिन्छ । घरकी लक्ष्मीलाई तिरस्कार गरेर धनकी लक्ष्मीलाई कहिल्यै पनि खुशी पार्न सकिंदैन भन्ने चेत स्थापित हुनु जरुरी छ ।
लक्ष्मीतन्त्रमा यस्तो कुनै विद्यान छैन जसमा दरिद्रताको सम्पूर्ण रुपमा नाश होस । सुख, दु:ख मानिसले व्यहोर्नै पर्दछ । यो एउटा चक्र हो । धन सम्पति आवश्यकता अनुसार हुनु पर्दछ । बढी धन संचित गर्नु अपराध मानिन्छ । धनको सदुपयोग हुनु पर्दछ । चण्डालको धन, कंगालले खान्छ भनिएकै छ । लोभ गरेर संचित गरेको धन पापको घर हो । धन बाँडे सुख बढद्छ भनिएको छ । मै खाउ मै लाउ, सुख सयल मैले मात्र गरु भन्ने प्रबृतिका थोरै मानिसहरुमा सन्तोष, सुख र शान्ति पाएका देखिदैन ।
विद्या दारिद्रय संहत्री यक्षिणी पाप खण्डिनी विद्यामा भनिएको छ ।
‘या श्रृत्वा याति रंकोपी भुपालत्व न संशय: ।
विद्याधरत्वमाप्नोति कि पुनर्बहु भाषितै ।।
यदिर्लक्षेश्वरत्व चतदभक्तो देवी सर्वदा ।
वर्षेणापी स्मरन्यन्त्र भवेदवहुधनो नर : ।
नो संस्पृशति दारिद्रय ताक्ष्य भोगकुल यथा ।
यस तन्त्र विद्याले दरिद्रतालाई हटाउछ । धनदा रतिप्रियायक्षिणी तन्त्र साधनाले लक्षमीको जति स्वरुप छन, ती सबै स्वरुपलाई आव्हान तथा विशेष पूजा गरिन्छ । यस महान तान्त्रोक्त साधनामा प्राण प्रतिष्ठा आवश्यक हुन्छ । प्राण प्रतिष्ठा प्रक्रियाद्वारा साधकले पूजा सम्पन्न गर्नाले लक्ष्मी तत्काल आएर फल दिन्छिन । लक्ष्मी साधनका लागि बुधबार शुभ मुर्हुत हुन्छ । लक्ष्मीको ३६ बटा स्परुप मान्छि । साधना प्रारम्भ गर्नु पूर्वको रात्रीमा १०८ पटक निम्न शिव मन्त्रको जप गर्नु पर्दछ ।
ऊँ नमो जाय त्रिनेत्राय पिंगलाय महात्मने ।
वामाय विश्वरुपाय स्वप्नाधिपतये नम: ।।
स्वप्ने कथय में तथ्यं सर्व कार्येष्वशेषत : ।
क्रिया सिद्धि विद्यास्यामी त्वत्प्रसादान्महेश्वर : ।।
लक्ष्मीको पूजा प्रारम्भ गर्नु अघि कुवेरको पूजा गर्नु पर्दछ । भगवान शिवले भन्नु भएको छ ( मेरी प्रिय धनदा रतिप्रियायक्षिणीका पूजन एवं जप गर्नाले उस्को दरिद्रता कपुर अग्निमा जलेर भष्म भएझैं भष्म हुनेछ । धनदा रतिप्रिया दक्षिणी साधनाको न अंगन्यास छ न करन्यास, न छन्द नै । षोडसी त्रिपुरा सुन्दरी साक्षात भगवती लक्ष्मीको मुर्तिमन्त स्वरुप हुनुहुन्छ । षोडशीत्रिपुरा सुन्दरी मन्त्रमा कुल सोह्र अक्षर हुन्छ । एक अदभुत आश्चर्यजनक एव दुर्लभ स्त्रोत नित्य पाठ गर्नाले आर्थिक बाधा सबै हटेर पूर्ण सुख सौभाग्य एव समृद्ध प्राप्त हुन्छ ।
कल्याण वृष्टि भिरिवामृत्य पूरिताभी
लक्ष्मी स्वयवरण मंगदीपकाभि:
सैवाभिरम्व तव पादसरोजमुले
नाकारि किं मन भक्तिमतां जनानाभ् ।।
लक्ष्मी तन्त्रको साधना सर्वोत्तम साधना हो । हामीले हाम्रो बैभव, सुसम्पन्नता र श्रेष्ठता चाहने हो भने हामीले हाम्रो आचार विचार शुद्ध राखेर भगवति लक्ष्मीको पूजा ध्यान गर्नु पर्दछ हामी अवश्य धनी हुन्छौं । आगामी २०७१ सालको लक्ष्मी पुजामायथा शक्य भक्तिभावले महालक्ष्मीको साधनामा सहभागी बनौं ( दीपावली २०७१ को उपलक्ष्यमा धनदेश्वरी देवी महालक्ष्मीले हामी सम्पूर्ण सच्चा साधकको घर परिवारमा भरीपूर्ण गरिदिउन मंगलमय शुभकामना ।
क्राइम चेक साप्ताहिकमा २०७७ कार्तिक २७ गते विहीबार प्रकाशित

















