Friday, April 19, 2024
घरविचारसार्वजनिक चासोराजा ज्ञानेन्द्रले जारी गरे कड़ा बक्तव्य, के भने ? हेर्नुस पूरा पाठ

राजा ज्ञानेन्द्रले जारी गरे कड़ा बक्तव्य, के भने ? हेर्नुस पूरा पाठ

 

श्री ५ महाराजाधिराज सरकारबाट बक्सेकाे विजया दशमी२०७७ काेसन्देश !!

प्यारा नेपाली दिदी बहिनी तथा दाजु भाइहरू,

विश्व मानव जगतले असहजता र कठिनाईको सामना गरिरहेको स्थितिमा नेपालीहरुको महान चाड विजया दशमीको आगमन भएको छ । हर्षोल्लासका साथ विजय दशमी मनाउन सकिने अवस्था नरहे पनि हामी देश भित्र र देश बाहिर बसेका समस्त नेपालीहरूमा सुख, सुस्वास्थ्य, शान्ति र सम्वृद्धिको लागि शुभकामना व्यत्त गर्दछौं ।

प्राकृतिक विपत्ति मानव वशको कुरा नभएको हामी सबैले बुझेका छौं तर विपत्तिसंग भिडदा नागरिक जीवन सहज र सुरक्षित बनाउने व्यवस्थापकीय कौशल जिम्मेवार पक्षबाट प्रस्तुत हुन नसक्दा आम जनताको दैनिक जीवन अत्यन्त कष्टकर बन्दै गएको
छ । जनतालाई बचाउन सके मात्र राज्य बच्ने र राज्य रहे मात्र राजनीति बांच्ने आत्माबोध सबैमा हुनु पर्दछ । संकटको घडीमा अविभावकको क्षमता र हैसियत स्पष्ट हुन्छ भन्ने आम मान्यताका आधारमा हेर्दा सबै नेपाली जनता अविभावक विहीन टुहुरा बनेको पीडाबोध यति बेला हुदैछ ।

हाम्रो आहार बिहार, आचार बिचार, विधि व्यवहार, शासन प्रशासन एवं पद्धति प्रणाली हाम्रै प्रकृति र संस्कृति अनुरुप हुनु पर्दछ । अनि मात्रै हामी स्वस्थ, सुखी, शान्त, सुरक्षित र सम्मृद्ध हुन सक्दछौं । आपसी समन्वय, सदभाव र सहकार्यलाई छाडेर जब हामी व्यत्तिवाद, समूहवाद तर्फ उन्मुख हुन्छौं तब स्थिर, सुदृढ़ र सन्तोष्जनक राष्ट्रीय परिणाम प्राप्त हुन सक्दैन ।

विदेशमा गएर रोजगारीमा लागेकाहरु संकटमा छन् भने देश भित्र उनीहरूको स्रम,शिप र सामर्थ्यको सदुपयोग गर्ने कुनै बन्दोबस्त भइरहेको छैन ।त्यसैले देश, समाज र परिवारको मोह ममताले आएकाहरु पनि फेरि कामका लागि विदेशतिरै लर्को लागेको मार्मिक अवस्था देखिन्छ ।राहत, रोज़गार र रोगको उपचार खोज्दै भौतारिएका जन समूहलाई भरपर्दो आड़ आधारको आवश्यकता महशुश गराउन सकिएको छैन ।त्यसैगरि दैनिक जीविकाको अत्यावश्यक वस्तुको मूल्य बृद्धि , अभाव र गुणस्तरीयतामा ह्रास जस्ता बिषयले हाम्रो जन जीवन पिरोलिएको छ । अनि समाजमा अनेक अपराधिक गतिबिधि र पिशाच प्रवृत्ति बढ़दो छ । यसले मानसिक तनावको परिस्थिति पनि खड़ा गरेको छ ।त्यसैले आज सबैले बढदो आशुरी र भष्माशुरी प्रवृत्तिबाट उन्मुक्ति चाहिरहेका छन् ।

नेपाललाई चिनौं, नेपाललाई बुझौं, नेपाली भएर बाँचौं अनि नेपाल र नेपालीको निम्ति सोचौं, नेपालकै हितका खातिर र नेपाली शैलि अंगालेर नेपाल उज्यालो बाटोतिर लैजाऔं सबैसंग सधैं हामीले गर्दै आएको यहि आग्रह हो ।श्री नवदूर्गा भवानीले त्यही दिव्य शक्ति,राष्ट्रभत्ति र आत्मा प्रवृति तर्फ लाग्न हामी सबैलाई प्रेरणा प्रदान गरुन् ।

जय नेपाल ।

अर्को के पढ्ने...

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -